विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि कारागार चलान

विर्तामोडका पूर्वनगरप्रमुख शिवाकोटी जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि कारागार चलान


झापा जिल्ला अदालतले विर्तामोड नगरपालिकाका निवर्तमान नगरप्रमुख ध्रुव शिवाकोटीलाई जबर्जस्ती करणी अभियोगमा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश नविनकुमार जोशीको एकल इजलाशले शिवाकोटीलाई उक्त आदेश जारी गरेको अदालतका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए । आदेशबमोजिम उनलाई सोमबार नै पुर्पक्षका लागि झापा कारागार चलान गरिएको छ ।

घरेलु कामदारको रुपमा बस्दै आएकी १५ वर्षीया नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा गत मङ्सिर २४ गते शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेपछि उनी थुनाकै क्रममा उपचारका लागि विर्तामोडको बीएन्डसी अस्पताल भर्ना भएका थिए । प्रहरीको अनुसन्धान सकिएपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो । दुई दिनमा बयान सकिएको र थुनछेकको बहसपछि उनलाई पछि ठहरेबमोजिम हुने गरी हाललाई थुनामा राखी पुर्पक्ष गर्ने आदेश भएको हो ।

प्रहरीले पेस गरेको अभियोगपत्रमा अभियुक्त शिवाकोटीमाथि १२ वर्षसम्म कैद सजायको माग दाबी गरिएको छ । उक्त मुद्दाको सुनुवाई अदालतको बन्द इजलासमा भएको थियो ।

ज्ञातव्य छ, एमाले नेता शिवाकोटी गत २०७४ को स्थानीय निर्वाचनबाट बिर्तामोडको मेयरमा निर्वाचित भएका थिए ।

file photo