✍ मौन आवाज
चिसो छिँडीमा बसेर अलाप्नु आगो जस्ता वाक्यहरू
निःशन्देह क्रान्तिकारी हुनु हो !
रातो बाहेक केही नदेख्नु अन्धोपन बिल्कुल होइन
बरु हो विद्रोहको प्रतीक !
भान्सामा भात नपाक्नु
बरु पाक्नु, पाक्दै जानु लम्बेतान मनोगत आत्मलाप
त्यो पागलपन होइन
मार्क्सवादी चिन्तन हो !
बच्चाहरू भुइँमा नाङ्गै
स्वास्नी बिना तन्ना आधा सुत्नु र निद्रामा बर्बराउनु
क्रान्तिकारीहरूको महान् उपलब्धि हो १
नियममा बस्नु
नियममा उठ्नु
र नियम कै कुरा गर्नु कुनै नराम्रो कुरा होइन !
भोक लाग्दा भोक नलागेको अभिनय गर्नु
दुख्दा नदुखेको बहाना गर्नु
त्यो अलिकति नराम्रो कुरा हो !
थाहा हुनु
तर, थाहा नपाए जस्तो गर्नु
त्यो अलिकति नराम्रो कुरा हो !
पर्दाले आँखा च्यातेर बाहिर भित्र चियाउनु
कोठा चिन्तनको दुर्गन्धले गन्हाउनु
ओसले विचार जम्नु
घाम देखानपर्नु
तर उज्यालोको कल्पना गर्नु
त्यो पनि क्रान्तिकारिता हो !
चुईङ्गमको बट्टामा नुन राख्नु
चाउचाउको कार्टुन मार्बल ओछ्याउनु
खबरकागजहरूले भित्ता टाल्नु
र, पुँजीवादको विरोध गर्नु
त्यो पनि क्रान्तिकारिता हो !
गाउँ छाडेर शहर पस्नु
कलेज पढ्नु
बा आमा बिर्सनु
साथीभाइ
मेला पर्व
जीवन संस्कृति भुल्दै भुल्दै जानु
र विश्व भुमण्डलीकरणको कुरा गर्नु
त्यो पनि क्रान्तिकारिता हो !
माटो निधारमा लगाएर नारा लगाउनु
तर खेतबारी बाँझै राखेर
राष्ट्रवादको कुरा गर्नु
त्यो अलिकति नराम्रो कुरा हो !
मुठ्ठी उठाउनु
लाल सलाम चिच्याउनु
कमरेड कमरेड खेल्नु
सबै राम्रै कुरा हो ।
तर
क्रान्तिकारी साथीहरू !
आगोमा जलेर आगो भएँ भन्नू
पानीमा डुबेर खरानी भएँ भन्नु
ज्यादै नराम्रो कुरा हो !
प्रतिक्रिया