पृथ्वीराजमार्गमा लापसे जाँच : निरन्तरता पाउनेमा आशंका

पृथ्वीराजमार्गमा लापसे जाँच : निरन्तरता पाउनेमा आशंका


  • विकाश रौनियार, गजुरी (धादिङ)

पृथ्वी राजमार्गको धादिङ खण्डमा सवारी चालकहरुले लागू पदार्थ सेवन (लापसे) गरे∕नगरेको विषयमा प्रहरीले चेकजाँच सुरु गरेको छ । सवारी दुर्घटनाबाट जनधनको क्षति हुने क्रम नरोकिएपछि प्रहरीले आइतबार (२१ पुस) देखि लागु पदार्थ सेवनबारे चेकजाँच पनि थालेको हो ।

आइतबार धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ जरेखेतमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही, गाउँपालिका प्रमुख गणेशलाल श्रेष्ठ, इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डे, जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक सुरज श्रेष्ठसहित अन्य सुरक्षा निकायका प्रमुखसहित बाक्लो सुरक्षाकर्मीको उपस्थिति थियो ।

ठूलो संख्यामा प्रहरी समेतको उपस्थितिले पृथ्वीराजमार्ग भएर यात्रा गरिरहेकाहरुलाई कुनै दुर्घटना भयो कि भन्ने लागेको होला । तर, प्रमुख जिल्ला अधिकारीसहितको प्रहरीको उपस्थिति कुनै दुर्घटना भएर उद्दारका लागि भने थिएन । यो त आइतबारबाट प्रहरीले सुरु गरेको लागू पदार्थ सेवन (लापासे) चेकजाँचको उदघाटन कार्यक्रम थियो । सवारी दुर्घटनाबाट मानवीय क्षति हुने क्रम नरोकिएपछि जिल्ला प्रहरी कार्यालय धादिङको अग्रसरतामा पृथ्वीराजमार्ग भएर सवारी चलाउने चालकको लापासे चेकजाँच थालिएको हो । एक चालकको गल्तीले गर्दा अरु दर्जनौँले अकालमा ज्यान गुमाउन नपरोस् भनेर लापसे चेकजाँच सुरु गरिएको जिल्ला प्रहरी धादिङका प्रमुख प्रहरी उपरीक्षक शाहीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीको संयुक्त प्रयासमा जिल्ला जनस्वास्थ्य कार्यालय धादिङको समन्वयमा लापसे जाँच सुरु भएको हो । पहिलो दिन २५ जनाको लापसे परिक्षण गर्दा एक जना चालकको पोजेटिभ देखिएको छ । आगामी दिनमा आकस्मिक रुपमा लापसे र मापसे जाँच हुने प्रहरीले जनाएको छ ।

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लापसे र मापसे चेकजाँच हुनु सकारात्मक भएकाले सबैले सहयोग गर्नुपर्ने यात्रुको भनाइ छ । चालकमाथि लापसे जाँच गर्नु सकारात्मक भएपनि यस कार्यले निरन्तरता पाउनेमा भने कैयनले आशंका गरेका छन् ।

चालकले लागू पदार्थ सेवन गरेर सार्वजनिक यातायात चलाएरजनधनको क्षति हुने क्रम हुने क्रम बढेपछि रोक्नका लागि छड्के चेकजाँच थालिएको र यसलाई निरन्तता दिइन आवश्यक व्यवस्था मिलाइएने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको भनाइ छ । धादिङमा सचेतना कार्यक्रमहरु पनि सञ्चालनमा छन् तर विभिन्न कार्यक्रमहका बाबजुद दुर्घटना न्यूनीकरण भने हुन सकेको छैन । सवारी साधनको यान्त्रिक गडबडी, चालकको लापरबाही, सडकको दुराअवस्था आदि कारणले दुर्घटना हुने गरेको छ । दुर्घटना न्यूनीकरणका लागि प्रहरीले लापसेको चेकजाँच थालेको प्रशंसनीय कुरा हो, तर यसलाई निरन्तरता दिन भने आवश्यक छ ।