म अरु थुप्रै कुरामा आफूलाई सर्वश्रेष्ठ ठान्दै आफ्नो तारिफ गर्न चुक्दिनँ । सर्वज्ञानी म नै हुँ, मलाई नै हिजो, आज अनि भोलिको कुरा थाहा छ । त्यतिमात्र कहाँ हो र, देश बनाउनेदेखि बिगार्नेसम्मका सबै मेरै सल्लाह लिने गर्छन् भन्दै चियापसलमा साथीहरूलाई आफ्नै बढाइ देखाउनु मेरो सौख बनिसकेको छ ।
✍ उमेश रेग्मी
तारिफ भन्ने चिज कसलाई पो मन पर्दैन र ? खैर, यस विषयमा यदि कसैले फुर्तिका साथ हात उठाउन सक्छ भने त्यो म नै हो, किनकि म आफैंलाई जति मनपर्छ, अरू कसैलाई कदापि मजति मन पर्दैन । सोच्नुस् त, मेरो बाहिरी रूपरङदेखि मेरो ज्ञानको गहिराइसम्म, मेरो प्रतिभाको छाया पर्न नपाएका थुप्रै मानिसहरूले जीवनमा के नपाए जस्तो अनुभूत गरिरहेका छन् । यो संसारलाई कृतज्ञ हुन सिकाउनु मेरो धर्म हो, किनभने म छु ।
मेरो अनुहार ! हे भगवान्, त्यो अनुपम ! ऐनाले हरेक बिहान मलाई देखेर ‘धन्य, म कसरी यस्तो सुन्दरता झल्काउन सक्षम भएँ ?’ भनेर आफैंलाई सोध्छ । मेरो हिँडाइको शैली नै यस्तो छ कि, सडकले पनि मेरो पाइला सहर्ष स्वीकार्छ । मान्छेहरूले मलाई देख्दा ‘हावा पनि यसलाई वरिपरि नाच्न आइपुग्छ’ भन्छन् । साँच्चै भन्नुपर्दा, मेरो व्यक्तित्व यस्तो छ कि, फूलहरू मलाई देखेर इर्ष्या गर्ने गर्छन् ।
तर, मेरो बाहिरी रूपमात्र पर्याप्त हुँदैन, हैन र ? भित्रतिरको गहिराइमा पनि मसँग ज्ञानको यति असीम भण्डार छ कि गूगलले मलाई सल्लाह माग्नुपर्ने बेला आउँछ । यतिमात्र हैन, म अरु थुप्रै कुरामा आफूलाई सर्वश्रेष्ठ ठान्दै आफ्नो तारिफ गर्न चुक्दिनँ । सर्वज्ञानी म नै हुँ, मलाई नै हिजो, आज अनि भोलिको कुरा थाहा छ । त्यतिमात्र कहाँ हो र, देश बनाउनेदेखि बिगार्नेसम्मका सबै मेरै सल्लाह लिने गर्छन् भन्दै चियापसलमा साथीहरूलाई आफ्नै बढाइ देखाउनु मेरो सौख बनिसकेको छ । मेरो देखासिकी गर्दै मेरा साथीहरू पनि आफ्नो तारिफ गर्न खप्पिस भइसकेका छन् । त्यसैले होला कोहि नासाले उडाएको रकेटको डिजाइन आफ्नो भन्दै हल्ला गर्छन् अनि कोहि त्यहि रकेटमा चढेर अन्तरिक्ष जान आफूलाई निम्तो आएको बढाइ गर्न पछि पर्दैनन् ।
मलाई त लाग्छ, मैले बोल्दा हावा अलि बिस्तारै चल्छ, ताकि मेरो शब्दहरूको गहिराइमा सुनुवाइ नबिग्रियोस् । मलाई चिन्नेहरूले मेरो बुद्धिमत्तालाई ‘चन्द्रमाको प्रकाश जस्तो शीतल र सूर्यको ताप जस्तो प्रखर’ भन्छन् । मेरो सरलता ! अहो, त्यसको त कुनै सिमा छैन । यो सबै हुँदा पनि म आफूलाई सधैं भुइँमा टेकिरहेको महसूस गराउँछु । (ठीक छ, त्यो भुइँ कहिलेकाहीं कार्पेटले ढाकिएको हुन सक्छ, तर कुरा भावनाको हो ।)
अनि मेरो व्यवहारको के कुरा गरौँ ? मसँग यति ठूलो हृदय छ कि, एउटा गजबको ठट्टा सुनेर म आफू पनि हाँस्छु र अरूलाई पनि हँसाउँछु । मेरो उदारता, धैर्य र साहसका कथा त किम्बदन्ती बन्ने बेला आएको छ । म आफ्नो मात्र तारिफ गर्दिनँ, अरुको पनि त्यत्तिकै गर्ने गर्छु । म अरुको तारिफ गर्न कन्जुस्याइँ गर्दिनँ, दिल खोलेर गर्ने गर्छु । नुन चर्को तरकारीलाई पनि कस्तो मिठो भन्दै श्रीमतीजीको हातको तारिफ गर्नु दैनिकी भएको मेरो तारिफ गर्ने कला आफूलाई गजबको लाग्छ । म उनको चाउरी परेको अनुहारलाई पुर्णिमाको चन्द्रमा जस्तो भनिदिन्छु अनि बेलुन झैँ फुकेको शरीरलाई बारुली कम्मरको संज्ञा दिन्छु । उनको हिँडाइमा मयुरको नाच देख्छु अनि उनको बोलाइमा कोइलीको सुमधुर सुसेली सुन्छु । यस्तो तारिफ गर्ने कला मलाई मात्र आउँछ । यस्तो खुबीको तारिफ म आफै गर्दै बस्छु ।
नेता र मन्त्रीसँग आफ्नो निकट सम्बन्ध भएको बढाइ गर्दै हिँड्ने मेरो स्वभावलाई साथीहरूले सही थाप्दै सिंहदरबारअगाडि आफ्नो सालिक बन्ने कुरो चलेको चर्चा गर्छन् । यसरी सालिक बन्दा आफू महान् हुन पुग्ने कुरो नकार्न सक्दिनँ म । आफू महान् बन्न पुग्दा आफूसँग सम्बन्धित सबै महान् कहलिने रहेछन् । जसको पुष्टि उनीहरूसँको कुराले प्रष्ट हुन्छ ।
अर्कातिर केहि साथीहरू सिंहदरबारभित्रको गुटबन्दीको डिजाइन आफ्नै भएको कुरा गर्छन् । केहि भने त्यो गुटबन्दी फुटाउन आफ्नो अमुल्य योगदान भएको भन्दै सत्रहजार पटक आफ्नो बढाइमा ब्यवधान हाल्नेलाई सिल्टिम्बुर खुवाइदिएको कुरा चियागफमा फलाक्ने गर्छन् ।
अन्त्यमा, मैले बुझेको कुरा के हो भने, म केवल प्रशंसालायक छु । मेरोलागि यो लेख्नुपर्दा पनि म आफूले नै प्रेरित भएको छु । मलाई थाहा छ, तपाईं पाठकज्यू यो पढेर निकै प्रभावित हुनुभएको छ । आखिर मजस्तो मान्छेको प्रशंसा नगरेर अरू कसको तरिफ गर्नु त ?
प्रतिक्रिया