एन.डी. प्रकाश र उहाँका डायरी : ऐतिहासिक अभिलेख

एन.डी. प्रकाश र उहाँका डायरी : ऐतिहासिक अभिलेख


नेपाली वाङ्मयको भण्डारमा डायरी अर्थात् दैनिकी लेखनविधाका पुस्तकहरू विरलैमात्र रहेका छन् । तिनमा वीपीको जेलडायरी निकै प्रसिद्ध छँदैछ । संयोगवश नेपाली काङ्ग्रेसकै अर्का स्मरणीय नेता स्व. एनडी प्रकाश चटौतले लेख्नुभएको एैतिहासिक महत्वको डायरीलाई डा. भुवनेश्वरीदत्त चटौत र श्रीमती मञ्जुदेवी चटौतले एनडी प्रकाश र उहाँका डायरी नामको वृहत आकारको पुस्तक प्रकाशनमा ल्याउनुभएको छ । सो पुस्तकको लोकार्पण २०८१ मंसिर ४ गते काङ्ग्रेस सभापति शेरदहादुर देउवाले गर्नुभएको छ ।

सो पुस्तकको पाठ्यसामग्री मात्रै पनि सातसय पृष्ठभन्दा बढी नै रहेको छ । एनडी प्रकाशको परिचय दिने क्रममा उहाँको सार्वजनिक जीवनका महत्वपूर्ण पक्षमा नेपाली पत्रकारिता क्षेत्रका सुपरिचित व्यक्तित्व वरिष्ठ पत्रकार हरिहर विरहीले भूमिकाका रुपमा अँध्यारो आकाशको ध्रुवतारा भन्ने शीर्षकमा सुवोधगम्य सारांश दिनुभएको छ । यस्तै पुस्तकका लेखक डा. चटौतले एनडी प्रकाशका बारेमा जानकारी दिने क्रममा बहुमुखी प्रतिभाका धनी स्व. एनडी प्रकाशले देशमा सामाजिक जागरण र नागरिक हक अधिकारका लागि प्रजातान्त्रिक आन्दोलनमा लागेर वि.सं. २००६ सालदेखि १४ सालसम्म दिएको योगदानका बारेमा संक्षिप्त चर्चा गर्नुभएको छ ।

यस क्रममा डडेल्धुरामा चटौत वंशको परिचयदेखि उहाँको संयुक्त परिवारको परम्परादेखि लिएर उहाँका पिताको राणाशासन कालको खरीदारको जागिरको र वि.सं. १९८७ सालमा उहाँ मूल परेर जन्मेपछिका उहाँका कठिन बाल्यकालका कुरा पनि छन् भने १२ वर्षमै ९ वर्षकी कन्यासँग विवाह भएको, उहाँको सामाजिक सुधारका काममा रुझान बढेको, १२-१३ वर्षको उमेरमै ८/९ दिन हिँडे पुगिने अल्मोडामा माध्यमिक शिक्षा लिन शुरु गरेको, त्यही बाल्यकालमै पिता र पत्नीको देहान्तको पीडा भोग्नुपरेको तर उहाँमा विद्यालयको पढाइमात्र होइन बाहिरका साहित्य र सामान्य ज्ञानका पुस्तक पढ्ने रुचि र क्रम बढेको कुराहरु उल्लेख भएका छन् ।

भारतबाट म्याट्रिक पास गरेपछि २००५ साल चैतमा उहाँ काठमाडौं आएर ००६ सालको प्रारम्भमा त्रिचन्द्र कलेजमा भर्ना हुनुभएछ त्यसै वर्षदेखि नै नेपाली कांग्रेसको निकटमा रहेर प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुन थाल्नुभएको रहेछ । प्रजातन्त्रकै लागि पढाइ छोडेर एनडी पार्टीको काममा लाग्नुभयो । नवलपरासी भैरहवा र सुदूरपश्चिममा उहाँले नेपाली कांग्रेसको लागि यति बलियो संगठन खडा गर्नु भयो कि आजसम्म पनि ती क्षेत्रमा जनताले कांग्रेसलाई मात्रै विश्वास गरेर मत दिने गरेका छन् ।

एनडी प्रकाश सबभन्दा कम उमेर २६ वर्षमै कांग्रेस केन्द्रीय र्कासमितिमा पुगेर पार्टीको हाइकमाण्डलाई पनि कार्यदिशा दिन र सिद्धान्त तथा विचारबाट विचलित हुन नदिनमा अग्रणी व्यक्तित्व बन्न सफल हुनुभएको कुरा उहाँबारे पुस्तकमा अभिमत प्रकट गरेका देशका अग्रणी नेता र बुद्धिजीवीहरूले उल्लेख गरेको पाइएको छ । एनडी प्रकाशको पार्टी कामकै सिलसिलामा सिमराबाट काठमाडौं आउने क्रममा २०१४ साल चैत ११ गते हवाई दुर्घटनामा परेर २७ वर्षकै उमेरमा निधन भएको थियो ।

तर यो पुस्तकको महत्व एनडी प्रकाशको जीवनीको विशेषता र उहाँको योगदानमा प्रकाश पार्नुमा मात्र प्रकट भएको छैन, बरु उहाँले २४ माघ २००३ देखि २०१४ को पुस १७ गतेसम्म निरन्तर लेख्नुभएका दैनिकी (डायरी)मा रहेको छ । यद्यपि उहाँले लेखेको सन् १९५४ (२०१० पुसदेखि ०११ पुससम्म)को डायरी लेखिए पनि लेखकले प्राप्त गर्न नसकेको भन्ने बताइएको छ । त्यसै पनि लगातार १० वर्षसम्म नविराई दैनिकी लेख्नु चानचुने अध्यवसाय होइन, त्यसमाथि पनि देशको सबभन्दा ठूलो पार्टीको, सवभन्दा पुरानो दलको बाल्यावस्थाको नेतृत्व वर्गको नजिक रहेको व्यत्तिले लेखेको दैनिकीको देशको राजनीतिक इतिहासमा अकथनीय महत्व रहनु स्वाभाविक हो ।

अनेक आरोह-अवरोहबाट गुज्रेको पार्टी हुनाले यसका प्रारम्भिक कालका दस्तावेज अप्राप्य हुनु स्वाभिाविक हो । नेपाली कांग्रेसको इतिहास लेखन नभएको होइन तर दस्तावेजका आधारमा सोपार्टीको इतिहास लेख्न इतिहासकारहरुलाई अभिलेखहरु नष्ट भएका वा उपलब्ध नभएका अवस्थामा एनडीको डायरीले अवश्य नै ठूलो मद्दत पुऱ्याउँछ । नेपाली काङ्ग्रेसमा प्रारम्भिक अवस्थामा क-कसले कति योगदान गरेका थिए, कसले स्वार्थवश काम गरेका थिए, कसले मरिमेटेर काम गरेर पार्टीलाई बलियो बनाए भन्ने कुरा उहाँको डायरीबाट अहिलेको पुस्ताले बुझ्न सक्तछ । जस्तो १६ मंसिर २००८ को डायरीमा उहाँले लेख्नुभएको छ- सुन्दरराज चालिसेजीकहाँ पुगेँ । वार्तालाप भयो । नेकाभित्र चलिरहेको पेसोपेस गुटबन्दी विषयमा ज्ञात गरेँ । २१ मंसिरको डायरीमा लेख्नुहुन्छ- किसुनजीको डेरामा उहाँको अनुरोधमा गएँ । हाइकमाण्डको खिचातानीप्रति खेदप्रकट गर्दै झपारेँ । हुन पनि त्यसबेला कांग्रेस पार्टीका नेता, हाइकमाण्डमा रहेका वीपी कोइराला, मातृका कोइराला, सुवर्ण समशेर, सूर्यप्रसाद उपाध्याय, गणेशमानसिंह र किसुनजी डा. गिरीलगायतका नेताको दैनिक दिनचर्या, भूमिका, आनिवानीका बारेमा त उहाँको डायरीबाट थाहा हुन्छ नै, उहाँले राजा त्रिभुवन र राजा महेन्द्रको समेत कस्तो वानी थियो, के-कस्तो विचार राख्थे भन्ने जानकारी दिनेगरी दैनिकी लेख्नुभएको छ । यो कसैले संकलन गर्न सक्ने र नभ्याउने अभिलेख हो उहाँको डायरीमा ।

विभिन्न व्यक्तिका शब्दचित्रका अतिरिक्त त्यसबेलाको सामाजिक चालचलन, मेलापर्बको अवस्था, आवागमनको अवस्था, जनजीवनको झलक र आर्थिक गतिविधिका बारेमा पनि जानकरी मिल्दछ । पश्चिमका विद्रोही नेता भीमदत्तपन्तको बारेमा त उहाँको विश्लेषण अत्यन्त सटीक रहेको छ । भीमदत्तले चलाएको पेस्तोल नै उहाँको रहेछ । स्वयम् एनडीको मनोभाव, छट्पटी, इमान्दारिता, प्रभाव र संगठनकुशलता आदि त शिक्षप्रदरुपमा नै डायरीबाट प्राप्त गर्न सकिन्छ ।

यसप्रकार यो २०८१ सालमा प्रकाशित भएको यो एनडी प्रकाश र उहाँको डायरी भन्ने पुस्तक विधागत रुपमा मात्र होइन, ऐतिहासिक सामग्रीको अभिलेखका रुपमा पनि उपयोगी विशेषताले भरिएको छ ।

पुस्तकको नाम : एनडी प्रकाश र उहाँका डायरी
संयोजन : डा भुवनेश्वरीदत्त चटौत
प्रकाशक : श्रीमती मञ्जुदेवी चटौत
व्यवस्थापन : भरत कोइराला
ठेगाना : कामनपा-३१ मिलनचौक, वानेश्वर
मूल्य रु : ७००

  • नवीन उप्रेती