राजु अधिकारीको यात्रा संस्मरण ‘राहदानी’ प्रकाशित

राजु अधिकारीको यात्रा संस्मरण ‘राहदानी’ प्रकाशित


लेखक डा. राजु अधिकारीको यात्रा संस्मरण ‘राहदानी’ प्रकाशित भएको छ । कथा र उपन्यास लेखनमा सकृय अधिकारी यसपटक यात्रा संस्मरण लिएर पाठकमाझ आएका हुन् ।

दुई दशकभन्दा बढी समयमा आफूले यात्रा गरेका विभिन्न देशमा आफूले देखेका र भोगेका तथा अनुभव गरेका विषयबस्तुलाई उनले पुस्तकको रूपमा ल्याएका हुन् ।

नेपाली राहदानीवाहकहरूले भिसा आवेदनमा र विदेशका अध्यागमनमा भोग्नुपर्ने समस्याको बारेमा पनि उनले आफ्नो संस्मरणमा उल्लेख गरेका छन् ।

राहदानीका कारण आफूले भोग्नु परेका केही तीता भोगाइलाई आधार बनाएर पुस्तकको शीर्षक राहदानी राखिएको लेखकको भनाइ छ । अन्य यात्रा संस्मरणभन्दा अलिक भिन्न शैलीमा लेखिएको यो पुस्तकमा लेखकले विदेशमा आफूले भोगेका रोचक प्रसङ्गहरू पस्केर पाठकलाई मनोरञ्जन दिन खोजेको बताएका छन् ।

चौध वटा यात्रा संस्मरण समेटिएको पुस्तकले विदेशमा कस्ता अनपेक्षित समस्याहरू आउन सक्छन् र ती समस्याबाट बच्न अपनाउनुपर्ने तयारी र सावधानीप्रति पनि सजग गराएको छ ।

‘थुप्रै सोलुसन’ले प्रकाशनमा ल्याएको पुस्तक मुद्रित संस्करण र इ-बुकमा पनि उपलब्ध छ ।

पुस्तक ‘थुप्रै डट कम’को वेबसाइट र मोबाइल एपमा इ-बुकको रूपमा संसारभरि उपलब्ध रहेको प्रकाशकले जनाएको छ ।