लोगो र प्रोमो सार्वजानिक
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ ताप्लेजुङको सिरीजंघा गाउँपालिकाले कञ्चनजंघा साहसिक पदमार्गमा पर्ने नयाँ झोरेनीमा आगामी वैशाख १३ देखि १५ गतेसम्म आयोजना गर्न लागेको सिरीजंघा पर्यटन महोत्सव २०८२ को आधिकारिक लोगो तथा प्रोमो भिडियो सार्वजनिक गरिएको छ ।
जिल्ला सदरमुकाम फुङलिङस्थित नेपाल पत्रकार महासंघ, ताप्लेजुङको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सिरीजंघा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहान, उपाध्यक्ष तथा महोत्सव आयोजक समिति सचिवालयका संयोजक डा. चित्र मावो, पालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरबहादुर आङदेम्वे र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा सो महोत्सवको आधिकारिक लोगो तथा प्रोमो भिडियो सार्वजानिक गरिएको थियो । सो भिडियो प्रोमो मुन्धुम फिल्मस् युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।
पत्रकार सम्मेलनमा महोत्सवबारे जानकारी दिँदै पालिकाका अध्यक्ष चौहानले पर्यटन प्रर्वद्धन, जलबायु परिवर्तनको असरबारे सचेतना र आर्थिक समृद्धिको लागि सिरीजंघा पर्यटन महोत्सव २०८२ कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
महोत्सव आयोजक समिति सचिवालयका संयोजक समेत रहनुभएका उपाध्यक्ष डा. मावोले उचित प्रचारप्रसार हुन सकेको खण्डमा सिरीजंघा गाउँपालिकाका प्रत्येक वडाहरु पर्यटकिय दृष्टिकोणले संभावनायुक्त रहेको र यसैको सुरुवातको रुपमा सिरीजंघा पर्यटन महोत्सव आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।
महोत्वसअन्तर्गत जलवायु परिवर्तनको असरबारे अध्ययन गर्न आगामी बैशाख ५ देखि १३ गतेसम्म कंचनजंघा साहसिक पदमार्ग अवलोकन कार्यक्रम, बैशाख १४ र १५ गते स्थानीय याक, चौरी प्रवर्द्धन तथा प्रर्दशन कार्यक्रम, बैशाख १५ गते कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिता-२०८२ र सोही दिन बेलुका कला, साहित्य तथा संगीत कार्यक्रम आयोजना गरिने बताइएको छ ।
हाफ म्याराथन प्रतियोगिताको विजेतालाई २ लाख ८ हजार ५ सय ८६ रुपैयाँ, उपविजेतालाई १ लाख ८ हजार ५ सय ८६ रुपैयाँ र तेस्रो हुनेलाई ५८ हजार ५ सय ८६ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने पालिकाले घोषणा गरेको छ । यसै पालिकाभित्र पर्ने विश्वको तेस्रो तथा नेपालको दोस्रो सर्वोच्च शिखर कंचनजंघाको उचाई ८,५८६ मिटरलाई प्रतिविम्वित गर्ने गरि पुरस्कार राशीहरु निर्धारण गरिएको पालिकाका उपाध्यक्ष तथा सिरीजङ्घा पर्यटन महोत्सव समितिका संयोजक डा. चित्र मावोले बताउनुभयो ।
समुन्द्र सतहबाट झण्डै ४५०० मिटरको उचाइमा आयोजना हुने कंचनजंघा साहसिक हाफ म्याराथन प्रतियोगिताको लागि कंचनजंघा साहसिक पदमार्गमा पर्ने नयाँ झोरेनी, कस्तुरे डाँडा, झण्डेडाँडा, सिन्दुरे ढुङ्गा, तुप्लुङ हुदै मछेवासम्मको दुरी कायम गरिएको छ । संघीय सरकारसँगको लागत साझेदारीमा सिरीजङ्घा गाउँपालिकाले निर्माण गरेको कंचनजंघा साहसिक पदमार्गबाट मकालुदेखि कंचनजंघासम्मको लामो हिमश्रृंखला अवलोकन गर्दै पदयात्रा गर्न सकिन्छ ।
प्रतिक्रिया