गीताजयन्तीमा ‘साधक सञ्जीवनी’ र ‘जीवन सञ्जीवनी’को नेपाली अनुवाद पुस्तक विमोचन

गीताजयन्तीमा ‘साधक सञ्जीवनी’ र ‘जीवन सञ्जीवनी’को नेपाली अनुवाद पुस्तक विमोचन


स्वामी श्री रामसुखदासजी महाराजको सत्संगमा रहनुभएका वृन्दावननिवासी स्वामी श्री नवलरामजी महाराजको सान्निध्य एवं महामण्डलेश्वर स्वामी श्री आत्मानन्द गिरिजी महाराजको प्रमुख आतिथ्य एवम् पशुपतिनाथका मूल भट्ट गणेश रावल भट्ट र डा. श्री गोविन्द टण्डनको विशिष्ट आतिथ्यमा श्री गीताप्रेस पुस्तक प्रचारप्रसार केन्द्र नेपालको तत्वावधानमा गीताप्रेस पुस्तक बिक्रीकेन्द्र काठमाडौं र गीता परिवार नेपालको व्यवस्थापनमा श्री गीताजयन्ती कार्यक्रम गीता माताको आराधना, विभिन्न स्कुलका विद्यार्थीहरू र गीता साधकहरूको सहभागितामा गीताको १८ अध्यायको पाठ एवं गीताप्रेसबाट नेपाली भाषामा प्रकाशित भएको स्वामी श्री रामसुखदासजी महाराजको श्रीमद्भगवद्गीताको प्रसिद्ध ग्रन्थ ‘साधक सञ्जीवनी’ एवं श्रीमद्भागवतको जीवनोपयोगी ग्रन्थ ‘जीवन सञ्जीवनी’ नेपाली अनुवादको विमोचन गरी भव्य रुपमा मनाइएको छ ।

गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष जयकिसन सारडाको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष सारडाले उपस्थित व्यक्ति–व्यक्तित्वको स्वागत गर्दै गीताप्रेस नेपालको संक्षिप्त जानकारी एवं नेपालमा शुरु भएको पुराणहरूको अनुवादको बारेमा जानकारी गराउनुभएको थियो । वहाँले स्वागतको क्रममा गीताप्रेस गोरखपुरबाट प्रकाशित सत्साहित्यलाई नेपाली भाषामा अनुवाद गराई प्रचारप्रसार र बिक्री वितरण गर्न कार्य भइरहेको र गीताप्रेस नेपालको स्थापनापछि हालसम्म ५५ भन्दा बढी पुस्तकहरू नेपाली भाषामा अनुवादित भएको र १८ पुराणलाई नेपाली भाषामा प्रकाशित गराउने लक्ष्यसहित आजको दिनसम्म श्रीमद्भागवतमहापुराण, श्रीशिवमहापुरण, श्री विष्णुपुराण, श्रीमद्देवीभागवतमहापुराण प्रकाशित भइसकेको र मत्स्यमहापुराण, लिङ्गपुराण, शुकसुधा सागरको नेपाली संस्करण आउने जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा श्री पुशपतिनाथका मूलभट्ट गणेश रावलले आशीर्वाद प्रदान गर्नुभयो । यसैगरी मानव सेवा आश्रमका संस्थापक डा. गोविन्द टण्डनले मन्तव्य दिनुभएको थियो । कार्यक्रममा स्वामी श्री रामसुखदासजी महाराजको सत्संगमा रहनुभएका वृन्दावननिवासी स्वामी श्री नवलरामजी महाराज र प्रमुख अतिथि परमहंस परिव्राजकाचार्य श्रोत्रियब्रह्मनिष्ठ निरञ्जन पीठाधीश्वर अनन्तश्रीविभूषित महामण्डलेश्वर स्वामी श्री आत्मानन्द गिरिजी महाराजले शुभकामना एवं मार्गदर्शन दिनुभएको थियो ।

कार्यक्रममा उपस्थितजनलाई आयोजक समिति एवं गीताप्रेस पुस्तक प्रचार प्रसारकेन्द्र नेपालको तर्फबाट कार्यक्रम संयोजक अनिल केडियाले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको संचालन डा. श्री वासुदेवकृष्ण शास्त्रीले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न धर्म-संस्कृतिसँग सम्बन्धित धार्मिक एवं सामाजिक संघ-संस्था, संस्कृतविद्याश्रम, गुरुकुल, वाल्मीकी संस्कृत विद्यापिठ, विद्याश्रम, विभिन्न समाजका पदाधिकारी, लब्धप्रतिष्ठित महानुभावहरू, विद्वतवर्ग, गुरु, विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।