✍ राजेश ढुंगाना
हुट्टिट्याउँले
सगर थामेको दिन मात्र
मेरो
सूर्य उदाउने छ
अस्ताउने होइन
उदाएर उदाएको-उदाएै
चिरञ्जीवी सूर्य मात्र
मेरो सपना हो
हो,
फिस्टाले
हुण्डरी ल्याएको
भोलिपल्ट बिहान मात्र
मेरो समय हो
तिमी मलाई
मेरो सपना नसम्झाउ
तिमी मलाई
मेरो विपना नझस्काउ
मलाई थाहा छ
म
अब तिमीलाई
विगत झैं
वर्तमानको
सपना भत्काउने
छुट दिने छैन कदाचित
अब
छ्याङ्ग
आकाश भएको छु नीलो
जहाँबाट सबथोक देखिन्छ
अब म
फराक धरती भएको छु
जहाँबाट अनन्त देखिन्छ
जन्मनु अघि नै
चिना लेखिइसकेको छ
मेरो आउने समयको
हो,
अब ऊ पक्कै जन्मन्छ ।
प्रतिक्रिया