✍ डा. गोविन्दशरण उपाध्याय

१. नेपालको आफ्नो पहिचान स्थापित गर्न यहाँका ८३.१ प्रतिशत जनताको केवल ३५ प्रतिशत भोट भए पुग्छ । सबै मिलेर यी भोटहरूलाई ध्रुवीकरण गर्ने हो भने नेपाललाई सनातन-राष्ट्र बन्नबाट कसैले रोक्न सक्दैन । ८३.१ प्रतिशत हिन्दू जनसंख्या सनातन राष्ट्र निर्माणका लागि भोट खसाल्न तयार छ तर राजनैतिक पात्रतामा अल्झिएर भोट खस्न नसकेको हो ।
२. केही अगुवाहरूले ‘हिन्दूहरू जागेनन, आफ्नो मौलिकता नष्ट गर्ने राजनैतिक नेतृत्वलाई भोट दिन्छन्’ भन्दै हिन्दूहरू विरुद्ध आक्रोश पोखेको सुन्न सकिन्छ । यस्तो आक्रोश अर्थविहिन छ । कुनै व्यक्ति, दल वा विचारधारालाई गालीगलौज र जिम्मेदार ठहऱ्याएर भोट-बक्समा भोट खस्दैन, ८३.१ प्रतिशत नेपाली जनसंख्या प्रखर, विश्वासिलो र सदाचार भएको व्यक्तिलाई पर्खेर बसेको छ ।
३. यदि ममा क्षमता छ भने ती भोटहरूलाई ब्यालेटमा बदल्न सक्छु । भोटहरू भ्यालेटमा खसेको क्षण कुनै धर्मनिरपेक्षवादी, साम्यवादी, घृणावादी कसैले पनि मलाई रोक्न सक्दैन ! यो अर्जुन दृष्टिकोणको सम्मान र विकासतिर धेरैले ध्यान पुऱ्याउन नसकेको सत्य हो ।
४. सत्य हो कि नेपालमा विदेशीहरूले खेलिरहेका छन् ! त्यसले गर्दा पूर्ण देशभक्त राजनैतिक नेतृत्व पनि शंकाको घेरामा पर्छ तर नेतृत्वले यस्तो अविवेकी चिन्तनलाई (माइन्ड-सेट) परिवर्तन गर्न सक्ने सुझबुझ देखाउन पर्छ । विदेशी प्रतिमानको राजनैतिक चिन्तनको धरातलमा उभिएका नेतृत्व विजयी भएका छन् भने स्वदेशी प्रतिमान विजयी नहुने कुनै आधार छैन ।
५. नेपालको ८१.३ प्रतिशत नेपाली जनसख्याको चरणकमलमा बसेर, तिनको उपस्थिति, चाहना र मर्मलाई बुझ्न नसक्नु दुर्भाग्यको विषय हो । उच्चमनोवल र आफ्नो धर्म, संस्कृति तथा परम्पराप्रतिको आत्मविश्वास एवं त्यो आत्मविश्वासलाई प्रयोग गरेर ‘कसपू’मा सेट भएको माइन्ड-सेट परिवर्तन गर्न असजिलो काम होइन, सुझबुझ र आत्मविश्वासको कुरा हो ।
६. ८१.३ प्रतिशत नेपाली जनताको भोट ब्यालेटसम्म लैजान नेपालमा भएका वैदिक संस्कृतिसंग जोडिएका संघसंस्था (राजनैतिक उद्देश्य भएका)ले जनतामा पहुँच बनाउने प्रयोजनका लागि कार्यविभाजन गर्नु पर्छ । उदाहरणका लागि सनातन संस्थाले केवल प्रचारप्रसार सामग्री छाप्ने, पशुपति सेनाले आर्थिक संकलन गर्ने, हिन्दू नेपालले टेलिभिजनमा हिन्दू संस्कृतिबारे वहस चलाउने । हिन्दू साइवर सेनाले नेपालमा र नेपाल बहिर भएका गतिविधिहरूलाई साइवरमा राख्ने आदि ! यसो गर्दा एउटाले अर्कालाई सघाउनु पर्छ र आ-आफ्नो क्षेत्रमा काम गर्नुपर्छ ।
७. नेपाली माइन्ड-सेटको सबैभन्दा नराम्रो र विग्रेको पक्ष नै नकारात्मक माइन्ड-सेट हो । यस्तो माइन्ड-सेटले कुनै पनि व्यक्ति, राजनैतिक प्रणाली, सामाजिक वा सांस्कृतिक व्यबस्थाप्रति विश्वास गर्दैन । यो माइन्ड-सेट सजिलै परिवर्तन हुँदैन नेतृत्व गर्न इच्छुक व्यक्तिले आफ्नो असल आचरण, आत्मविश्वास, वाक्-चातुर्यताबाट उपर्युक्त माइन्ड-सेट परिवर्तन गर्नुपर्छ । समय लाग्छ तर सकिन्छ ।
८. नेपाली सनातन आन्दोलनको अर्को नराम्रो पक्ष भनेको हिन्दू संस्कृतिमै काम गर्ने अर्को नेतृत्वप्रति अनुदार विचार राख्नु हो । यस्तो अनुदार माइन्ड-सेट हिन्दूहरूमा मात्र होइन अन्य राजनैतिक दलहरूमा पनि छ । यस्तो अनुदारताले नेतृत्वहरूका विचमा सहृदयी सम्बन्ध स्थापित गर्न असजिलो पार्छ । यसका लागि ‘विनय र विनम्रता’ यी दूई गुणहरू बोकेर आफुले नै अग्रसरता लिने अभ्यास गर्नुपर्छ ।
९. तरल राजनैतिक अवस्थामा नेतृत्व प्राप्त गर्न होडबाजी हुनु प्राकृतिक कुरा हो तर नेतृत्वको यो होडबाजीमा एकअर्कालाई निषेध गर्ने, एकअर्कालाई आफुभन्दा तल्लोतहको ठान्ने र असहयोग गर्ने कुराबाट जोगिनुपर्छ । यदि सनातन धर्मकोलागि अभियान चलाउने एकले अर्को सोही प्रकृतिको काम गर्ने विरुद्ध बोल्दा आफ्नै पनि आलोचना हुन्छ । विधर्मीहरूले यसबाट फाइदा उठाउँछन् ।
१०. समय, परिवेश र आवश्यकताले गर्दा सनातन धर्मको मूल आचरणमा परिवर्तन आएको छ । जतिसुकै फुर्ति गरे पनि ‘पूर्णधर्म’ एउटा आदर्शमात्र हो । यदि कुनै समुदाय, व्यक्ति वा संस्कृतिमा वैदिक संस्कृतिको अलिकति पनि पालन गरिंदै छ भने त्यसको प्रसंशा गर्नुपर्छ, निन्दा होइन । संस्कृति परिवर्तनशील विषयवस्तु हो । कतिपय कुरा (धार्मिक व्यबहारहरू) जान्दाजान्दै बुझ्दाबुझ्दै पनि पालन गर्न सकिन्न ।
११. सबैभन्दा महत्वपूर्ण कुरा, आत्मालोचना, हीनताबोध तथा विदेशी शक्तिहरूले लेखिदिएको ‘अधिकार’को चंगुलमा फस्नु हुँदैन । सत्य, हो धेरै कुरा सुधार गर्नुपर्छ तर उनीहरूले देखाएको बाटो ‘घृणावाद’को साँघुरो बाटो हो । जातीय विभेद हिन्दू वैदिकहरूको आफ्नो हो । जुन संस्कृतिमा यो विद्यमान छ, तिनै सांस्कृतिक व्यक्ति वा समुदायले त्यसको समापन गर्न सक्छन् । अधिकारवादका नाममा जातीयछुवाछुतसंग ‘गोरुबेचेको नाता नभएका परचक्रीहरूको सल्लाह’ अस्वीकार गर्नुपर्छ ।
१२. अन्त्यमा, नेपाल सनातन संस्कृतिको मूल थलो हो । वैदिक हिन्दूहरू यहाँका आदिवासी हुन् । सनातन धर्मसापेक्ष हिन्दू नेपाल नेपालीहरूको जीवनसिद्ध अधिकार हो । बहुलताको संरक्षण गर्ने पृष्ठभूमि हामी नेपालीसँग जन्मदै छ । कुनै पनि ‘दलाल’ नेपालीहरूलाई ‘समावेशी-चरित्र’ सिकाउनु पर्दैन । अरूको सांस्कृतिक सभ्यता समुल नाश परेको ऐतिहासिक पृष्ठभूमि भएकाहरूले विगत ३५०० वर्षदेखि १३२ वटा जातजाति सँगै मिलेर बसेको इतिहास हामीसँग छ, सिक्न आउ भन्ने प्रष्ट सन्देश दिए पुग्छ ।
हामी सबैको कल्याण होस् ।
प्रतिक्रिया