तीन महिनापछि भोजपुरमा उडान सुरु

तीन महिनापछि भोजपुरमा उडान सुरु


बन्द भएको तीन महिनापछि भोजपुरको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ ।

गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आज (१२ चैत)देखि उडान सुरु गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेशन प्रमुख प्रकाश खड्काले जानकारी दिएका छन् । भोजपुरमा अब नयाँ तालिकाअनुसार उडान हुने उनको भनाइ छ ।

विसं २०३५ देखि उडान सुरु भएको भोजपुरमा नेपाल वायुसेवा निगमको जहाजले मात्र सेवा दिँदै आइरहेको छ । पाँच सय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग भएको विमानस्थलमा अन्य जहाजले उडान भर्दैनन् । उडान बन्द हुँदा जिल्ला अस्पतालबाट काठमाडौं रेफर गरिएका बिरामी र यात्रुहरु मारमा परेका थिए ।

निगमका दुई वटा साना विमानमध्ये एउटा मर्मत भइरहेको र मर्मत सकिएपछि उडानमा सहज हुने निगमले जनाएको छ ।