(ब्यङ्ग्य कविता)
✍ अर्जुन राज पन्त
केटाकेटी हेर्न जहाँ नि ला’छन्
प्रवासकाले मात्र भनाइ खा’छन् !
माया गर्नेले जँहा’नि गर्छ
ठाँउले के नै फरक पर्छ ?
सन्तति भेट्न विदेश जाँदा
कोशेलीपात साथमा लाँदा
तेल भिसा भन्दै हेपाइ खा’छन्
विवश मान्छे उपहास भा’छन्
रहर नि होला नि सन्तती देख्न
आफ्नै काखमा राखेर सेक्न
गए रे लौ सेवै दिन
तिम्रो टाउकोदुखाइ किन ?
तेल भिसा भन्लान नडराउनु आउन
पर्दैन कसैलाई यहाँ तेल लाउन
लाइभ बसेर लाउँदा तेल
मान्छे बरु गए जेल
लाउनै परे बरु तेल
लगाइदिन्छन् बसुन्जेल
समुन्द्री तटको घाममा बस्नी
तेल हैन लोसन घस्नी
डाक्टरले तेल नलाइ भन्छ
तेल भिसा भन्ने खिस्स बन्छ !
तेल भिसा भन्दै फिल्म नि बने
तिम्लाई नि कस्तो होला भने
फिल्म क्षेत्रका कर्तुत नि देख
त्यसमा पनि फिल्म लेख
फिल्म देखाउन भिसा माग्यो
छिऱ्यो विदेश उतै भाग्यो
त्यस्ता भिसालाई के चाँहि भन्नी
बेचेउ कति कसले गन्नी
भिसै माग्ने नियति हाम्रो
अर्काको तेल आफ्नो राम्रो
सँगै बसेर पुगे खान
रहर थियो र विदेश जान ?
जान नसके तलाउ धमिलो
खान नसके अङ्गुर अमिलो !
आफ्नो भिसा भएपछि फेल
अर्काको भिसालाई भन्दिनि तेल !
- मुलपानी, बाग्लुङ
प्रतिक्रिया