चिहानबाट उठेको कवि !

चिहानबाट उठेको कवि !


प्रवासको पट्यारलाग्दो जिन्दगीमा
नुन चिनी र अमिलो हालेर साँधेको
एक बटुको चियाजस्तो झोल
बिना श्रमको त्यो तरल पिउँदा
पसिना पिएजस्तो लाग्छ ।

तथापि, अनुभव गर्ने कुराहरु धेरै छन् यहाँ
ती अनुभवमा यात्राले अनुभूति दिन्छ
मान्छे भनेर नलेखिएका
आगोले जस्तै विभेदको तातोले जलेका
थुप्रै बस्तीहरु घुम्ने मन छ ।

ती बस्तीका कथामा भेटिएका
रंगभेदले थिलोथिलो भएका
आप्रवासीहरुलाई भेटेर
वोर्द्स्वोर्थकी लुसिलाई झैँ चुम्बन गर्ने मन छ,
पीडितहरुले गुनगुनाउने
मान्छेको हृदयका गीत लेख्ने मन छ।

कवितामा आँशुले रुझेका
ती मायालु परेलीहरुलाई
वाल्ट ह्विटम्यानले झैँ
शब्दहरुको करेलीमा बेरेर चुम्ने मन छ ।

आममान्छेका भावना गाउने पाउल सिमोनहरु हुन् वा
नोम चोम्स्की र मिलर नै किन नहुन्
रातभरि ओच्छ्यानमा पल्टाएर
रतीको आनन्दमा स्वर्ग पिए झैं
घुटु घुटु पिउने मन छ।

मलाई म जस्तै आप्रवासीहरुको मझेरीमा
निकोला साक्को र बार्तोलोमियोहरुलाई बोलाएर
गितारको मसिनो धुनमा
उनीहरुको रगत मेरा शरीरमा बगाउने मन छ।

म उनीहरुसंगै विद्युतीय कुर्सीमा बसेर
उनीहरुकै लयका कविता बाली
लयहरुको सुखद दर्द पिएर
उनीहरुसंगै मर्न मन छ।

म रंगभेद विरुद्ध मार्टिन लूथरले हिँडेको गोरेटोमा
उनीहरुकै रगतले पोखिएको बाटोभरि
अजम्बरी पहाडका भाकाहरु घन्काउँदै
नेल्सन मन्डेला बन्ने रहर छ।

मलाई मिठेहरुको चाप्लुसी मन पर्दैन
मलाइ लोभी गिलासमा
ह्विस्कीको टोष्ट प्रस्ताव मन पर्दैन
त्यसैले मलाई निम्न कोटीको नठान ।

हो म बेपर्वाह कवि हुँ
झरनाको पानीजस्तै बाछिटो बनेर उड्ने
र फेरि खोलामै समाहित हुन खोज्ने
बेपर्वाह भएर पनि प्रवाहमा एकाकार हुन सक्ने ।

म त सोझै बोल्छु
भिडभित्रको जिद्दी मान्छे
साल्भाडोर एलेन्डे जस्तै कठोर
सदियौँ पुरानो बरफ जस्तै कडा
तर हिउँ जस्तै नरम बनाउन मिल्ने कवि ।

मैले धेरै चरम यातना सहेको छु जीवनमा
मर्न पनि किन डराउनु र ?
एक स्वाभिमानी आतंकित जस्तै
हेपाइलाई झेल्न मलाई गाह्रो छैन
किनकि म चिहानबाट उठेको कवि हुँ ।

मेरो मुटुमा उज्यालो आशाको
अजम्बरी किरो पलाएको छ
स्वतन्त्रताप्रेमीहरूको रगतभित्र जस्तै
सगरमाथाको टाकुरामा बस्ने हिउँकिरो।

कसैलाई हाम्रो स्वतन्त्रता मन पर्दैन भने
ठीक छ त ! मलाई पनि कसैसँग हात मिलाउनु छैन
हात नै मिलाउनुपरे म स्वतन्त्रताप्रेमीसँग मिलाउँछु
इटालीको टस्कनीका पहाडहरू हिँडेर नथाक्ने
र काला तथा गोरा किसानहरुको कविता कोर्छु ।

घुँडा टेक्नै परे स्वाभिमानीसंग झुक्नेछु
हेपाहाहरुको अगाडि नझुक्ने मान्छे हुँ म
तिमीले समातेर झुक्न नलगाउ मलाई
थाम्न सक्ने छैन त्यो अजंगको भार
सिङ्गै सभ्यता साहस बनेर उभिने छ मेरो समिप
र, कलमले मानवताको कविता कोर्नेछ !