रङहरूको पर्व होली आज (१ चैत) तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ ।
मगर, थारू समुदायको बाक्लो बसोबास रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई विशेष महत्त्वका साथ मनाउने गरिएको छ । सबै प्रकारका भेदभावलाई भष्म गरी परस्परमा रङ हाल्दै सबैलाई रसरङ्गले तरङ्गित तुल्याउने होली उल्लास र रङ्गीचङ्गीको पर्वका रूपमा लिने गरिन्छ ।
प्राचीनकालमा वसन्तोत्सवका रूपमा स्थापित यो पर्व कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्ढा आदिका माध्यमले फागु, फगुवा, होली, होरी आदि नाउँबाट मनाउन थालिएको छ । रसरङ्ग, नाचगान, खानपिन, मनोरञ्जन र आफ्नो रङमा अरूलाई रङ्ग्याउने, ढोल, डम्फु, मृदङ्ग बजाउँदै भेदभाव, मनोमालिन्य त्याग्दै भ्रातृत्व भावना बढाउने यस पर्वको आफ्नै गरिमा छ ।
पहाडी जिल्लामा होलीको बिहीबार सार्वजनिक बिदा दिइएको भए पनि तराईका जिल्लामा आज सार्वजनिक बिदा दिइएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिएका छन् ।
‘अनुमतिबिना रङ दल्ने, लोला हान्ने, अनावश्यक होहल्ला गर्ने, झैझगडा गर्ने, अभद्र व्यवहार गर्नेलगायत गतिविधि गर्नेलाई कारबाहीको दायरामा ल्याउने छौँ’, उनले भनेका छन्, ‘अपरिचित मान्छेसँग होली नखेल्न, आत्मीय र आफन्तसँग मात्र हाली खेल्न, कसैको पनि इच्छाविपरीत रङ नदल्न, लोला हान्ने काम नगर्न, छाला तथा आँखामा असर पर्ने केमिकल रङको प्रयोग नगर्न, मादक पदार्थ एवं लागुपदार्थ सेवन गरेर सवारी नचलाउन, ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्न र कुनै आपराधिक घटना हुन लागेको थाहा पाएमा तुरून्त प्रहरीको हटलाइन १०० नम्बरमा सम्पर्क गर्न अनुरोध गर्दछौँ ।’
प्रतिक्रिया