रुस र युक्रेनबीच जारी लडाइँ रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच टेलिफोनवार्ता भएको छ । मंगलबार (५ चैत) दुई विश्व-नेताबीच लामो वार्ता भएको अमेरिकी राष्ट्रपति कार्यालयले पुष्टि गरेको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले बताएअनुसार ट्रम्प-पुटिनबीच कम्तिमा डेढ घण्टा कुराकानी भएको थियो ।
यसअघि सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार आफूले युक्रेन मामलामा राष्ट्रपति पुटिनसँग कुरा गर्ने जानकारी दिएका थिए ।
ज्ञातव्य छ, राष्ट्रपति ट्रम्पले हाल युक्रेनमा युद्धविराम गराउने प्रयास गरिरहेका छन् । गत साता साउदी अरेबियामा अमेरिकी प्रतिनिधिहरूसँगको वार्तामा युक्रेनले ३० दिनअघिको अमेरिकी युद्धविराम प्रस्तावमा सहमति जनाएको थियो । यसपछि, रुसले कस्तो प्रतिक्रिया दिन्छ भन्नेमा विश्व नै केन्द्रित थियो ।
यस्तै परिवेशमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोले बल अब रुसको कोर्टमा रहेको अभिव्यक्ति दिएका थिए । यसपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस विषयमा आफ्नो मौनता तोडे । उनी युक्रेनमा युद्ध अस्थायी रूपमा रोक्ने विचारसँग त सहमत भए, तर उनले केही प्रश्नहरू पनि उठाए जुन विषयमा उनी अमेरिकासँग छलफल गर्न चाहन्थे ।
पुटिनले कुनै पनि युद्धविरामले दीर्घकालीन शान्ति सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै द्वन्द्वको मूल कारणहरूलाई सम्बोधन गर्न आवश्यक रहेको प्रतिक्रिया दिए । साथै रुसले पश्चिमी देशहरूबाट बृहत् सुरक्षा सम्झौताको माग गर्नुका साथै युक्रेनलाई नेटो देशहरूको सदस्यता दिन नहुने माग पनि समावेश थियो ।
बीबीसीका अनुसार रुसी अधिकारीहरूले बिनाशर्त युद्धविराम गर्दा युक्रेनलाई बढी फाइदा पुग्ने विश्वास गरेका छन् । युक्रेनले सम्झौताबिना नै युद्ध रोक्छ भने पुटिनले आफ्नो लक्ष्य हासिल गर्न पुनः लडाइँ सुरु गर्नुपर्ने हुन सक्छ, जसले रूसलाई विश्व समुदायमाझ ‘विश्वास गर्न नसकिने मुलुक’ रहेको सन्देश प्रवाहित गर्नेछ ।
प्रतिक्रिया