लास भेगस केवल एक गन्तव्य मात्र होइन, यो एउटा भावना हो, जहाँ मानिसहरूले आफ्नो जीवनको रमाइलो पक्षलाई खुला हृदयले आत्मसात गर्न सक्छन् ।
✍ उमेश रेग्मी
अमेरिकाको लास भेगस, विश्वमै चर्चित र आकर्षक गन्तव्यहरूमध्ये एक हो । यो शहरलाई सामान्यतया ‘विश्वको मनोरञ्जन राजधानी’ भनेर चिनिन्छ । गगनचुम्बी भवनहरू, झिलिमिली बत्तीहरू, क्यासिनोहरूको चमक-धमक, भव्य प्रदर्शन, र जीवन्त रात्रिजीवनले भरिपूर्ण लास भेगस शहर पर्यटकहरूका लागि स्वर्गसरह छ । हरेक वर्ष लाखौं मानिस यस शहरको अनौठो सौन्दर्य र अनौंठोपनको अनुभव गर्न आउँछन् ।
अमेरिकाको टेक्सास (डालस) पुग्नुभन्दा पहिले नै लास भेगास जाने निधो भइसकेको थियो । श्रीमती सन्ध्यासँगै डालस पुग्दा हाम्रो स्वागत गर्न बहिनी उषा, ज्वाइँ शुभासलगायत भान्जी अनु र भान्जीज्वाइँ उज्वल एयरपोर्ट नै आइपुगे । लन्डनबाट करिब दिनको २ बजे चढेको जहाजले हामीलाई डालस स्थानीय समयअनुसार करिव रातको १० बजे पुऱ्यायो । मिति थियो २० अक्टोबर २०२४ ।
डालसमा दुई दिन बिताएपछि लास भेगास जाने कुरा चल्न थाले, साथै चल्न थाल्यो त्यहाँ जाने तयारी । सन्ध्याको रहर र भान्जी अनुको इनिसिएटिवमा आवश्यक तयारी पूरा हुने भए लास भेगास जानलाई ।
मेरो अमेरिकाको यात्रामा लास भेगस जानु एउटा सपना पूरा हुनुजस्तै थियो । शहरको नाम सुन्दा नै मेरो मनमा झिलिमिली बत्तीहरूको कल्पना आउँथ्यो । मलाई शहरको जीवनशैली, गतिविधि र यहाँको रमाइलो वातावरणको प्रत्यक्ष अनुभव गर्न उत्सुकता थियो । यसै उत्साहका साथ, हामी लास भेगस जाने तयारीमा जुट्न थाल्यौँ । ज्वाइँ उज्वल, होटल व्यवस्था गर्ने जिम्मा लिनुको साथै आवश्यक पर्नसक्ने सवारी साधनको बन्दोबस्त गर्नतिर लागे । एयरपोर्टमा नै भएको कार रेण्टलबाट हाम्रो सवारीसाधनको व्यवस्था हुने भयो ।
अक्टोबरको २४ तारिखमा हामी सबै लास भेगास पुग्ने भयौँ । विदेश भ्रमणको यो क्रममा भोलिपल्ट र पर्सिपल्टको दिनहरू (२५ र २६ तारिख) हामी दम्पति (सन्ध्या र म) को लागि केही अप्ठ्यारो थियो । २६ तारिख बुवाको वार्षिक श्राद्ध परेको हुनाले २५ तारिख एकछाकी बस्नुपर्ने बाध्यता थियो । लास भेगासको ठाउँमा श्राद्ध कहाँ गर्ने, कसरी सामग्री जुटाउने अनि श्राद्ध गराइदिने पण्डित कहाँ खोज्न जाने भन्ने प्रश्न धेरै अगाडिदेखि नै मेरो चिन्ताको विषय बनेको थियो ।
यात्रा प्रारम्भ
हाम्रो यात्रा सुरू भयो एकाबिहानै । धन्यवाद छ आजकालको टेक्नोलोजी अनि त्यसलाई अपनाउने हामी जस्ताहरूलाई । उबर आइपुग्यो हामीलाई विमानस्थलसम्म लैजान बिहानै ४ बजेतिर । आ-आफ्नो सुटकेस समातेर हामी सबै पुग्यौँ डालस विमानस्थल जहाँबाट हामी लास भेगास जाने विमान चढ्दै थियौँ । निश्चित समयमा विमानमा बोर्डिङ गरियो । एउटा अचम्मको उत्साह अनि कौतुहलतासहित हाम्रो यात्रा शुरु भयो ।
करिब तीन घण्टाको यात्रापछि, हामी एक अनौठो संसारमा पुगेको महसूस भयो । विमानबाट तल झर्दैगर्दा टाढाबाट देखिने उज्यालो बत्तीहरू र शहरको व्यस्तता हरेक पर्यटकलाई मोहित बनाउने प्रकारको थियो । लास भेगसको विमानस्थलमा ओर्लिएपछि, मलाई लाग्यो कि म एक फरक संसारमा प्रवेश गर्दैछु । विमानस्थलमै रहेको क्यासिनोहरूले यहाँको जीवनशैलीको झल्को दिएको थियो । विमानस्थलको झिलिमिली र व्यस्तताले मेरो मनलाई अझ रोमाञ्चित बनायो ।
लास भेगास विमानस्थलमा ओर्लिए पनि हामी शहरको केन्द्रतिर नजाने भन्ने कुरो थाहा भयो, जब ज्वाइँ उज्वलले नजिकैको कार रेण्टल गर्ने ठाउँबाट कार लिने क्रममा हामीलाई बताए । हाम्रो यात्रा हुबर ड्यामतिर पो तानियो, जुन मेरो लागि नयाँ थियो । हाम्रो कार्यक्रममा केही फेरवदल भएको जानकारी अनुले दिई । हामी हुबर ड्यामहुँदै ग्रान्ड क्यनिओनतिर जाने भयौँ । मेरो उत्सुकता दोब्बर हुन पुग्यो । दुवै ठाउँ मैले धेरै समय अगाडिदेखि नै जान खोजिरहेको स्थानमध्येका थिए । अनु र उज्वललाई धन्यवाद नदिइ रहन सकिएन ।
हुबर ड्याम संयुक्त राज्य अमेरिकाको एरिजोना र नेभाडा राज्यको सीमानामा रहेको एक प्रसिद्ध बाँध हो । यो कोलोरेडो नदीमा सन् १९३१ देखि १९३६ सम्म निर्माण गरिएको थियो । यो बाँध जलविद्युत उत्पादन र पानी व्यवस्थापनको लागि विश्वप्रसिद्ध छ । यसको निर्माणले अमेरिकाको विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको छ । हुबर ड्यामको संक्षिप्त जानकारी लिएपछि केही फोटो क्यामरामा कैद गरियो सम्झनाको लागि । सफा मौसमको प्रतिफल निलो आकाश अनि घमाइलो दिनमा हुबर ड्यामको छोटो भ्रमण निकै रमाइलो भयो । भनिन्छ नि, ‘छोटो मिठो’ ।
केही समयपश्चात हुबर ड्यामलाई छोडेर लागियो ग्रान्ड क्यनिओनतिर । बेला-बेला उज्वल ज्वाइँसँग मेरो प्रश्नोत्तर कार्यक्रम चलिरहन्थ्यो यात्राको दौरान । उहाँ एउटा ज्ञानको भण्डार नै रहेको पाएको थिएँ मैले । उहाँलाई अझ नजिकबाट चिन्ने अवसर मिलेको थियो । प्राथमिक चरणको पढाई नेपालमा नै भएको भए पनि पछिल्ला दिनहरूमा उहाँको पढाई छिमेकी भारतदेखि लिएर विश्वका अन्य देशहरूमा भएकोले गर्दा विभिन्न कुरामा उहाँको अनुभव र ज्ञानको कायल नभइरहन सकिनँ म । गीतामा भगवान् श्री कृष्णको भूमिकादेखि लिएर वर्तमान विश्वमा भएका उथलपुथल घटनाहरूमा वादविवाद गर्दै यात्रा अगाडि बढ्दा कतिखेर ग्रान्ड क्यनिओन पुगिएछ पत्तै भएन ।
ग्रान्ड क्यनिओन विश्वको सबैभन्दा प्रसिद्ध प्राकृतिक चमत्कारहरूमध्ये एक हो । यो संयुक्त राज्य अमेरिकाको एरिजोना राज्यमा अवस्थित छ । कोलोराडो नदीद्वारा काटिएको यो गहिरो उपत्यका आफ्नो विशाल आकार, अनुपम चट्टान संरचना र सुन्दर दृश्यका लागि प्रख्यात छ । यहाँ वर्षभरि लाखौँ पर्यटक घुम्न आउँछन् । यसको प्राकृतिक सुन्दरता र भौगोलिक महत्वले यो स्थान विश्व सम्पदा सूचीमा पनि समावेश गरिएको छ ।
बिहानैदेखिको यात्रा अनि लगातारको हिँडाइले होला सायद ग्रान्ड क्यनिओनसम्म आइपुग्दा केही भोक अनि केही थकाईको अनुभव सबैलाई हुन थालेको थियो । खाजा खाने ठाउँ खोजिहाल्नु पहिले यस ठाउको अवलोकन गर्ने निर्णय भयो । फोटो खिच्ने र ग्रान्ड क्यनिओनको अचम्म पार्ने भौगोलिक संरचनाहरूमा आनन्दित हुने क्रम चल्न थाल्यो । त्यस संरचनामा देखिने गिद्द, कुकुर अनि सुतिरहेको सिंहका आकृतिहरू गजबका छन् । सुभाष ज्वाइँ अनि उज्वल ज्वाइँसँग मचाहिँ नजिकै रहेको एउटा ढिस्को चढ्न पुगे । हामीसँग रहेका महिला टिम भने फोटो खिच्नमै व्यस्त भए । विभिन्न रंगमा (विशेषगरी रातो, सुन्तला, र हल्का निलो) सजिएका यहाका चट्टानहरू, यिनैबीच बनेका उपत्यका अनि यहाँ बस्ने आदिवासी सबैको कथाहरू बढो रुचिपूर्ण लाग्यो । जिन्दगीमा एकचोटी आउनैपर्ने ठाउँ रहेछ भन्ने ठहर गर्दै हामी खाजा खानतिर लाग्यौँ ।
खाजा पश्चात हामी लाग्यौ हाम्रो मुख्य गन्तव्यतिर- लास भेगास !
स्ट्रिप : लास भेगसको मुटु
करिब चार घन्टाको अनवरत गाडी हँकाइपछि हामी हाम्रो गन्तव्य आइपुग्यौँ- लास भेगासको ट्रेजर आइल्याण्ड नाम गरेको होटेल, जहाँ हाम्रो आगामी दुई दिन बित्दै थियो । २४ अक्टोबरको साँझ लास भेगासको झिलिमिलीमा हराउने सबैको चाहना केही क्षणमा नै पूरा हुँदै थियो । होटेलको औपचारिकता पूरा गरेपछि हामी निस्कियौँ लास भेगासको स्ट्रिपमा । समय साँझको करिब ६ बजिसकेको थियो ।
लास भेगस स्ट्रिप शहरको सबैभन्दा प्रमुख भाग हो । यहाँका होटल, क्यासिनो र मनोरञ्जन केन्द्रहरूले यस शहरलाई विशेष बनाएको छ । पहिलो पटक स्ट्रिपमा पाइला टेक्दा, मैले अनुभूति गरे कि म कुनै चलचित्रको सेटमा प्रवेश गरिरहेको छु । स्ट्रिपमा अवस्थित भव्य होटलहरू, जस्तै बेलाजियो, सिजर्स प्यालेस, भेनिसियन र लक्सर, हरेक आफ्नै विशेषता र शैलीले भरिएका छन् । बेलाजियोको पानीको फोहरा शोले मलाई सबैभन्दा धेरै आकर्षित गऱ्यो । यस शोमा संगीतसँग ताल मिलाउँदै फोहराको पानीले बनाउने आकृतिहरू साँच्चै अनौठा र मनमोहक थिए ।
भेनिसियन होटलभित्रको कृत्रिम नहर र गण्डोला सवारीले मलाई इटालीको भेनिसको सम्झना गरायो । होटलको भित्री डिजाइन, पानीमा चल्ने डुङ्गाहरू, र गायकहरूको प्रस्तुति अविस्मरणीय थिए ।
स्ट्रिपमा केही समय बिताएपछि, डिनरको लागि नजिकैको एउटा रेस्टुराँमा पुग्यौ हामी सबै ।
बुवाको श्राद्ध
२५ अक्टोबरको दिन । एकछाकी ! ब्राम्हण परिवारमा जन्मिएको म, आफ्नो संस्कृति र परम्परालाई आदर गर्न पछाडि पर्दिनँ कहिल्यै पनि । यसैमा मैले मेरो पहिचान र अस्तित्व महसूस गर्छु । त्यसैले होला लास भेगास जस्तो जीवन्त ठाउमा पनि मैले (मसँगै मेरो श्रीमती सन्ध्याले पनि) एकछाकीको मर्यादालाई कायम गर्न सफल भयौँ ।
भोलिपल्ट अक्टोबर २६, श्राद्धको दिन । लास भेगासको ठाउँमा श्राद्ध कहाँ गर्ने, कसरी सामग्री जुटाउने अनि श्राद्ध गराइदिने पण्डित कहाँ खोज्न जाने भन्ने प्रश्न मेरो अगाडि पुनः दोहोरिन पुग्यो । केहीबेरको माथापच्चीपश्चात् श्राद्ध गराइदिने पण्डित नपाइने ठहर भयो, त्यसैले हामी सबैको राय पुरानै पण्डितले भने बमोजिम गर्ने निर्णय भयो । भ्रमणअगावै मैले हाम्रो नियमित पण्डितसँग विकल्प सोधेको थिएँ । उहाँले सरल समाधान बताउनुभएको थियो, ‘सिदा उठाउने अनि आफूले भ्याएको बेला पण्डितलाई टीका लगाइ उक्त उठाएको सिदा चढाउने । मनको श्रद्धा ठुलो कुरा हो, पितृलाई सम्झनु महत्वपूर्ण हो । भ्रमणको क्रममा आइपर्ने यस्ता व्यवधानको सही समाधान भनेकै मन सुद्ध गरेर परमात्मासँग पितृको उद्धार हेतु गर्ने प्राथना हो ।’ उहाँको यो सरल तर अति सारपूर्ण समाधानको बाटो अपनायौँ हामीले पनि ।
क्यासिनोको अनुभव
लास भेगसको चर्चा क्यासिनोबिना अधुरो हुन्छ । यहाँका प्रत्येक होटलभित्र ठूला र भव्य क्यासिनोहरू छन् । मैले पनि पहिलो पटक जीवनमा लास भेगसको क्यासिनोमा गएर आफ्नो भाग्य परीक्षण गर्ने निर्णय गरेँ । सुरुमै केही सानो रकम जित्दा मनमा खुसीको लहर दौडियो, तर पछि त्यो पैसा फेरि हरायो ।
क्यासिनोको वातावरण भने निकै रोचक थियो । झिलिमिली बत्तीहरू, रोमान्चक संगीत र मानिसहरूको उत्साहपूर्ण अनुहारहरूले मलाई घण्टौंसम्म त्यहाँ बस्न प्रेरित गऱ्यो । मैले महसुस गरे कि क्यासिनोहरू केवल जुवा खेल्ने ठाउँ मात्र होइन, यहाँको संस्कृति र मनोरञ्जनको प्रमुख भाग हो ।
खानपान र जीवनशैली
लास भेगसमा खानपानको अनुभव पनि विशेष रह्यो । यहाँ विश्वभरका खाना पाउन सकिने भएकाले, मैले थुप्रै नयाँ स्वादहरूको अनुभव गरेँ । जापानी सुसीदेखि इटालियन पास्ता र स्थानीय अमेरिकन बर्गरसम्मका स्वादले मेरो जिब्रो खुसी बनायो ।
शहरको जीवनशैली भने विलासिता र रमाइलोले भरिएको छ । मानिसहरू दिनभरि क्यासिनोमा रमाउँछन् भने रातभरि पार्टीहरूमा सहभागी हुन्छन् ।
के सिकियो त ?
लास भेगसको भ्रमणले मलाई केवल मनोरञ्जन मात्र होइन, जीवनशैलीका केही पाठ पनि सिकायो । यहाँ मानिसहरूको खुलापन, विविध संस्कृतिप्रतिको आदर र हरेक क्षणलाई रमाइलो बनाउन सक्ने कला प्रशंसनीय थियो । तर, यस शहरको चमकधमकमा हराउँदै गर्दा आर्थिक र समय व्यवस्थापनको महत्व पनि बुझ्न जरुरी छ ।
अन्त्यमा
लास भेगस मेरो जीवनको एक अविस्मरणीय अनुभव बन्यो । यहाँका झिलिमिली बत्तीहरू, मनोरञ्जनका भव्य माध्यमहरू, र सांस्कृतिक विविधताले मेरो मनलाई गहिरो प्रभाव पारे । लास भेगस केवल एक गन्तव्य मात्र होइन, यो एउटा भावना हो, जहाँ मानिसहरूले आफ्नो जीवनको रमाइलो पक्षलाई खुला हृदयले आत्मसात गर्न सक्छन् ।
मेरो यो यात्राले मलाई हरेक मानिसले आफ्नो जीवनमा कम्तिमा एक पटक लास भेगसको अनुभव गर्नुपर्ने सन्देश दियो । यो शहरले मात्र मनोरञ्जन होइन, जीवनलाई फरक दृष्टिकोणले हेर्ने दृष्टिकोण दिन सक्छ । लास भेगस साँच्चै एउटा अद्भुत संसार हो, जसको अनुभूति शब्दमा मात्र सीमित गर्न सम्भव छैन ।
प्रतिक्रिया