कुलतविरूद्धका अभियन्ता ओलीको ‘दिव्य दृष्टि’ लोकार्पण

कुलतविरूद्धका अभियन्ता ओलीको ‘दिव्य दृष्टि’ लोकार्पण


कुलतविरूद्धका अभियन्ता इन्द्रप्रसाद ओलीले लागुपदार्थ दुर्व्यसन न्यूनीकरणसम्बन्धमा तयार पारेको चेतनामुलक पुस्तक ‘दिव्य दृष्टि’को भद्रपुर (झापा)मा लोकार्पण गरिएको छ । चेतना नेपालको आयोजना तथा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा सदरमुकाममा पुस्तक लोकार्पण गरिएको हो ।

चेतना नेपालका सचिव दाताराम सिटौलाको अध्यक्षमा सम्पन्न सो कार्यक्रममा पुस्तकको समीक्षा गर्दै सहप्राध्यापक तारा विविधले कृतिभित्र कहिलेदेखि र कहाँबाट नेपाली समाजमा लागुऔषधको प्रकोप प्रवेश गऱ्यो भनेर खोज्ने प्रयास गरिएको जनाए । उनले नेपालमा लागुऔषध ल्याउने र नेपाली युवा युवतीहरूलाई विनाशकारी कुलतले नष्टभ्रष्ट तुल्याउने अवस्था बढ्दो रहेको संकेत नै अहिलेको समाजको चित्रसित कथानक बनेको प्रष्ट पारे ।

समीक्षाका क्रममा विविधले दुव्र्यसन रोकथाम गर्ने आवश्यकता दुर्व्यसनी भएका पीडित घरपरिवारले गरिरहेको भएपनि समाज र राष्ट्रको नेतृत्व गर्ने अगुवाहरूको प्राथमिकतामा नपरेसम्म तीव्र गतिमा दुर्व्यसन वृद्धि जारी रहेको तथ्यप्रति पुस्तकमार्फत चिन्ता प्रकट गरिएको जानकारी दिए ।

पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराइले सहजीकरण गरेको कार्यक्रममा प्रमुख अतिथि राज्यमन्त्री राजवंशीले लागुऔषध प्रयोगका कारण सभ्य समाजले विनाशतिरको गन्तव्य तय गरिरहेको भन्दै युुवापिँढीलाई भोलिको नेपाल ’जिउँदा लासहरूको देश’ बनाउने अन्धकारमा जान दिनु नहुने धारणा राखे ।

कल्पना भट्टराईले स्वागत गरेको सो कार्यक्रममा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले लागु पदार्थको जीवनघाती कुलतमा फसेका छोराछोरीका अभिभावकहरूका पीडा र मानसिक यातनाका भारीहरू देखेर कुलतमुक्त छोराछोरीका अभिभावकहरू पनि त्यस्तै हुने हो कि भनेर समाजमा संत्रस्त रहेको बताउँदै त्यस्तो वातावरण अन्त्य गर्न सवैको हातेमालो आवश्यक रहेको धारणा राखेका थिए ।

सोही कार्यक्रममा लेखक, साहित्यकार तथा झापाका अग्रज पत्रकार नकुल काजीलाई अभिनन्दन समेत गरिएको थियो ।

इन्द्रप्रसाद ओलीले यसअघि पनि लागूऔषधसम्बन्धी विभिन्न पुस्तक प्रकाशित गरेका छन् । नेपाल प्रहरीमा लामो समय सेवारत रही लागूऔषध दुर्व्यसन नियन्त्रणको क्षेत्रमा २०५६ सालदेखि उनी क्रियाशील छन् । प्रहरी नायव निरीक्षक पदबाट उनले २०६२ सालमा स्वेच्छिक अवकास पाएका थिए । त्यसयता झापामा रहेर लागूऔषध दुर्व्यसनका विरूद्ध विभिन्न चेतनामुलक कार्यक्रम गरिरहेका ओली धार्मिक जागरण अभियानमा समेत क्रियाशील छन् ।