✍ श्याम लम्साल
हामी
भ्रमैभ्रममा जन्मिएर
भ्रमैभ्रममा मर्नेरहेछौँ ।
कहिले भएर दुःख पाउने
कहिले नभएर,
नहुनु र हुनुको भुलभुलैयामै
संसार अडेको हुँदोरहेछ,
संसार चलेको,
संसार रमेको हुँदोरहेछ,
संसार विजय गरेको दून्दूभी फुक्नेहरु नै
समयको प्रवाहसँगै
राजा हरिश्चन्द्र पनि बन्न पुग्दोरहेछ,
आखिर श्रीकृष्णको सुदर्शन चक्र नै
सबैथोक भएपछि
कथा, परिकथा त केवल
अल्मल्याउने,
अल्झाउने,
बल्झाउने
भ्रमैभ्रम पो हुँदोरहेछ,
बुझ्नेले बुझेपनि
नबुझ्नेले नबुझेपनि
संसार समयको पावन्दीमा कुद्ने
भ्रमैभ्रमको जालो मात्रै रहेछ ।
हामी
भ्रमैभ्रममा जन्मिएर
भ्रमैभ्रममा मर्नेरहेछौँ ।
- दिङ्ला, भोजपुर
प्रतिक्रिया