इजरायलद्वारा गाजामा आक्रमण, २२० जनाको मृत्यु

इजरायलद्वारा गाजामा आक्रमण, २२० जनाको मृत्यु


जनवरीको युद्धविरामपछि मङ्गलबार (१८ मार्च) इजरायलले गाजा पट्टीमा तीव्र आक्रमण गरेको छ । उद्धारकर्ताहरूले दुई सय २० जनाको मृत्यु भएको जानकारी दिएका छन् । हमासले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धविराम विस्तार गर्ने गतिरोधपछि ‘युद्ध पुनः सुरु गर्ने’ निर्णय गरेको आरोप लगाएको छ ।

इजरायलले आक्रमणको लहर सुरु गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग परामर्श गरेको ह्वाइट हाउसले पुष्टि गरेको छ । आक्रमणमा अधिकांश महिला, बालबालिका र वृद्धहरूको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन् ।

‘हमासले हाम्रा बन्धकहरू रिहा गर्न बारम्बार अस्वीकार गरेपछि, साथै अमेरिकी राष्ट्रपति दूत स्टिभ विटकफ र मध्यस्थकर्ताहरूबाट प्राप्त सबै प्रस्तावहरू अस्वीकार अपरेसनको गरेपछि आदेश दिइएको थियो’, नेतन्याहुको कार्यालयले विज्ञप्तिमा भनेको, ‘इजरायलले अब उप्रान्त बढ्दो सैन्य शक्तिका साथ हमासविरुद्ध कारबाही गर्नेछ ।’

एक इजरायली अधिकारीले सैन्य अभियान ‘जति आवश्यक छ त्यति लामो समयसम्म जारी रहने’ र ‘हवाई आक्रमणभन्दा बाहिर विस्तार हुने’ अपेक्षा गरिएको बताए ।

‘नेतन्याहु र उहाँको अतिवादी सरकारले युद्धविराम सम्झौता उल्ट्याउने निर्णय गरेका छन्’, हमासले एक विज्ञप्तिमा भनेको छ ।

इजरायली प्रधानमन्त्रीलाई आन्तरिक सङ्कटहरूबीच टिकिरहन राजनीतिक ‘जीवनरक्षक’का रूपमा द्वन्द्वको प्रयोग गरेको आरोप लगाउँदै हमासले भनेको छ, ‘युद्ध पुनः सुरु गर्ने नेतन्याहुको निर्णय कब्जामा रहेका कैदीहरूलाई बलिदान गर्ने र उनीहरूलाई मृत्युदण्ड दिने निर्णय हो ।’

एएफपी फुटेजमा मानिसहरूले साना बालबालिकासहित घाइते व्यक्तिहरूसँग खान युनुसको नासेर अस्पतालमा स्ट्रेचरहरू दौडिरहेको देखाइएको छ । सेतो तन्नााले ढाकिएका शवलाई पनि अस्पतालको शवगृहमा लगिएको थियो ।