हिमवतखण्ड कला-साहित्य सम्मिलनका सहभागीलाई प्रधानमन्त्रीको स्वागत

हिमवतखण्ड कला-साहित्य सम्मिलनका सहभागीलाई प्रधानमन्त्रीको स्वागत


प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भडारी कला-साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने ‘हिमवतखण्ड कला-साहित्य-संस्कृति सम्मिलन-२०८१’ का स्वदेशी र विदेशी सहभागीलाई स्वागत गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार (१ चैत) आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हिमवतखण्ड मानव सभ्यतासम्मको इतिहासको भूभाग भएकाले यस भूखण्डको कला-साहित्य-संस्कृतिलाई समेटेर अन्तरराष्ट्रिय स्तरको सम्मिलनको दोस्रो शृङ्खला आयोजना भएकामा खुसी प्रकट गरे । मौलिक संस्कृति नै नेपालीको जग भएको उल्लेख गर्दै उनले यस हिमवत भूखण्डबाट ज्ञान, योग, गणित, दर्शन र सभ्यताको प्रादूर्भाव भएको बताए । यी सबै ज्ञान र हाम्रा मान्यताको गम्भीर खोज र अध्ययन एवं अनुभव आदानप्रदान गर्न सहभागीलाई प्रधानमन्त्रीले आग्रह गरे ।

यही चैत ३ गतेसम्म काठमाडौंमा हुने सम्मिलनमा नेपाल, भारत, म्यान्मार, भुटान, चीन, थाइल्याण्डलगायत देशका गरी करिब पाँच सय स्रष्टाहरूको सहभागिता रहेको छ । नेपालबाहिरबाट ५८ जनाको सहभागिता रहेको छ ।

कार्यक्रममा प्राडा चुडामणि बन्धु, प्राडा माधवप्रसाद पोखरेल, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्टानका कुलपति निशा शर्मा, भारतको काशी हिन्दू विश्वविद्यालयका भारतीय भाषा विभागका अध्यक्ष प्राडा दिवाकर प्रधान, साहित्यकार कविता लामालगायत सहभागी थिए ।

सम्मिलनको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन भयो भने आइतबार प्रधानमन्त्री एवं प्रतिष्ठानका प्रमुख संरक्षक ओलीबाट समापन हुनेछ । सम्मिलनको पहिलो दिन हिमवतखण्ड साहित्यिक चलचित्र उत्सव, दोस्रो दिन हिमवतखण्ड बृहत् सांस्कृतिक उत्सव र तेस्रो दिन हिमवतखण्डका क्षेत्रका कविहरुको काव्य उत्सवको कार्यक्रम रहेको छ ।

सम्मिलनमा विभिन्न मुलुक तथा नेपालभित्रका सात प्रदेशका विद्वानहरुले गोष्ठीपत्र प्रस्तुत गर्ने क्रम सुरु भएको छ । यसअघि भानु जयन्तीका अवसरमा २०७५ असार २९ देखि ३१ गतेसम्म काठमाडौंमा यस प्रकारको पहिलो सम्मिलन आयोजना भएको थियो ।

photo: rss