पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक मित्रराष्ट्र चीनको सिचुवान प्रान्तको छेन्दुमा व्यावसायिक चार्टर उडान भएको छ । विमानस्थल उद्घाटनको दुई वर्षपछि मङ्गलबार (५ चैत) पोखराबाट चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यावसायिक चार्टर उडान गरिएको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि गरिएको निरन्तर प्रयासपछि निजी क्षेत्रका पर्यटन व्यवसायीको पहल एवं पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एयरलाइन्स र नेपालस्थित चाइनिज एसोसिएसनसँगको सहकार्यमा पहिलोपटक व्यावसायिक चार्टर उडान गरिएको हो ।
पहिलोपटक भएको अन्तर्राष्ट्रिय उडानको प्रत्यक्ष साक्षी बन्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष–२०२५ का कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईलगायत एक सय २६ सदस्यीय पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली छेन्दु पुगी पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम अघि बढाएको बताइएको छ ।
महानगर प्रमुखसहितको पोखरेली टोलीलाई छेन्दु विमानस्थलमा चीनका लागि नेपाली महावाणिज्यदूत सुरेश राउत, सिचुवान प्रदेशका उच्चपदस्थ अधिकारी, सिचुवान एयरलायन्सका प्रतिनिधिलगायतले स्वागत गरेका थिए ।
उक्त अवसरमा महानगरप्रमुख आचार्यले २०२३ को जनवरी १ मा उद्घाटन भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट उद्घाटनको दुई वर्षसम्म पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थामा महानगरपालिका, पोखरा पर्यटन परिषद्सहितको निरन्तरको प्रयासबाट पहिलो व्यावसायिक चार्टर उडान गरिएको बताए । पोखराको पर्यटकीय विकास सम्बन्धमा चिनियाँ राजदूतावासबाट पनि दुई देशका पर्यटन व्यवसायीबीच ‘बिटुबी’ गर्ने सम्बन्धमा छलफल भएको उल्लेख गर्दै उनले यसै अभियानमा पनि बिटुबीलगायतका कार्यक्रम गर्न लागिएको जानकारी दिए । छेन्दुबाट एक हजार दुई सय ५० पर्यटक विभिन्न उडानमार्फत पोखरा जाने तय भएको उनको भनाइ छ ।
photo: rss
प्रतिक्रिया