अमेरिकी आक्रमणबाट यमनमा धेरै हुथी नेताको ज्यान गएको र इरानलाई विद्रोही समूह एवम् लाल सागरको जहाज यातायातमा हुने आक्रमणहरूलाई समर्थन बन्द गर्न ‘सूचित गरिएको’ ह्वाइट हाउसले जनाएको छ ।
‘शनिबारको हवाई आक्रमणले वास्तवमा धेरै हुथी नेतालाई लक्षित गरी उनीहरूलाई नष्ट गर्यो’, राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले एबिसी न्युजलाई प्रतिक्रिया दिँदै भनेका छन्, ‘हामीले उनीहरूलाई भारी बल प्रयोग गरेर प्रहार गर्यौँ र इरानलाई पर्याप्त छ भनेर सूचित गर्यौँ ।’
उनले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न ‘सबै विकल्पहरू टेबलमा छन्’ भन्ने अमेरिकी चेतावनी पनि दोहोर्याए ।
शनिबारको अमेरिकी आक्रमणहरूमा कम्तीमा ३१ जनाको मृत्यु भएको र एक सय एक जना घाइते भएको समूहको स्वास्थ्य मन्त्रालयले आइतबार (३ चैत) बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्केपछि यमनी विद्रोहीहरूविरुद्ध यो पहिलो आक्रमण थियो ।
एक दशकभन्दा बढी समयदेखि यमनको धेरैजसो भाग नियन्त्रणमा राखेको तेहरानसमर्थित समूहले इजरायल र संयुक्त राज्य अमेरिकाको कडा विरोध गर्दछ र जहाज यातायातमा आक्रमणहरू गाजामा इजरायलको युद्धको विरोधमा भएको बताएको छ ।
सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको आक्रमणले उत्प्रेरित गरेको युद्ध सुरु भएदेखि हुथीहरूले लाल सागर र एडनको खाडीमा जहाजहरूमा धेरै ड्रोन र मिसाइल आक्रमणहरू गरेका छन् ।
पेन्टागनले जनाएअनुसार सन् २०२३ देखि अमेरिकी युद्धपोतमा एक सय ७४ पटक र व्यापारिक जहाजमा एक सय ४५ पटक आक्रमण भएको छ । यसले सामान्यतया विश्व जहाज यातायातको लगभग १२ प्रतिशत ओसार्ने समुद्री मार्गमा ठूलो दबाब दिएको छ ।
पछिल्लो आक्रमणको घोषणा गर्दै शनिबार लामो ट्रुथ सोसल पोस्टमा ट्रम्पले हुथी नेताहरूलाई चेतावनी दिए, ‘तिमीहरूका आक्रमणहरू रोक्नुपर्छ, आजदेखि सुरु हुनुपर्छ, यदि तिमीहरूले त्यसो गरेनौ भने, तिमीहरूले पहिले कहिल्यै नदेखेको जस्तो नरक तिमीहरूमाथि बर्सिनेछ ।’
प्रतिक्रिया