पाकिस्तानमा सशस्त्र सशस्त्र लडाकुहरूले सयौं रेलयात्रुहरूलाई बन्धक बनाएका छन् । जफर एक्सप्रेस नामको यात्रुवाहक रेललाई सशस्त्र बन्दुकधारीहरूले नियन्त्रणमा लिएर यात्रुलाई बन्धक बनाएका हुन् । दक्षिण-पश्चिम पाकिस्तानमा बढ्दो हिंसाकै परिवेशबीच एउटा पृथकतावादी समूहले यो घटना गराएको छ । घटना मंगलबार (११ मार्च) दिउँसो १ः०० बजे ग्रामीण सिबी जिल्लाको स्टेशन नजिकै भएको हो ।
एएफपीले जनाएअनुसार अफगानिस्तान र इरानको सीमामा रहेको बलुचिस्तान प्रान्तको दुर्गम, पहाडी क्षेत्रमा रेल नियन्त्रणमा लिँदा लडाकुहरूले चालकलाई घाइते बनाएका छन् । “रेलमा रहेका ४५० भन्दा बढी यात्रुहरूलाई बन्दुकधारीहरूले बन्धक बनाएका छन्’, प्रान्तको राजधानी क्वेटाका एक वरिष्ठ रेलवे सरकारी अधिकारी मुहम्मद काशिफले भनेका छन्- ‘यात्रुमा महिला र बालबालिका पनि छन् ।’
आक्रमणको जिम्मेवारी बलुच लिबरेशन आर्मी (बीएलए)ले लिएको छ, जसले स्वतन्त्रताको लागि लडिरहेको छ । बन्दुकधारीहरूले रेलमा आक्रमण गर्नुअघि रेलवे ट्र्याकमा बम विस्फोट गराएका थिए ।
रेल नियन्त्रणमा लिएको सैन्य समूहले बन्धकहरूलाई उद्धार गर्ने प्रयास गरेमा डरलाग्दो परिणाम ब्यहोर्नुपर्ने चेतावनी दिएको छ ।
सिबीसँग जोडिएको क्षेत्रका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार रेल पहाडले घेरिएको सुरुङको ठीक अगाडि अड्किएको छ । सिबीका अस्पतालहरूमा आपतकालीन अवस्था लागू गरिएको छ । यो क्षेत्र पहाडी क्षेत्र हो, जसले गर्दा सशस्त्र बन्दुकधारीहरूलाई लुक्न र आक्रमणको योजना बनाउन सजिलो हुन्छ ।
प्रतिक्रिया