जब कुनै एक जोडी प्रेममा परेर विवाह गर्छन्, आपसमा बडो प्रेम गर्छन्, एकले अर्कोलाई खुबै प्रशंसा गर्छन्, एकअर्का बिना बाँच्नै नसक्ने कसमसमेत खान्छन्, तर त्यही जोडी भविष्यमा गएर सम्बन्ध विच्छेद गर्ने घटनामा पुगेपछि एकले अर्कालाई हेर्नसमेत रुचाउँदैनन् । बाटोमा जम्काभेट भएपनि आँखा तर्केर हिँड्छन् । आखिर त्यस्तो किन हुन्छ ?
✍ सिएन गौतम
वास्तवमा सौन्दर्यशास्त्र एक दार्शनिक अध्ययनको शाखा हो । जसले सौन्दर्य, कला र संगीत जस्ता रचनात्मक अनुभवहरूको स्वभाव र मूल्यबारे छलफल गर्छ । यसले मानिसहरूको सौन्दर्यको भावना, कला र सौन्दर्यको मान्यता र तिनको प्रभावको बारेमा अध्ययन गर्दछ । तर अहिले सौन्दर्यशास्त्र र बजारीकरणको धारणा फरक छ । यसमा मानिस सुन्दर हुन चाहन्छ । अर्कोभन्दा राम्रो हुन चाहन्छ । अरुबाट आफ्नो ध्यान खिच्न चाहन्छ । त्यसको लागि ऊ विभिन्न किसिमका उपायहरू अपनाउन तयार हुन्छ र बजारमा उपलब्ध भएसम्मका सौन्दर्य सामग्री प्रयोग गर्न खोज्दछ । अझ यो जिज्ञासा किशोर तथा युवाहरूमाझ असाध्यै धेर हुने गर्दछ । तर मैले बुझेअनुसार सौन्दर्यशास्त्रभित्र पनि भयवाद लुकेको हुन्छ भन्ने हो ।
के हो भयवाद ?
नेपाली दार्शनिक देश सुब्बाले प्रतिपादन गरेको एउटा नयाँ दर्शनको रूपमा भयवाद अघि बढेको छ । भयवाद भय र ‘वाद’ शब्दको संयोजनबाट बनेको छ । भय भन्नाले सामान्यतया डरत्रास र वाद भन्नाले विचार भन्ने बुझिन्छ । भय जीवन र जगतमा व्यप्त छ । यसको उद्गम बिन्दु चेतना हो । चेतनाले जीवनलाई देख्छ र जीवनले संसार देख्छ । वास्तवमा जीवनसँग जसरी सम्बन्धित चिकित्सा विज्ञान, वैज्ञानिक आविष्कार, अस्तित्ववाद, मार्क्सवाद, जीवनवाद, मनोवाद, अध्यात्मवाद सबै नै सापेक्षित छन् त्यसरी नै भयवाद पनि सापेक्षित भएर नै अगाडि आएको छ ।
सौन्दर्यशास्त्रमा भयवादको मेल
मानौं, यहाँ कुनै एक युवती कुनै युवकको प्रेममा परेकी छन् भने उनले आफ्नो प्रेमीको सारा ध्यान आफूसँग खिच्न चाहन्छिन् । त्यसको लागि उनी जति सुन्दर छिन् त्योभन्दा बढी सुन्दर हुन हरेक उपाय गर्छिन् । यसो गर्नुको मतलब हो- उनीभित्रको भय ! किनभने, उनीभन्दा अर्को युवती राम्री देखिइ भने उनको प्रेमीको ध्यान त्यतै जानेछ । यसरी यहाँ भय उत्पन्न भएको छ ।
त्यसैगरी कुनै एक विद्यार्थीले राम्रो अङ्क ल्याउन सक्दिनँ होला भनेर पढ्ने गर्दछ । त्यतिमात्र होइन उसको मनमा भय उत्पन्न भएपछि अक्षर सुन्दर बनाउन थाल्छ । किताबका अक्षरहरू सुन्दर देख्न थाल्छ । त्यसरी नै समाजका हरेक मानिस आफ्नो सुन्दर भविष्यको कल्पना गरेर नै हरेक क्षेत्रमा अघि बढ्छ तर उसलाई अघि बढ्न हौसला दिने काम भयवादले गरेको हुन्छ ।
कुनैबेला एक पुराणमा एक प्रवचकले प्रवचन दिँदा यसो भने- ‘वास्तवमा हाम्रो उमेर ५० वर्षको मात्र थियो, जब यमराज हामीलाई लिन आए, त्यतिखेर हामीले उनलाई झुक्याइदियौँ, सेतो कपालमा कालो रङ दलिदियौँ, चाउरीपन हटाउन अनेक किसिमका क्रीम लगायौँ, मेकअप गऱ्यौँ, झरेका दाँत भऱ्यौँ ।’ यसो भन्दा त्यहाँ बस्ने सबैजना बढो चित्तबुझ्दो ढङ्गले खितिति हाँसे । यसको मतलब हामी चाँडै बुढो हुने र आफ्नो कालगति रोक्ने भयले सुन्दर हुन खोजिरहेका छौँ ।
सौन्दर्य शास्त्रबारे एक लेखकले एक ठाउँ यस्तो उदाहरण दिएका छन्- ‘जब कुनै एक जोडी प्रेममा परेर विवाह गर्छन्, आपसमा बडो प्रेम गर्छन्, एकले अर्कोलाई खुबै प्रशंसा गर्छन्, एकअर्का बिना बाँच्नै नसक्ने कसमसमेत खान्छन्, तर त्यही जोडी भविष्यमा गएर सम्बन्ध विच्छेद गर्ने घटनामा पुगेपछि एकले अर्कालाई हेर्नसमेत रुचाउँदैनन् । बाटोमा जम्काभेट भएपनि आँखा तर्केर हिँड्छन् । आखिर त्यस्तो किन हुन्छ ? हिजोसम्म त्यो मानिस जसलाई संसारकै सुन्दर देखेको ऊबिना बाँच्नै नसक्ने तर सम्बन्ध बिच्छेदपछि सबै किन एक्कासी परिवर्तन हुन्छ ?’
वास्तवमा यो सबै सुन्दर हुन जबर्जस्ती गरिएको अभिनयको परिणाम हो । गल्ती गर्दै गए सम्बन्ध विच्छेद हुनसक्छ भन्ने भय दुवैमा हुनुपर्थ्यो ।
दार्शनिक देश सुब्बाले भयसँगै अर्को तथ्य पनि उजागर गरेका छन्- ‘अँध्यारोमा देखिएको डोरीलाई सर्पको भयले छोपेपछि सर्प नै देखिन्छ तर चेतनाले त्यो डोरी देख्न सकिन्थ्यो । त्यसकारण भयमा चेतनाको सुन्दर प्रयोग हुन आवश्यक छ ।’ आफ्नो बुवा-आमा जति बुढो भएपनि सुन्दर देखिनु, चेतनाले गर्दा हो । देखिएको सुन्दर गुलाबको फूल टिप्न काँडाको भय हुने गर्दछ तर काँडा नहुँदा पनि गुलाब सुन्दर देखिँदैन । त्यसैले यहाँ आ-आफ्नो गल्तीको भ्रमलाई सुन्दरताको विश्वासले ढाक्न सक्नुपर्छ ।
अतः देश सुब्बाको भयवादलाई फरक-फरक वाद र चिन्तनसँग राखेर अध्ययन र प्रयोग गर्दागर्दै मैले सौन्दर्य शास्त्रसँगको प्रयोग गरेको छु । यो कति उचित हुनेछ भन्ने कुरा पाठकको हातमा छोडेको छु ।
प्रतिक्रिया