- द्रोण अधिकारी, झापा
कला छ, गला छ तर जीवन चलाउन निकै मुस्किल परिस्थितिको सामना गर्नुपर्ने बाध्यता पहाड भएर सधैं खडा छ । पूर्वी दक्षिणी झापाको कचनकवलका गन्धवहरू पूर्वका गाउँ, बस्ती, शहरदेखि भारतका नेपालीभाषी समुदाय भएका ठाउँसम्म जीवन चलाउन कला र गला भजाइरहेका भेटिन्छन् । तर, पनि उनीहरूको जीवनशैली समयानुकुल परिवर्तन हुन सकिरहेको छैन ।
सारङ्गी बजाएर गाउँ बस्ती तथा शहर–बजारमा घुम्नु र त्यहीँबाट संकलित पैसा र चामलले जीवनको गति बढाउन पुस्तौंदेखिको पेशा बनाएका कचनकवलका गन्धर्व परिवार नेपाली लोकधुन भने पुस्तौंदेखि बचाइरहेका छन् ।
केही समयअगाडि सार्वजनिक भएको पूर्णबहादुरको सारङ्गी चलचित्रले आफ्नो कथा उठाएको सुनेर चलचित्रहलमा आएर हेर्दा भ्रममात्र राखिएको अनुभव गरेको गन्धर्वहरू सुनाउँछन् ।
नेपालकै होचो स्थानको पहिचान बनाएको कचनकवल वडा नम्वर २ मा रहेका ४७ घर–परिवारका गन्धर्व पुरूषहरूले सारङ्गी बोकेर लोकधुन सुनाउँदै आयआर्जनको बाटोमार्फत नेपाली मौलिक पहिचान समेत बचाइरहेका हुन् । पुस्तौंदेखि उनीहरू सारंगी रेट्दै गाउँटोल घुमेर जीविका पनि चलाइरहेका छन् । उनीहरूले बजाएको सारंगीको सुरिलो धुन सुनेर धेरैले मनोरन्जन लिन्छन् भने कतिले थोरबहुत सहयोग पनि गर्छन्, तर पनि संगीत सर्जकसमेत मानिने गन्धर्वहरूको अवस्था भने आर्थिक रूपमा दयनीय नै देखिन्छ ।
जातीय पेशाको रुपमा रहेको सारंगी बजाउने कामलाई अझै पनि धेरैले निरन्तरता दिइरहेका छन् । सारङ्गी बजाउँदै भेटिएका कृष्ण गन्धर्वले भने- ‘हाम्रो आर्थिक, सामाजिक र शैक्षिक अवस्था अहिले पनि निकै कमजोर छ । सरकारी पक्षबाट खासै उत्थानका काम भएका छैनन् । यसैकारण पनि जीविकोपार्जनका लागि सारङ्गी बजाउन विभिन्न ठाउँ घुम्नैपर्छ ।’
नेपाल र भारतका विभिन्न गाउँ शहरसम्म पुगेर उनीहरू सारंगीको मिठो धुन सुनाउँछन् । गन्धर्व गाउँबाट तीन पुस्तादेखि गन्धर्वहरू सारंगी रेट्दै हिँडिरहेको बताउँछन् । तर, आर्थिक रूपमा हजुरबुबा पुस्तामा जस्तो अवस्था थियो नाती पुस्तामा आइपुग्दा पनि अवस्था उस्तै नै रहेको उनीहरूको भनाइ छ ।
‘समय फरियो होला तर, हाम्रो अवस्था जस्ताको त्यस्तै छ’, कृष्णले भने- ‘पहिला हाम्रा बावु, बाजेको भन्दा केही फरकजस्तो देखिए पनि आर्थिक हैंसियत र सामाजिक हालत पनि उस्तै छ ।’
गन्धर्वहरू नेपालबाहिर जहाँ-जहाँ नेपालीहरूको बसोवास छ, त्यहाँ पुग्ने गरेका छन् । उनीहरूका अनुसार नेपालतिर भन्दा भारततिर सारङ्गीको धुनसित गीत बढी मन पराउने मानिस बढी छन् । त्यसकारण कमाइ पनि राम्रो हुने हुँदा धेरैजसो भारततिर गीत गाउन र सारङ्गी बजाउन जाने व्यक्ति बढ्न थालेका छन् । पछिल्लो समय नेपालका विभिन्न शहरहरूमा मेला र महोत्सवमा सारङ्गीले महत्व पाउन थालेपछि त्यस्तो समयमा नेपालमा पनि कमाइ राम्रै हुने अनुभव उनीहरूसित छ ।
तराइमा बसिरहेको भए पनि पहाडे दलित समुदायमा पर्ने गन्धर्व समुदायलाई ‘गाइने’ उपनामले चिन्ने गरिन्छ । तर, गाइने शब्द उनीहरूलाई मन पर्दैन । होच्याउनेहरूले गाइने भनेको उनीहरूको बुझाइ छ । कम जनसंख्या भए पनि सरकारले लोपोन्मुख जातिमा नराखेकोमा दुःख छ । गन्धर्वहरूको उद्गम थलो पश्चिमनेपालको कास्कीको बाटुलेचौर मानिन्छ, तर यो समुदाय पूर्वको झापादेखि सुदुरपश्चिमसम्म छरिएर बसेको उनीहरू बताउँछन् ।
झापामा वि सं २०२७ देखि जंगल फाँडेर गन्धर्वहरूले स्थायी बसोबास सुरू गरेको उनीहरूको भनाइ छ । झापा अहिले जस्तो थिएन । सबै जंगलले ढाकेको थियो । औलोको माहामारी थियो । त्यो बेला झोडा फाँडेर बसोवास गर्नेहरू बहादुर ठानिन्थे । त्यही कठिन समयसित लड्दै गन्धर्व जातिले पूर्वी दक्षिणी झापामा बस्न थालेको स्थानीय बासिन्दा बताउँछन् ।
यिनीहरूको पेशा भनेकै सारंगी बजाउनु हो । सारंगीबाटै धेरैको गुजारा चलेको छ । उनीहरू खेती किसानी र मजदुरी पनि गर्छन् । आफ्नो जमीन कम भएकै कारण अर्काको अधिया जमीन खेनजोत गरेर जीवनयापनमा सहजता खोज्न थालेका छन् ।
गन्धर्व समुदायको उत्थान गर्ने उद्देश्य राखेर २०६७ सालमा पूर्वान्चल गन्धर्व सांस्कृतिक उत्थान समाज नामक संस्था स्थापना पनि गरिएको छ । यो समुदायको आफ्नै भाषा भए पनि लोप हुने अवस्थामा पुगेको छ । ‘पछिल्लो पुस्ताले भाषा, संस्कृति सवै भुलिसक्न लागेकोमा गन्धर्व समाजमा चिन्ता छ । उनीहरूको आफ्नै मौलिक लिपि भने छैन । अस्तित्व रक्षाका लागि गन्धर्व सांस्कृतिक उत्थान समाजको परिकल्पना गरिएको उनीहरूको भनाइ छ ।
प्रतिक्रिया