भैंसीकाे मासुले छिमेकी पाेस्न पनि उद्यत ‘बुद्धकाे देश’ !

भैंसीकाे मासुले छिमेकी पाेस्न पनि उद्यत ‘बुद्धकाे देश’ !


‘मुर्रा….! इन्ड्यान मुर्रा भुइँसीका तिग्रे-गर्धने-जुरे छाउराहेरू !… तेस्सिमा साँढेहरले याे बुद्द भग्वान जन्मेकाे पइत्र र अहिम्साकाे देशकाे बाटाे  हुँदै अब ‘मासु’-मा उल्था भई चाइना पुगेर खाने भए खैनी !… एत्राकाे वाइँवाइँ न आइँआइँ ! देशका छेराैटीले मर्न नसकेका पाेचा  जन्ता पढ्केहरका  समविर्दि लेराउने एउडा आर्काे  माेष्ठ काम गरिबक्सिनु भ’छन्  हामेरका  ‘बा – आइलप इउ’ मउसुपले एसबाजी सपरिवाल चाइना भर्मनमा ग’र ‘… ….. जस्ता के-के दुर्बाेध गनगन गर्दै आज निकै सातापछि कमरेड हरिराम पुरेत बाजे मकहाँ आइरथे ।

उनले पनि टाउकामा सँधै हुने चुच्चे ढाका टाेपी-साेपी आफलेर  काग-स्टाइलकाे ‘बाल काटेकाे’ कपाल पाल्न थालेछन् । र, अरूहरू पनि के-के निकै नै परिवर्तन  देखेंं मैले !…. उनी उही खुदी-+मर्चा  ‘पेट्रा’ हाे कि काेदाे+मर्चा  ‘पेट्रा’ठस्स गन्हाउने सास ह्वारह्वार फ्याँकेर ख्वाक्-ख्वाक् खाेक्तै र स्याँक्-स्याक् उँभाैली सिँगान पनि तान्दैथे घरिघरि !….

मैले हाँस्तै साेधें- ‘हन.. तपाईंकाे पहिरन र कपालहरूमा ठूलै चेन्ज आ’छ नि कमरेड बाजे ? कि बीचमा अमेरिकातिर घुम्न जानु भएर यतिका दिनपछि रूपै फेरेर आउनु भएकाे हाे हँ ?’

उनले झनक्क तातेकाे छटा देखाउँदै खस्राे स्वरमा जिब्राे लटपट्याउँदै भने- ‘रानीतिककाे पाेल्टिकल खेल्ने पर्साेनालिटिक भ’काे मान्छेले रूप र वाेली-वच्चन  च्यान्जिङ गर्न नजानेर हुन्छ त ? कुरा गर्छाै सानाे केटाेले टपरामा पेसाप फेरे जइसाे । हन हामेरका  ‘बा’-ले तिस्राे खेप पर्दानमन्त्री खाइरँदा समेत ह्वाँकाे इजाेत-पेस्टिच राख्न ह्वाँकाे जइसेइ जन्ता मख्ख पार्ने बाेली-वाक्के हाँक्न सिक्नु भाछैन तपइँहरले ? हन तपइँहेरू निर्दले पञ्चेत वेवस्ताका अःतःकै खलक हाेऊ कि क्या हाे हन !…..’

मैले के भनुँ के भनेर साेच्तैथें, उनैले उनै थपे- ‘भइगाे ल, याे टपिक याँहीँ डरप गरम् । मलाई ‘माथि’-कै निर्लयबड आउँदाे अगामी  ‘मिसिन अएट्टी फाेहाेर’-मा हाम्राे गाम-टाेलबड क्यान्द्रीए साम्सत बनाउने सिउरली भइसक्या छ । उइले पाहाडकाे हामेरकाे गाममा  म गामफर्ककाे राजभत्त उपपर्दान पञ्च भ’र काङरेज-कमिनिसका टुप्पीबड ध्वाँ छुटाउन सक्रिअ भइराखेका ट्याममा  राजदर्बारका राज्जारानीकाे निर्लय बज्र झैं बजरठिङ्गा हुन्थ्याे, ऐले  हामेरका ‘बा’-का हुकुम नभई  कार्रेकर्तादेखुन् साम्सत-उम्सत हुन पा’ त थुक्क । एउडाे पात हल्याेस् के ए देशाँ ! याे कुराे नबिस्री बुजिराख । नत्र रभी लाम्मिछानेमा टाँसलेसन हाेउला । था छ कि छैन ?’

उनले केकाे सुरमा हाे कुन्नि, थुक उछिट्याउँदै यसाे पनि भने र म पनि उनलाई गलहत्याएर लगार्ने मनस्थितिमा पुगिसकेकाे थिएँ । तर, किन हाे, उनी एकखेप खत्खत हाँसे र  नरम स्वरमा भने – ‘मेन चइँ टपिकमा डिस्केस गरउँ हओ पाँडेजी, किन गर्मागर्मी फाइट नार्नु !…  अन्त ताे क्याति अरे ? ताे गउँथलीकाे बाऊ क्या । आज बेहानकाे  एक्का मर्निङमै लाएछन् क्यार काेदाेप्याट्रा  हाे कि खुदीप्याट्रा र  छिमेकिका घर-घरमा गफेडा हाँकेर ‘डिस्टर्बिङ’ गर्दै हिन्ने करममा मेरामा आइरथे । ती मान्छे किन बाँच्या हुन्,  धर्तीका बाेज? प्वाक्क हुनु नि बरु ।’….

मैले हलुका हाँसाे हाँस्तै साेधें – ‘किन र कमरेड पुरेतजी ?’

उनले दाहिने हातका ओैंला आफूतिर घाेप्ट्याएर त्यसका नङमा कट्कटिएका मैला देब्रे हातकाे चाेर ओैंलाकाे नङले काेतर्दै भने – ‘किन र अब ! ती मान्छेकाे टाउकाभित्र गिदीमा  ‘किडनी’  नै छैन कि गिदीका दाेडै किडनी काेदाेप्याट्राले डेमेच पाे भकाे हाे कि, बुद्दिकाे इन्टेलेक्चाेलता पिटिस्सै देख्तिन म !’

उनका लैबरे कुरा सुनेर म एक रील फुल भाेल्यूम हाँसें र  साेधें – ‘किन ? के भने उनले ?’

उनले ख्वाक्क खाेके अनि आँगनका बीचमा पर्ने गरी एक रुपैयाँकाे ठेनी जस्ताे बाक्लाे-गाेलाे ढिक्काे थुकेपछि भने- ‘हुन ता ती पनि हामेरकै  ‘बा’-काे कान्छी अम्लाकाे इस्यारामा चलिराख्या ऐलेकाे ‘लाेतन्त्र’-काे ‘गनतन्त्रे’ सर्खार हाँकिरएकाे  हामेरकै पाटीका ‘एक भाेटे कम्रेट’ हुन् र तेसकार्ण उनका कुराकाे तात्पर्जे मैले अन्करेक् मान्न मिल्दैनथ्थाे- करेक् नै मान्नुपर्ने मेराे ‘डिस्पिलिन मैनट्यान’ अन्सार  मैले करेक् नै मानें ।’….

उनी भन्दै गए- ‘के कुराे भन्लाऊ भने, ती क्या त – अस्ति यइ दुई हज्जार एकासी साल मुङसिर सत्र गते सउँबार  पर्तिपदा तिथिका दिनकाे साइतमा हामेरका ‘बा मउसुप’ अस्सी र सात जानाकाे पल्टनै हाँकिबक्सिनु भई चाइना स्वारी भइक्सेका ट्याममा चाइनाका ठूलाठाला मान्छेले भुइँसी नेपालमै मारेर  मासु बनाएर  रेगुलर उपलब्द गराइदिने डिमान हामेरका बा समच्छे बिन्ती बिसाछन् क्यार र बाबाट हुन्छ भन्ने हुकुम बक्सेसि एर्रिम्यानमा स्ही-छाप भएकाे खबर भन्दै हिन्या रान् ती गउँथलीका बाऊ बूढा । र,  उनका अन्सार – भूतपूर्वक पर्दानमन्त्री पुस्पकम्बल दाल पर्चन्नकाे ‘पिछली, पिछल्लाे, पिछल्ला’…धत्तेरिका !  कस्ताे हउ, प्राष्टमन्त्री आर्जु राणाकाे भाकामा मात्तै भन्न  आकाे याे जिब्रालाई ! मेराे मतबल, पर्चन्नकाे पछिल्लाे…हाे…. पछिल्लाे कार्जेकालमा ह्वाँ इण्डे भर्मनमा गाका ट्याममा इन्ड्यान गाेरमेनले दान दिया एत्रा-एत्रा भुसतिग्रे, अल्गा-अल्गा जुरा भका, एएत्रा ह्याकुला र भूस-दानाले थलथल मुर्रा जातका राँगा पनि अब तेतै सुइँकिने सम्भाउना छ पनि भन्थे । देशका बूढा, दुब्लार टाट भका, थारा, राेगले हल्लन् भका भूइँसीका मासुमा ती इण्ड्यान दातब्बेका  मुर्राका मासु  मिस्किङ गरेर चाइना एस्पाेट गर्न पादेखुन् ‘नाफै मूला त कुक्कुर नखा’  पनि भन्थे गउँथलिया बाऊले । आखिर इण्ड्यान मुर्रा हाल हाम्रा पर्तेपच्छेका माउबादीका अदच्छेले न ल्याका हुन, ह्वाँले दानमा ल्याका राँगालाई पाल्न हामेरलाई लागिरछ खाँचाे ! इण्डेले खाेइ  ‘हामले आपलाई दान दियाहुआ मुर्रा  कता गया हाए  ?’ भनेर साेद्ने हाेइन ।  साेदिहालाे भने ‘आपले चाइन्जाे ती राँगा पर्चन्नलाई  दान दिया है, हामकाे दिया हाय थाेडै, पर्चन्नलाई  ही साेदिए’ भन्दा नि माम्लाे फिनिस्सिजान्छ क्यारे । एउडा छिमेकी मित्राष्ट इण्डेबड एउडा पर्दानमन्त्रीले भुइँसीका राँगा लेराउने र आर्काे पर्दानमन्त्रीले आर्काे छिमेकी मित्राष्ट चाइनालाई भुइँसीकाे मासु बेत्ने वा सप्लाइङ गर्ने कुराकाे रानीतिक ‘सिकेन्स’ भनेकाे ख्याल ‘टेसिलाे’ हुन्छ त ?  रानीतिककाे पाेल्टिसमा एसरी पाे ‘कन्जुगल’  मिल्छ त पनि भन्थे गउँथलीका बाऊ  ।’

मैले अझ ठूलाे हाब्डाे बाएर हाँस्तै भने- ‘हाे त ।’

उनले अझ उत्साही भएर अझ घाेर्ले र उत्ताउलाे स्वरमा भने- “अन्तखेरी ती तेसरी नेपालका र इण्डेका  भुइँसीकाे काँचाे रेडिमेट मासु खान पाउँदा चिन्या जन्ता पनि हेप्पी हुने भएसि इण्डे चाइनाकाे नाक्निके जाेरीपारी  सनबन्दकाे खाल्डाे ठ्याप्प पुरिने ‘कन्जुगल’ मिल्छ- मिल्दैन त ? तपइँ नै भन त ! तेसमा पनि इण्ड्यान पर्दानमन्त्री नरेन्द माेधीकै गाेठबड दान-दातब्बेमा आकाे राँगाका समेत मिस्कट ! लु हामेरका मउसुपले याे चइँ कर्म त झन कति बिउटाे गरिसेछ कति ! एस चइँ दिष्टिले हामेरका गउँथलीका बाऊले आज बेहानै काेदाेप्याट्राले रन्किएर हाँकेका गफ मलाई च्वाँक लागाे हउ पाँडेजी, सारै मुन पराे गाँठे  । र, तपइँलाई छ्यास्स भनिराखम् भन्’र एता पस्या ।…..याे  बिस्साे रानीतिककाे पाेल्टिसमै स्यानाे उपलब्दिकाे ‘टपिक’ हाे त ? हेर्लाऊ न, अब याे टपिकलाई अम्रिकान, अफ्रिकान, सुइजारल्यान, लण्डन, साउदी, दुबही  जइसा इन्टन्यासिनल घरानाका कन्टीहरले ‘क्या बात- ठ्याङ्कु , भेरी गुट !’ नभनी धर पाउँछन् ?….र, अैले म हिनें पनि । म अति बिज्जी पर्सानालिटिक व्यातित्ताे , धन्न एतिबेर बसेर कुराे गर्न भ्याइदें पाे यार पाँडेजी !”

उनका लाेइताँङे कुरा सुन्न मलाई मज्जा लागिरहेकाे थियाे । र, उनी अझै केहीबेर फुइँकी हाँकिरहुन् भन्ने लागेकाले मैले उनलाई त्यसरी नै थमाैति गरें, जसरी प्रचण्ड प्रधानमन्त्री भएका बेला उनले भ्रष्टाचारी सावित भएका मुख्य सचिव शंकर बैरागीकाे खुत्तिइसकेकाे जागिर थमाैती गराएका थिए ।अर्थात्, हरिराम पैसामा सजिलै नचाउन सकिने मनुवा हुन् भन्ने मलाई भलिभाँती थाहा थियाे र खल्तीबाट रू.सयकाे नाेट निकालेर देखाउँदै – “लु भन्नाेस् त ..” मात्र भनेकाे थिएँ, उनले  ‘कुराे’  बुझिहालेछन् र  खिस्स पहेंला दाँत देखाउँदै मलाई उछिनेर भने – “अँ-अँ, तपइँलाई मुनपर्ने र  इन्पाेरट्यान कुराे त  ‘अहिम्सा र विस्साे शान्तिकाे अर्गदुद बुद्द भग्वान’ भन्ने सुद्दाेदन राजाकाे छाेराेकाे कुराे न हाे । तर, हत्ते-हिम्सा नगर्नु भनेर अर्ति- उपदेेश दिने उनकाे मूर्ति त लुम्भिनीमा न  छ । देशकाे शासकधानीमा रिल्यास गर्न पाकाहरले मान्छे त जिउँदै बेत्न इजिलै पाइराख्या छन् भने राँगा-भुइसीलाई  मारेर तिनका मासु चाेक्ट्या’र खडकुँडाेकाे खडकुँडाे बेचे पनि के था पाउँछ तेति टाढाकाे लुम्भिनीमा भ’काे मूर्ति र चिहानहरले,  हाेइन्त ?….. र, अब म याँ आउँदाहुँदी इ एस्सरी नै सइकडा दिने गर्दै जानु क्या ! म  ‘मिसिन अएट्टी-फाेहाेर’-मा रिकाेमेन भ’र साम्सत भएसि एतातिर  भासण बास्न आका बेला अरू-अन्ने कुरा भासनमै भएभरकाे गुड्डी हाँकेर खुसी पारिहाल्छु नि – हामेरका ‘बा’-ले जइसइ । ल, अब चइँ इन्द्र्या बाऊ चन्द्रेले राेके पनि मरेकाट्टे राेकिँदिन क्या !”…..

उनी लम्फ्याङ-लम्फ्याङ गइरहेतिर निर्वाक र  ट्वाल्ल परेर हेर्नुबाहेक विचरा  म,   ‘हिजाेआजकाे जनता’, अरू के नै गर्न पाे सक्थें र ?!…..