- घटना र विचार सम्वाददाता
सबै मानिसको जीवन दुःख र सुखको एउटा रोचक कथा हो, सबैलाई आफूलाई प्राप्त सुख सानो लाग्छ र भोगेको दुःख ठूलो ! कति मानिस अर्काको वियोगान्त जिन्दगीलाई अक्षरमा उतारेर महान साहित्यकाररलेखक आदि बनेका छन् भने कतिले आफ्नो मपाइत्वको वर्णन गर्न पनि किताब लेखाएका छन् । तर ईश्वर पोखरेलले एउटा यस्तो कृति देशलाई दिनुभयो, जो सबै नेपालीका निम्ति प्रेरणा र शिक्षाको एउटा दिब्य श्रोत हुनसक्छ ।
ईश्वर पोखरेल एक विशिष्ट नेताका रूपमा स्थापित हुनुहुन्छ । सधै शान्त र शिष्ट देखिने उहाँको ब्यक्तित्व अन्य नेताहरूको भन्दा कैयन अर्थमा भिन्न देखिन्छ । २०६१ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल हुनुअघिसम्म ईश्वर पोखरेलको सार्वजनिक छविमा कुनै दाग थिएन, एउटा ठूलो सम्भावना बोकेका नेताको रूपमा उहाँलाई लिइन्थ्यो । तर, त्यसपछिका दिनमा ईश्वरको बदख्वाइँ सुरु भयो, उहाँले ‘प्रशंसक’सरह नै ‘आलोचक’ पनि आर्जन गर्नुभएको छ ।
हो, नेपालमा आलोचना या गालीका निम्ति योग्य हुन कसैले कुनै गल्ती नै गर्नुपर्छ भन्ने होइन, बस ! कसैले नकारात्मक चर्चा सुरु गरिदिनुपर्छ, दार्शनिक रूपचन्द्र बिष्टको भाषामा ‘धुमधाम फैलिएर जान्छ । नकारात्मक र झुठ बढी मन पराउने नेपाली समाजको चरित्र छ ।’ रूपचन्द्र बिष्ट आफै पनि नकारात्मक प्रचारबाजीको सिकार हुनु परेपछि जनताप्रति गम्भीर गुनासो र टिप्पणी गर्दै देह त्याग गर्ने निर्णयमा पुग्नुभएको थियो । एकताक ईश्वर पोखरेलले पनि यस्तै नकारात्मक प्रचारको सिकार बन्नुपरेको थियो । यिनै ईश्वरले ‘आमा सपना र ताराहरू’ शीर्षकमा जुन पुस्तक सार्वजनिक गर्नुभएको छ, त्यो उहाँको आफ्नै कथा-ब्यथा हो, एउटी आमाको दुःखभरी जिन्दगी हो ।
आमाप्रतिको चरम समर्पण भाव बोकेर पुस्तक बजारमा आएको छ । आमा वास्तवमा के हुन् र आमाप्रतिको ममताभाव कुन हदसम्म गहिरो हुन्छ भन्ने कुराको महसूस यस पुस्तकले गराउँछ । ईश्वर पोखरेलले जिन्दगीमा भोग्नुभएको पीडाको सङ्ग्रह त यो बनेकै छ, प्रजातान्त्रिक आन्दोलनका दर्मियानमा तत्कालीन युवाहरू कस्तो निष्ठा र समर्पणभावका साथ अँध्यारो र अनिश्चित यात्रामा निश्चित विश्वासका साथ निस्किएका थिए भन्ने पनि पुस्तकले छर्लङ्ग पारिदिएको छ । एघार वर्ष पूरा नहुँदै विवाह गरिएकी उहाँकी आमाले जिन्दगीभरीमा जम्मा दुईपटक मात्र माइतीको आँगन टेक्न पाउनुभएको रहेछ ! त्यसरी माइती जान नपाएको सन्दर्भमा छोरालाई आमाले दिएको मार्मिक जवाफ लेखिएको छ- ‘झ्यालखानामा परेपछि निस्कन नसकेजस्तै भयो बाबू ।’
कुल १४० पृष्ठको यो पुस्तकमा ईश्वर पोखरेलकी आमाले भोग्नु परेका पीडा, बुबाको निधनपछि उत्पन्न निराशा र गरिबी, राजनीतिक परिवर्तनका निम्ति समर्पित भएपछिका दुःख, छिमेकी मुलुक चीनको गुप्तयात्रा र त्यसको रोचक स्मरण, जेलयातना, पारिवारिक सङ्कट र बाल्यकालका कष्टपूर्ण भोगाइदेखि राजनीतिक परिवर्तन पछिका अनुभूतिसम्म समेटिएका छन् । पुस्तक धेरै घटना सन्दर्भको जानकारी गराउन समर्थ छ । तर ईश्वर पोखरेल स्वयम् र उहाँकी आमाले भोग्नुपरेको पीडाका पङ्क्तिले हर-कोहीलाई रुन बाध्य गराउने छ । पुस्तक पढ्दा आँसु रोक्न धेरै पटक अनेक कोसिस गर्नुपर्ने हुन्छ ।
हुनलाई यो ईश्वर पोखरेलको जीवन कथा नै हो, तर पढ्दा कुनै मार्मिक कथा या उपन्यास पढिरहेको भान हुन्छ। कतिले आफ्नो बिगतका बारेमा या आफ्ना बारेमा इमान्दारीका साथ पुस्तकमा प्रस्तुत हुन हिचकिचाएका हुन्छन् । आफू पहिलेदेखि नै राम्रो, असल र धनाढ्य परिवेशको ब्यक्ति भएको दर्शाउने काम धेरैले गरेका छन् । तर ईश्वर पोखरेलमा आफ्नो विगतप्रति कुनै हीनताबोध देखापर्दैन, उहाँले इमान्दारीका साथ पुस्तकमा आफ्नो वास्तविकता छर्लङ्ग पारिदिनुभएको छ ।
सामान्यतया कसैको निजी जीवनका सस्मरणात्मक पुस्तक पढ्न रुचि राखिन्न । नेपालमा पछिल्ला दशकहरूमा ज्यालामा आफ्नो बखान गराएर किताबको रूपमा प्रस्तुत गर्ने लहर चलेको र त्यस्ता किताबहरूमा आफूलाई साक्षात भगवानको ‘कान्छोभाई’का रूपमा प्रस्तुत गर्ने रोग फैलिएको हुनाले पनि सस्मरणात्मक पुस्तकको मूल्य सस्तिएको हुनुपर्छ । तर, ईश्वर पोखरेलको यो सस्मरणात्मक कृति विशिष्ट छ, यसको तुलना कुनैपनि अर्को कृतिसङ्ग हुन नसक्ने महसूस हरेक पाठकले स्वयम् गर्नेछन ।
आफ्नी आमालाई सानैदेखी ईश्वरले मेलापातमा कसरी सघाउनुहुन्थ्यो, बाघले घरमै आएर खोरको बाख्रा खादा आफू कुन स्थितिबाट गुज्रनुपरेको थियो, सख्त बिरामी भएका ईश्वरलाई आमाले लामा झाक्रीसम्म पुर्याएर कसरी बचाउनुभएको थियो, आमासङ्ग छुट्टिएर जानुपर्दा कस्तो पिडादायी अनुभूति भएको थियो, भूमिगत जीवनमा कति कष्टपूर्ण दिनहरू बिताउनुपरेको थियो, भोकले बेहोस हुँदा कसले-कसरी बचाएका थिए, आमासङ्गको बिछोडमा कसरी तड्पिनुपरेको थियो भन्नेदेखि भूमिगत अवस्थामा गुप्तबाटोबाट चीनको यात्रा गर्दा कस्ता कठिनाइहरूको सामना गर्नुपरेको थियो भन्ने सम्मका सस्मरण पढ्दा पटकपटक मन बाउँडिएर हैरान बनाउछ यो पुस्तकले !
पुस्तकले पाठकलाई जिन्दगी निष्ठाका साथ जिउनुपर्छ भन्ने सिकाउँछ, समाज र राष्ट्रप्रतिको दायित्व हरेकका निम्ति अपरिहार्य हुन्छ, तर यो बाटो सजिलो हुनेछैन भन्ने पाठ पढाउँछ । झिल्केगिरीको यो युगमा अहिलेका नेताहरू कुन हदसम्मका कष्ट ब्यहोरेर यहाँसम्म आइपुगेका रहेछन् भन्ने पनि पुस्तकले दर्शाउछ र अन्त्यमा, हरकोहीका निम्ति आमा नै ईश्वर/परमेश्वर हुन् भन्ने अनुभूति यो पुस्तकले गराउँछ । एउटा निकै गहकिलो पाठ्य सामाग्री प्रस्तुत गरेर हामी सबै नेपालीलाई ईश्वर पोखरेलले धेरै ठूलो गुन लगाउनुभएको छ, पढेपछि सबैले यस्तै महसूस गर्नेछन् ।
प्रतिक्रिया