उतिबेला कमिस्ट शब्दावलीको भरमार । रिप भान विन्कलले काङ्ग्रेस, स्वतन्त्रता जस्ता शब्दहरू सुनेर पक्क परे झैं म नि कठमुल्लावाद, संशोधनवाद, सामाजिक साम्राज्यवाद, विस्तारवाद, जनवाद आदि जस्ता शब्दहरूको अर्थ नबुझेर वाल्ल पर्थें । यी शब्दावलीले शोषक सामन्तको मनमुटुमा ढ्याङ्ग्रो ठोक्थ्यो । बुर्जुवा व्यवस्था भन्या खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने पसल हो भन्थे ।
✍ बलराम सिलवाल
२०३० सालमा मेरो व्रतबन्ध हुँदा भिक्षादान दिनेले सेलरोटी, अर्सा, कसार, च्युरा खाने । उतिबेला वटुकलाई कपडा/गहना दिने चलन थिएन । बिहे नि भतेर, जन्तीबाख्रो, बहुभतेरमा निप्टिन्थ्यो । बेहुला/बेहुलीलाई डोली/कार्पेसमा बोकिन्थ्यो । बिहे उति खर्चिलो थिएन । सामन्त बाहेक जनसाधारण सोझासाझा थिए । ऐंचोपैंचो/पर्मले काम टर्थ्यो । परनिन्दक कमै थिए ।
दर भडकिलो थिएन । मिठोमसिनु जे हुन्थ्यो त्यही पाक्थ्यो । महिनौंदेखि दरको नाउँमा पार्टी प्यालेस धाउँदैनथे कोही नि । शालीन गीत गाइन्थ्यो, शालीनतापूर्वक नाचिन्थ्यो, पुरुषको हस्तक्षेप हुँदैनथ्यो । साडी/गहना शो नगरेसि तीज सबैमा समान थियो । सामाजिक विचलन शून्य ।
हिप्पोक्र्याट हुनुको अनिवार्यता थिएन । दशैं/त्यार आफ्नो सावगाँस मुताबिक मनाइन्थ्यो । ख्रिष्टमस/भ्यालेन्टाइन डेको वर्चस्व शून्य । अनेकताभित्र एकता थियो । एकले अर्कोलाई सम्मान/श्रद्धा गर्थ्यो । राजपरिवारले मस्ती गरे नि राजनीति सङ्लो थियो । उतिबेला एक लाख अनियमितता गरेसि प्रधानमन्त्री पद चैट , कारवाही हुन्थ्यो । अचेल त भन्सारको पिऊनले अर्बौं रुपैयाँ तर मार्दा नि कारवाही हुन्न दलको संरक्षणले ।
उतिबेला प्रवेशिका परीक्षा पास हुनु भन्या त फलामको च्युरा चपाउनु सरह । कतिपयले कलैयाबाट पास गरे त फेल भएका कतिपय बरालिए । अहिले सतही पढाइ – प्राक्टिकलाङ्कले पास हुँदो । व्यवस्था फेरिएर के भो त ? स्वास्थ्य/शिक्षा नि:शुल्क गर्न सक्या होइन । यत्रतत्र सर्वत्र भ्रष्टाचार । प्रोफेसनल स्वास्थ्य/शिक्षा गरीबगुरुवाको ढाड सेक्दो । ८ पासेले बनाएको संविधान व्यावहारिक नहुँदो । सम्प्रभुता/अक्षुण्णतामा दाग लाग्दो । असंलग्न परराष्ट्र नीति आहान भो ।
मत्वालीले (जातले पाएको ) जाँडरक्सी खाँदा कोही औलो ठड्याउन्नथ्यो । उनीहरूको त जाँडरक्सी नै सगुन । बाहुन क्षेत्रीले जाँडरक्सी धोके समाजबाट बहिष्कृत हुन्थ्यो । अचेल त को पो अछुतो छ र ? उतिबेला सामाजिक सञ्जाल थिएन । टायम पासको नाउँमा कोही खोपी खेल्थे त कोही बाघचाल । रेडियो नेपाल, रेडियो खरसाङ, अल इन्डिया रेडियो , रेडियो सिलोन र बिबिसी सुनेर दिन कटिन्थ्यो । फरमायसी गीतहरू । भालु नाच, बाँदर नाच, देशी नाच र ढ्वाङ थिए मनोरञ्जनको सहायक साधनहरू । गणेश, जय नेपाल, विश्वज्योति, रञ्जना, अशोक र नवदुर्गा सिनेमा हलहरू । गीताङ्गेहरू गाउँ गाउँ डुलेर कर्खा, सवाई र गीतहरू गाउँथे भने पातर्नीहरू नाच्थे ।
मेरो आस्था, विश्वास र सिद्धान्त विपरित टाङ अड्याउनेसित सम्झौता नगर्ने भएसि मित्रु बढ्ने कुरो भएन । आफ्नो जिन्दगी त आफ्नो ढंगले जिउने हो नि, अर्कोले जस्तो जिउनुपर्छ भन्ने छ र ?
उपाध्याय ब्राम्हणको उपध्र्याइँबाट जैसी जन्म्यो : उपाध्याय चैं पाको कुमाईं र जैसी चैं काँचो कुमाईं रे । अनैतिकले नैतिकता पढाएको देख्दा ताजुप लाग्छ । राजनीति भन्या भुँडी जस्तो । भुँडी बिग्रे शारीरिक प्रणाली बिग्रिन्छ, राजनीति बिग्रे मुलुक बिग्रिन्छ । चेतना भया ।
कर्म अनुसारको फल । भ्रष्ट/भ्रष्टाचारीको आँत कति पोल्दो हो ? मानव दानव भएसि ब्रम्हाण्ड कति खेर पो धुज्जिने हो ? आफ्नो ब्रम्हले देखेको काम गर्दैन, पत्रुको चाकडी गर्दो । निकृष्ट मनुवाको नाउँ लिनु के छ र ? नामानुसारको काम छैन । बेकार हो ।
चिन्तन, मनन, अध्ययन, मन्थन नभएसि बरालसिङहरूमा नयँ विचार कसरी फुर्ने ? यथास्थिति सोच , परिवर्तनको गुन्जायस मरु । फुँई लाउँदो, अल्प गिदी । ९९ ले देवकोटालाई बहुलाहा बनायो, नारायण गोपाललाई आउट भन्यो ।
म सानु छँदा घडी, साइकल र रेडियो हुने मान्छे धनी कहिन्थ्यो । फिडेल कास्त्रो, च्वेगुयराको करामत सुन्दा मान्छेहरू जिब्रो काढ्थे । कमिस्टले व्यक्तिगत सम्पत्ति राख्न दिंदैन ; ठुल्ठुला ड्रमहरूमा भात पकाएर खुवाउँछ र वृध्दवृध्दालाई गोली ठोकेर मार्छ भन्ने सुनियो । राजा बाँस भन्दा अग्लो हुन्छ भन्ने कल्पना नि गरियो ।
उतिबेला कमिस्ट शब्दावलीको भरमार । रिप भान विन्कलले काङ्ग्रेस, स्वतन्त्रता जस्ता शब्दहरू सुनेर पक्क परे झैं म नि कठमुल्लावाद, संशोधनवाद, सामाजिक साम्राज्यवाद, विस्तारवाद, जनवाद आदि जस्ता शब्दहरूको अर्थ नबुझेर वाल्ल पर्थें । यी शब्दावलीले शोषक सामन्तको मनमुटुमा ढ्याङ्ग्रो ठोक्थ्यो । बुर्जुवा व्यवस्था भन्या खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने पसल हो भन्थे । कमिस्टहरूले बुर्जुवा शिक्षा बहिष्कारेको नि सुनियो । टंक कार्कीले भाषणमा लीलामणि पोखरेललाई पछार्छ भन्ने नि सुनियो । के-के सुनियो के-के । मोहनविक्रमले पुष्पलाललाई गद्दार भनेको नि सुनियो । कमिस्टहरू बोल्न माहिर … आरोप-प्रत्यारोप त कति कति ! ३७ सालतिर चुनावी नतिजा घोषणा भएसि बिपिले राजासित घाँटी जोडेको भन्ने सुनियो ।
***
२०४६ सालमा बहुदल आएसि के-के न हुन्छ भन्ठान्थे जनता । आखिर के पाए र ? ठुल्ठुला शहरहरूमा नेताहरूको बङ्गला ठडिए; तिनीहरूकै दर्सन्तानले छात्रवृत्ति पाए; विदेशीले सत्ता हत्याए । पदलोलुपताले दलहरू काँक्रोको चिरा झैं चिरिए । आफ्नो स्वार्थको लागि दलीय टाउकेहरूले भागशान्ति जय नेपाल गरेकै छन् । गणतन्त्र आको छ बोल्न पाको छ भन्ने सुनिन्छ । बोलेर मात्र भोको पेट भरिन्न क्यारे ।
कुरा गर्यो कुराकै दु:ख । साहित्यले अभिभावकत्व ग्रहण गर्नुपर्छ भन्ने मेरो मान्यता । कलमले समाज उधिनेसि सगुण दुर्गुण फेला पर्छ । लालबुझक्कड चैं नकारात्मक लेख्नु भएन भन्दै रोइलो गर्दो । उसो भए सिस्नुपानी र गाईजात्राको उपस्थिति किन ? बाउसे सकियो । आजलाई मैजारो । अस्तु ।
प्रतिक्रिया