✍ ई. नरोत्तम श्रेष्ठ
गजल-१
नेतृत्व गुम्यो, भूल भयो, अन्धो बने
देश टुक्रियो, रक्तपथमा बन्धक बने ।
शान्तिको गीत गाउँथ्यो त्यो भूगोल हिजो
आज जल्छ, कराउँछ, युद्धको केन्द्र बने ।
सपना सुन्दर सजाउने जोस थियो जहाँ
हेर, उनीहरू आज आफ्नै चिहान बने ।
विस्थापितहरू बगरझैँ बगिरहे त्यहाँ
भोलिका आशाहरू खरानी जल्न बने ।
राजनीति खेलौना, खेल्दै थिए कोही
भूगोल टुक्रिएपछि बेहोसीको छेउ बने ।
गजल-२
झिल्केगिरीको खेती रोक्नुपर्छ
नेता रोज्नुपर्छ बुझी, टेक्नुपर्छ ।
देश जल्छ, धुवाँसरि रुन्चे कथाहरू
माटो डढेको गन्ध सधैँ सुँघ्नुपर्छ ।
सत्ता बेच्नेले बेच्ला धरोहर भोलि
जाग अब, चेतनाको बीउ रोप्नुपर्छ ।
वीर भूमि यो, आँसु पोखेर बच्दैन
बिहानी ल्याउन दीप मनमा जल्नुपर्छ ।
नेतृत्व रोज्दा सोच्नैपर्छ गोप्य चाल
जोगाउन राष्ट्र, प्रेम रगतमा घुल्नुपर्छ ।
भ्रमको पर्खाल भत्काएर हिँड्नुपर्छ
शब्द भन्छ, बुद्धिले तौल तौल्नुपर्छ ।
गजल-३
देश जल्दैछ, सपनाहरू खरानी भए
ती नदीहरू रगतमा नुहानी भए ।
शान्ति खोज्न हिँडेका सबै बन्धक भए
आश खरियो तर आशा नै कहानी भए ।
युद्ध ल्याएर जलेर बगेका मनहरू
शोककै रङ्गमा ती तस्बिर पुरानी भए ।
नक्सा बद्लिए झरी विस्थापितहरू
घर जलाउन आफ्नै हात सलामी भए ।
सत्ताको मोहमा बिसेक पाएन घाउ
चुकजस्तै अँध्यारोका सती जानी भए ।
गीत भन्छ, बुझ्नुपर्छ अब सत्यहरू
इतिहास सम्झ, नत्र हामी नै बानी भए ।
गजल-४
लड्नुपर्छ सत्यका खातिर खरो भएर
टिक्नुपर्छ आँधिबेहेरी सहोदर भएर ।
गोलीसँग कञ्चन छाती भिडाउनेहरू
दासत्वलाई धिक्कार्छन् भलो भएर ।
सिमानामा साँचिएको छ तुफानभित्र
मेटिन सक्छ आशै छैन पखेटा भएर ।
भुल्दै छन् आफ्नै माटो, रगतका कथा
डगमगाउँछन् लालचले बहुला भएर ।
सिक्नुपर्छ राष्ट्रप्रेमको नयाँ पाठ
नझुक्ने, नडराउने, सागरझैँ भएर ।
गीत बोल्छ आँधीसँग लड्नुपर्छ
टेक्नुपर्छ मातृभूमि मियो भएर ।
गजल-५
शक्तिकेन्द्र खेलाउँछ यहाँ चाली
देश जल्छ, रगत बग्छ, खै सँभाली ?
भक्तिका मखुन्डो भिरे नेताले
बेचिदिए सपना, मागीढोली ।
घाम छेक्छ बादलभित्रको बन्चरो
बाँच्न खोज्दा आकाशले नै गाली ?
युद्ध देख्दा विश्वकै मन हल्लिन्छ
लासमाथि सत्ताको खुशी ताली ।
सिक्नुछ धैर्य, उठ्नुछ अझै बलियो
जीवन होइन खेलौना, खेल ख्याली ।
गीत लेख्छ इतिहासकै गाथाहरू
शान्तिको त्यो गीत होस् अब नेपाली ।
गजल-६
युद्ध खेलेर जितिन्छ भन्ने भूल नगर
राष्ट्र बनाउँछ रक्त, रगतको फूल नगर ।
नेतृत्व अन्धो भयो, देश नै डगमग
शक्ति भोग्ने लडाइँ, यस्तो फजुल नगर ।
सिमानाहरू बन्छन् बलिदानले यहाँ
सत्ता बेच्नेलाई, अब कुनै कुल नगर ।
स्वाधीन माटोको मोल बुझ्नुपर्छ
भ्रमका जालमा आफैँलाई अनुकूल नगर ।
शान्तिको गीत गाउनुपर्छ नेपाली
गोलाबारुदको वर्षा, यस्तो भूल नगर ।
‘शब्द’ बोल्छ चेतनाको दीप फेरि
राष्ट्र डुबाउने रागमा हिँड्ने भूल नगर ।
- भानु-९, तनहुँ
प्रतिक्रिया