अमेरिकामा दुई समूहबीचको झगडा गोलाबारीमा परिणत भएपछि…

अमेरिकामा दुई समूहबीचको झगडा गोलाबारीमा परिणत भएपछि…


अमेरिकी राज्य न्यु मेक्सिकोमा गएराति गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् ।

लास क्रुसेस प्रहरीको फेसबुक पोस्टअनुसार सशस्त्र आक्रमणमा दुई १९ वर्षीय र एक १६ वर्षीय किशोरको मृत्यु भएको छ । पीडितहरूको पहिचान अज्ञात रहेको जनाइएको छ । घाइते पन्ध्र व्यक्तिहरू १६ देखि ३६ वर्ष उमेरका छन् ।

आक्रमणको सम्बन्धमा अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको छैन, तर प्रहरीले सक्रिय रूपमा धेरै सुरागहरू खोजिरहेको जनाइएको छ । लस क्रुसेसका प्रहरी प्रमुख जेरेमी स्टोरीले एक पत्रकार सम्मेलनमा यङ्ग पार्कमा एउटा ‘अवैध कार शो’मा दुई समूहबीचको झगडा गोलीबारीमा परिणत भएको जानकारी दिए ।

घटनास्थलबाट प्रहरीले पेस्तोल बरामद गरेको छ । लस क्रुसेस फायर चीफ माइकल डेनियलले एक पत्रकार सम्मेलनमा सात घाइतेहरूलाई स्थानीय अस्पतालबाट थप उपचारको लागि एल पासो लगिएको र चार जना बिरामी उपचारपछि डिस्चार्ज भइसकेको जानकारी दिए । अन्य चार जनाको अवस्था भने अज्ञात रहेको बताइएको छ ।

‘यो हाम्रो समुदायको लागि दुःखद दिन हो । म समुदायलाई एकसाथ भेला हुन, बलियो र एकताबद्ध भएर उभिन र हाम्रो शहरमा भएको यो दुखद घटनाको सामना गर्न आग्रह गर्न चाहन्छु’, डेनियलले बताएका छन् ।

लस क्रुसेस अमेरिका-मेक्सिको सीमाबाट लगभग ४१ माइल उत्तरमा चिहुआहुआन मरुभूमिको किनारमा अवस्थित छ ।