सफल कूटनीतिका पर्याय मोहनकृष्ण

सफल कूटनीतिका पर्याय मोहनकृष्ण


जतिसुकै योग्य वा क्षमतावान भए पनि खुवीअनुसारको जिम्मेवारी पाउन राजनीतिक दलको कार्यकर्ता हुनैपर्छ, कुनै ‘वाद’को पछाडि लाग्नैपर्छ या नेताहरूको चाकडी र नगदको चलखेल गर्नैपर्छ भन्ने धारणा हामीकहाँ व्याप्त छ । कैयन असान्दरि्भक र अक्षम व्यक्ति पनि दलको अन्धभक्त कार्यकर्ता भएको आधारमा या नेता रिझाउन र ‘दान-दातव्य’को चलखेल गर्न पोख्त भएकै कारण महत्त्वपूर्ण ओहोदा ओगट्न सफल भएका उदाहरण प्रशस्तै देखिएका आधारमा उपरोक्त धारणालाई अस्वीकार गरिहाल्न पनि सकिन्न । एक किसिमबाट यस्तो प्रवृत्तिले हामीकहाँ एउटा परम्पराकै रूप लिइसकेको छ भन्न सकिन्छ । तथापि, यसका अपवादहरू नभएका पनि होइनन् । परराष्ट्र मन्त्रालयअन्तर्गत शिष्टाचार महापालको जिम्मेवारी सम्हाल्दै आउनुभएका सहसचिव मोहनकृष्ण श्रेष्ठ यस्तै अपवादहरूमध्येका एक हुनुहुन्छ जो हालै नेपाल सरकारद्वारा फ्रान्सका लागि नेपाली राजदूत नियुक्त हुनुभएको छ ।
लोकसेवा पास गरेर ०३९ साल चैत महिनामा शाखा अधिकृतका रूपमा परराष्ट्र सेवामा प्रवेश गर्दा नै मोहनकृष्ण श्रेष्ठले राजदूत बनेर देशको सेवा गर्ने अठोट अन्तरहृदयदेखि नै गरिसक्नुभएको थियो । कुनै कुराको अठोट गर्दैमा या चाहना राख्दैमा त्यो प्राप्त गर्न सकिन्न, त्यसका लागि आवश्यक ज्ञान हासिल गर्नु, मिहिनत, धर्ैय र इमानदारीपूर्वक कर्तव्यपरायणता दर्शाउनु त्यत्तिकै आवश्यक हुन्छ भन्ने पनि उहाँलाई त्यसैबेला बोध भएको थियो । त्यसैबाट प्रेरित भई अर्थशास्त्र र राजनीतिशास्त्रका विद्यार्थी भएर पनि विभिन्न भाषा सिक्ने, कूटनीतिक क्षेत्रका लागि आवश्यक ज्ञान र व्यवहार बुझ्ने, विभिन्न मुलुकको इतिहास बुझ्ने, फुर्सद मिल्नेबित्तिकै अन्तर्राष्ट्रिय राजनीति, आर्थिक कूटनीतिलगायत यावत् विषयक पुस्तकहरू पढ्ने आदत बसाउनुभयो मोहनकृष्णले । यतिमात्र होइन, कूटनीतिक सेवामा रहने व्यक्तिको बोली-व्यवहार अत्यन्त शिष्ट, अनुशासित, कसैलाई नबिझाउने, मित्रवत् हुनुपर्छ भन्ने बुझाइकै कारण उहाँले अन्य कुरामा मन नडुलाई सोही आचरणमा आफूलाई ढाल्नुभयो । फलत: परराष्ट्र सेवाका विभिन्न चरणहरूबाट उकालो लाग्दै उहाँ आज आफ्नो लक्ष्य छुँदै हुनुहुन्छ । सरकारी सेवामा दर्शाएको निष्ठा र वहन गरेको जिम्मेवारीकै कारण मोहनकृष्णले फ्रान्सजस्तो विश्वमञ्चको प्रभावशाली र समृद्ध मुलुकका लागि नेपाली ‘दूत’को महत्त्वपूर्ण कार्यभार पाउनुभएको छ ।
आमा शकुन्तला र बुबा चन्द्रबहादुर श्रेष्ठका नौमध्ये चौथो सन्तानका रूपमा काठमाडौंको त्यौडा (असन)मा जन्मनुभएका मोहनकृष्ण श्रेष्ठले पाँच दशक उमेर काटिसक्नुभएको छ । नघलस्थित प्रभात मिडिल स्कुल हुँदै जुद्धोदय माविबाट चौबीस सालमा एसएलसी पास गर्नुभएका श्रेष्ठको बाल्यकाल रमाइलोसँग बित्यो । बाल्यकालदेखि नै साथीभाइ प्रशस्त थिए उहाँका । त्यतिखेरको समय अर्कै थियो, अहिलेजस्तो विकास र प्रविधिसम्पन्न नभएकोले साथीभाइसँग सडकमा खेल्ने, कुद्ने गरेरै बित्यो मोहनकृष्णको बाल्यकाल । खाने-खेल्ने उमेरमा कुनै नमिठो-नराम्रो अनुभूति गर्नुपरेको यतिबेला कुनै सम्झना छैन उहाँलाई । नेवारी र वाणिज्यशास्त्रमा स्नातक गरेपछि उहाँलाई लाग्यो- आफ्नो सांस्कृतिक भाषा भनेर माया लागे पनि तत्कालीन परिवेशमा नेवारी भाषाको दायरा सानो छ । त्यसपछि उहाँले राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गर्नुभयो । अठार वर्षकै उमेरमा पिताको छत्रछायाबाट टाढा हुनुपरेपछिचाहिँ उहाँको जीवनमा मोड आयो । विभिन्न प्राइभेट र्फमहरूमा उहाँले काम गर्नुपर्‍यो । यसै पनि राजनीतिक क्रियाकलापमा रुचि थिएन, त्यसपछि त झन् दायाँबायाँ अनावश्यक विषयतर्फ ध्यान दिने फुर्सद पनि भएन उहाँलाई । यसैक्रममा विश्वभाषा क्याम्पस भर्ना भई उहाँले फ्रेञ्च भाषा सिक्न थाल्नुभयो । पछि स्पेनिस, जापानी, थाई भाषाको ज्ञान पनि लिनुभयो मोहनकृष्णले । अन्यत्रको जागिरले चित्त नबुझेको र देश-विदेश घुम्ने सानोदेखिको रहर परराष्ट्र मन्त्रालयमा प्रवेश गर्नसके पूरा हुन सक्ने हिसाब लगाएर उहाँले लोकसेवा लड्नुभयो । भनसुन गर्ने या गराउने न उहाँको सोच थियो न त कुनै त्यस्तो पहुँच नै । बिनासोर्स-फोर्स मिहिनेत र योग्यताकै माध्यमबाट उहाँ शाखा अधिकृत छानिनुभयो । त्यसपछि उहाँको सरकारीसेवा-जीवन सन्तुलित गतिमा अघि बढिरह्यो । राष्ट्रभाषा नेपालीलगायत फ्रेन्च, स्पेनिस, अङ्ग्रेजी, जापानी, हिन्दी, नेवारी, थाई भाषाको ज्ञान आर्जन गर्नुभएका मोहनकृष्ण ‘भाषा’सँग एउटा बेग्लै किसिमको जादु हुने कुरामा विश्वास राख्नुहुन्छ । कुनै पनि देशका मानिससँग यदि उसैको भाषामा कुरा गरिदिने हो भने उसमा पैदा हुने खुसी अतुलनीय हुन्छ, यसले मित्र र मित्रता बढाउन अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्छ भन्नुहुन्छ मोहनकृष्ण । त्यसमाथि कूटनीतिक क्षेत्रमा लागेको व्यक्तिका लागि त विविध भाषाको ज्ञान बरदान नै सावित हुने उहाँको ठहर छ । भाषा-ज्ञानलाई यति महत्त्व दिनुहुने मोहनकृष्ण विभिन्न अन्तर्राष्ट्रिय भाषामा दखल भएकै कारणले मात्र आफू आजको स्थानमा आइपुगेको भन्नेचाहिँ ठान्नुहुन्न । तोकिएको दायित्व निर्वाहमा अल्छी नगर्ने र सकभर सेवाग्राहीले नबिर्सने शैलीमा काम गर्ने, आफ्नो र अर्कोमा भेद नगरी सेवा दिने व्यवहारले नै आफूलाई सफलता र सन्तुष्टि दिलाएको उहाँको विश्वास छ ।
जिस्सरकारी सेवालाई महत्त्वपूर्ण र विशेष जिम्मेवारी ठान्ने उहाँ परराष्ट्र (कूटनीतिक) सेवामा रहनेहरूले त झनै गम्भीरताबोधका साथ कर्तव्य निर्वाह गर्नुपर्ने बताउनुहुन्छ । त्यसका लागि आफूसँग विशेष क्षमता, प्रचलित अन्तर्राष्ट्रिय भाषाहरूको ज्ञान, संसारका विभिन्न देश वा स्थानबारे जानकारी भए सुनमा सुगन्ध हुने उहाँको ठहर छ । यही बुझेर नै जतिबेला जुन विषयका पुस्तक पाए पनि पढिहाल्ने बानी मोहनकृष्णमा बस्यो, जो हालसम्म पनि कायमै छ ।
एक वर्षअघि (०६६ जेठ १२) मात्र सहसचिवमा बढुवा भई शिष्टाचार महापालका रूपमा नौ महिना काम गरेपश्चात् आफूलाई सरकारले राजदूत नियुक्त गरेकोमा कृतज्ञ भाव प्रकट गर्ने मोहनकृष्ण श्रेष्ठले यसअघि सन् २००६ को सेप्टेम्बरदेखि जुन २००८ सम्म संयुक्त अरब इमिरेट्समा कार्यवाहक राजदूतको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । अबुधाबीमा रहेर काम गरेको १५ महिनाको अवधिमै उहाँले निकै महत्त्वपूर्ण काम गरेर त्यहाँ काम गर्ने नेपालीजन र सरकारलाई पनि विशेष प्रभावित तुल्याउनुभयो । दुबई जाँदा उहाँले दुईवटा काम गरिछाड्ने सङ्कल्प गर्नुभएको थियो- एक, युर्एइसँग श्रम सम्झौता गर्ने र अर्को युर्एइबाट सीधा हवाईसेवा सञ्चालन गराउने । यी दुवै काम उहाँले आफ्नो छोटो कार्यकालमा सम्पन्न गर्नुभयो । त्यहाँ काम गर्ने डेढ लाखजति नेपालीका लागि कार्यरत ३०-४० वटा सामाजिक संस्थाहरू र दुबई सरकारका कतिपय मन्त्री, प्रशासकहरूसमेतबाट मोहनकृष्णको काम गर्ने सोच-शैलीको प्रशंसा भयो । नेपालबाट अरब राष्ट्र पुग्ने सबै नेपाली ‘अनस्किल’ भन्ने अवधारणा परिवर्तन गराई ‘नेपालमा स्किल पर्सनहरू पनि छन्’ भन्ने धारणा स्थापित गर्न निर्वाह गर्नुभएको भूमिकाका लागि त्यहाँका नेपाली अहिले पनि उहाँलाई सम्झन्छन् । पाइलट, एयरहोस्टेज, होटल म्यानेजर, सेक्युरिटीका हाकिम, आईटी इञ्जिनियरजस्ता पेसामा महिनाको १०-११ लाखसम्म तलब खाने नेपाली त्यहाँ पुगेका उल्लेख गर्दै मोहनकृष्ण भन्नुहुन्छ, ‘आर्थिक रूपले सम्पन्न युर्एइ नेपालीप्रति एकदम सकारात्मक सोच राख्छन्, नेपाली मिहिनेती हुन्छन् भन्ने बुझाई छ त्यहाँ । अत्यन्तै सकारात्मक प्रतिक्रिया हासिल गरेर नेपाल फर्किएको थिएँ म ।’
यसैगरी जापानमा पनि काउन्सिलर र कार्यवाहक राजदूतका रूपमा काम गरेको अनुभव उहाँसँग छ । जापानमा नेपाली चिया, पस्मिनाजस्ता सामग्रीहरूको प्रमोट गर्ने श्रेय मोहनकृष्णलाई नै जान्छ । ‘संसारका प्रत्येक मानिसलाई महत्त्व दिन जान्नुपर्छ त्यसबाट राम्रो प्रतिफल पाइन्छ’ भन्ने मान्यता बोक्नुहुने उहाँले हालसम्म भ्रमण गरेका ६१ मुलुकमा नेपाल र नेपालप्रति दुर्भावना राख्ने कोही भेट्नुभएको छैन । नेपालीप्रति सबै सकारात्मक छन् तर हामीले आफैंलाई चिन्न र सोअनुरूपको व्यवहार गर्न सकिरहेका छैनौँ भन्ने उहाँको ठम्याइ छ । एक सय ६० वर्ष पुरानो सम्बन्ध र ६१ वर्षको दौत्य सम्बन्ध गाँसिएको फ्रान्सजस्तो मुलुकका लागि नेपाली राजदूतको ओहोदा केही वर्षदेखि रिक्त रहनुलाई दु:खद् विषय ठान्ने मोहनकृष्णले दुई देशबीचको सम्बन्धमा प्रगाढता थप्न भएभरको क्षमता र मिहिनेत लगाउने अठोट गर्नुभएको छ । आर्थिक कूटनीतिको जमाना सुरु भएको स्मरण गराउँदै उहाँ भन्नुहुन्छ, ‘आर्थिक कूटनीतिको समय हो यो । आफ्नो देशको क्षमताअनुसारको व्यापार गरेर लाभ आर्जन गर्नु नै आर्थिक कूटनीतिको अर्थ हो । यो बुझेर यसअनुसार परिवर्तन आउनुपर्छ हामीकहाँ, आइरहेको पनि छ । सरकारले निजीक्षेत्रलाई विश्वासमा लिएर काम गर्नुपर्छ र निजी क्षेत्रले पनि राष्ट्रहितलाई हृदयमा राखेर व्यवसाय गर्नुपर्छ । नेपालबाट अहिले पनि फ्रान्समा एक अर्ब १४ करोडको निर्यात भइरहेको छ, अब निजीक्षेत्र पनि सक्रिय हुनुपर्छ र म पनि विशेष तदारुकता देखाउँछु । नेपाली समान दोब्बर-तेब्बरको परिणाममा निर्यात गराउन सकिए त्यसको सोझो सकारात्मक प्रभाव यहाँको उत्पादन र रोजगारीमा पर्छ, सामान बढी उत्पादन गर्नुपर्ने भएपछि रोजगारी बढ्छ, मुलुकले राम्रो प्रतिफल पाउँछ ।’ आफूलाई ‘एक्सन ओरियन्टेड’ व्यक्ति भन्न रुचाउने उहाँ कुरा मात्र नगरी कुरालाई व्यवहारमा उतार्न आफू पनि प्रयत्न गर्नुहुन्छ र अरूलाई पनि प्रेरित गर्नुहुन्छ । ‘पोजेटिभ थिङ्क गरौँ, कसैप्रति दुर्भावना नराखौँ, राम्रो गर्न नसके कुनै नराम्रो मति पनि प्रदर्शन नगरौँ’ भन्ने कुरालाई मन्त्रकै रूपमा ग्रहण गर्नुहुने मोहनकृष्ण कहिल्यै कसैप्रति अशिष्ट नरहँदा-नरहँदै पनि ‘पद शिष्ट बोली अशिष्ट’ भनी प्रतिक्रिया जनाउने व्यक्ति फेला पर्नुलाई दु:खद् आश्चर्य ठान्नुहुन्छ । आफू कलिलै उमेरमा रहँदा अचानक बुबाको मृत्यु भएको घटना नै उहाँका लागि जीवनको र्सवाधिक दु:खद् अनुभूति हो भने सन् १९९७ मा एकपटक कोलम्बियाबाट न्युयोर्कतर्फ उड्दा प्लेनमा आएको गडबडीले ‘जीवन यति मात्रै रहेछ’ भनी सोच्नुपरेको त्रासदीपूर्ण क्षणलाई पनि उहाँ स्मरणीय दु:खद् सन्दर्भ ठान्नुहुन्छ । बाँकी प्रत्येक पल उहाँका निम्ति सुखकारी छन् । साथीभाइ प्रशस्तै छन् उहाँका, जीवनसंगिनी सजना र एक मात्र छोरीसहितको सानो अत्यन्त सुखी परिवार छ उहाँको । स्वाभिमानमा बाँच्नुपर्छ भन्ने मान्यतामा अडिएका मोहनकृष्ण ठूलालाई आदर र सानालाई स्नेह गर्न रत्तिभर कञ्जुस्याइँ गर्नुहुन्न भने गलत काम-कुराको प्रभावमा कदापि नपर्ने उहाँको अठोट छ । ‘जीवनमा सबैलाई खुसी पारेँ भन्न त नसकँुला तर सकभर आफूले कसैलाई नराम्रो गर्दिनँ, गरेको छैन’ भन्ने दाबी छ उहाँको । जनताको करबाट तलब खाने कर्मचारीले देश र जनताको सेवामा कत्ति कसर राख्नुहुन्न नत्र भार लाग्छ भन्नुहुने उहाँ विपत्तिमा पनि धर्ैय र लगन छोड्न नहुने मान्यताका पक्षपाती हुनुहुन्छ ।
मुलुकको परराष्ट्रसम्बन्धी अनेक तहका भूमिकामा स्वदेश तथा विदेशमा सफलतापूर्वक जिम्मेवारी निर्वाह गरेको अनुभव संगाल्नुभएका देशभक्त राष्ट्रसेवक मोहनकृष्ण श्रेष्ठ आफ्नो कार्यकालमा फ्रान्ससँगको सम्बन्ध र यसका आयामहरूमा थप सकारात्मक काम हुनेमा विश्वस्त हुनुहुन्छ । त्यो सफलता उहाँलाई मिलोस्, जसबाट नेपाल र नेपालीको हित प्रवर्द्धन होस् भन्ने कामना हामी पनि गरौँ । -जयप्रकाश त्रिपाठी