साँखुस्थित शालीनदीमा माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका ब्रतालु शनिबार (२६ माघ) बेलुकी चाँगुनारायणको परदेश यात्रामा निस्केका छन् ।
माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्नानको यात्रा गर्ने ब्रत विधि रहेको छ । माघ शुक्ल द्वादशीका दिन ब्रतालुले चाँगुनारायण मन्दिरमुनिको जङ्गलमा रहेको पोखरीमा स्नान गरी चाँगुनारायणमा साँखुबाट बोकेर लगिएका माधवनारायणको पूजा आराधना गर्ने परम्परा छ । परदेश यात्रा सकी ब्रतालु चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ । आइतबार साँखु फर्कने ब्रतालुले त्यहीँ भोजन गर्न पाउनेछन् । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन ब्रतालुलाई खीर (तस्मी) खुवाइएको थियो ।
ब्रतालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरु गरेका थिए । पहिलो दिन शालिनदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गर्दै जानुपर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङबाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा यो यात्रा सकिन्छ । माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बास बसिएको थियो । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ । साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाइएको थियो ।
परदेशमा भोजन गर्ने स्थान
परदेश यात्राका क्रममा भोजन गर्ने स्थान पनि तोकिएको हुन्छ । पशुपतिबाट फर्पिङ जाँदा सानो गौचरण, फर्पिङबाट साँखु आउँदा शङ्खमूल, पनौतीबाट साँखु आउँदा बनेपा र नालाको मध्यभागस्थित भोखुसीमा र चाँगुबाट साँखु आउँदा साँखुमा भोजन गर्ने ठाउँ तोकिएको छ ।
परदेश यात्रामा चिउरा, सुन्तला, चाकु, घ्यू, चिनी, लप्सी, रातो मुला, अदुवा आदि बर्तालुले लानुपर्छ । नजिकका आफन्तले निराहार बसी दूध उमालेर लगिदिएमा खान हुने भोजन विधि रहेको साँखुका स्थानीय जयराम श्रेष्ठले बताउँछन् । परदेश यात्रामा बर्तालुका साथ स्वयंसेवक पनि हुन्छन् । ब्रतालुले खाली गोडा पैदल हिँडेर परदेश यात्रा गर्ने ब्रत विधि छ ।
माधवनारायण ब्रत कठोर ब्रतमध्येमा पर्छ । कठोर ब्रत भए पनि ब्रतालुले सहज रूपमा यसको अभ्यास गर्दै आएका छन् ।
प्रतिक्रिया