पत्रकार तथा लेखक राजेश खनालको संस्मरणात्मक कृति ‘घुरको धुवाँ’को दोस्रो संस्करण प्रकाशित भएको छ । हालै एक घरेलु कार्यक्रमका बीच निबन्धकार श्रीओम श्रेष्ठ रोदन, कवि छविरमण सिलवाल, कवि एवं पत्रकार सोमराज पोखरेल र खनालले पुस्तक सार्वजनिक गरेका थिए ।
पुस्तक सार्वजनिक गरेसँगै रोदनले पाठक बजार कम भएको अवस्थामा एक वर्षभित्रै कुनै पनि पुस्तकको दोस्रो संस्करण आउनु आफैंमा गौरवको विषय भएको धारणा राखे । उनले मधेसको कथा समेटेर प्रकाशित घुरको धुवाँ मधेसको घरघरको कथा भएको भन्दै यसभित्रका हरेक संस्मरणले मधेसको प्रतिनिधित्व गर्न सकेको बताए ।
कवि सिलवालले घुरको धुँवाले आञ्चलिकताको प्रतिनिधित्व गरेको सुनाए ।
यस पुस्तकमा खनालका तराई-मधेशकेन्द्रित १८ वटा संस्मरणहरू समावेश छन् । पुस्तकको दोस्रो संस्करण सुन्दर स्वदेश पब्लिकेशनले बजारमा ल्याएको हो । पुस्तकको मूल्य ३५० रुपैयाँ राखिएको छ ।
प्रतिक्रिया