अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई अमेरिकाले युक्रेनको आणविक उर्जा संयन्त्रको स्वामित्व लिन र सञ्चालन गर्न सक्ने बताएका छन् । यो रूसको आक्रमणमा युद्धविराम सुनिश्चित गर्ने उनको नवीनतम प्रयासको हिस्सा हो ।
रूस र युक्रेनबीच सम्भावित युद्धविरामको सुरक्षा गर्न इच्छुक लगभग ३० देशका सैन्य प्रमुखहरू बिहीबार बेलायतमा शान्ति सेना योजनाको बारेमा छलफल गर्न तयार भएपछि यो प्रस्ताव आएको हो ।
बुधबार ट्रम्पसँगको कुराकानीपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा यस्तै आक्रमण रोक्न सहमत भएको एक दिनपछि रुसको ऊर्जा सञ्जाल र पूर्वाधारमा आक्रमण रोक्न किएभ ‘तयार’ रहेको बताए ।
फिनल्यान्डको आधिकारिक भ्रमणमा रहेका जेलेन्स्कीले ट्रम्पको विद्युत् संयन्त्र अधिग्रहण योजनाको बारेमा पनि छलफल गरेको जानकारी दिँदै भनेका छन्, ‘हामीले केवल रुसी कब्जामा रहेको एउटा बिजुली संयन्त्रको बारेमा कुरा गर्यौँ ।’ उनले रुसलाई छुट दिन ट्रम्पबाट ‘कुनै दबाब महसुस नगरेको’ पनि बताए ।
तर, मङ्गलबार ट्रम्पसँगको आफ्नै कुराकानीमा पुटिनले पश्चिमले पहिले युक्रेनका लागि सबै सैन्य सहायता रोक्नुपर्ने जोड दिएकाले व्यापक युद्धविराम अझै अस्पष्ट छ । बेलायतका प्रधानमन्त्री किर स्टार्मर र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमा बेलायती र फ्रान्सेली सैनिकहरू राख्न तयार रहेको बताएका छन् ।
बेलायत सरकारले ‘उल्लेखनीय सङ्ख्यामा’ राष्ट्रहरू त्यसो गर्न तयार रहेको बताएको छ तर कति देशहरू इच्छुक छन् भन्ने कुरा स्पष्ट छैन । जेलेन्स्कीसँगको कुराकानीपछि बुधबार ट्रम्पको स्वर उल्लेखनीय रूपमा सकारात्मक थियो । हालसालै ओभल अफिसमा दुई जनाबीच टेलिभिजनमा प्रसारित विवाद भए भए पनि ह्वाइट हाउसले यसलाई ‘अद्भुत’ भनेर वर्णन गरेको छ ।
प्रतिक्रिया