जुम्लाको सिलाजित र गनगने खार्पाली !

जुम्लाको सिलाजित र गनगने खार्पाली !


‘हौ दाजु ! के खान्छौ हौ ? जस्तोको तस्तै छौ त ! यस्तै हो भने सरकारले तिमिलाई वृद्धभत्ता दिँदैन है !’ – खार्पाली पोख्रेल उर्फ भरत पोख्रेलको जिज्ञासा !

‘खान लोभ नगर्नु ! मनलाग्दो हसुर्नु ! लोभी बामे, कमाई जति सबै बैंकमा जम्मा गरेपछि यस्तै गनगन मात्रै आउँछ !’

‘हैन हौ दाइ.. साँच्चै भन न ! यो तन्दुरुस्तीको राज के हो ?’ सारै जिद्दी गऱ्यो केटाले !

‘राजचाहिँ अलि खर्चिलो छ ! जुम्लातिर पाइन्छ ! म मगाइदिउँ त ?’

‘चिजचाहिँ के हो त ? मगाइदेउ भनौंला, उल्टो औषधि ल्याइदियौ भने के गर्नु ? म त धेरै किसिमको रोगले ग्रस्त छु ! तिमेरु खोरेत काङ्ग्रेसको त विश्वास हुन्न क्या !’ बामे भाइले मलाई पत्याएन !

‘हेर भाइ ! म विगत १५–१६ वर्षदेखि जुम्लाको सिलाजित र केशर सेवन गर्छु ! हरि तिम्सिना भन्ने भाइले बेच्छ ! केही दिनमा यतै आउँदैछ ! म मगाइदिन्छु !’

‘हुन्छ दाइ मगाइदेउ ! बिराम ठिक हुन्छ भने डाक्टरले लाने पैसा तिम्सिनाले लगोस बरु ! फाइदाचाहिँ के–के हुन्छ त ?’

‘एउटामात्र भए पो भन्नू त ! खुरुक्क खानु नि बामे ! म जस्तै हुन्छस् !!’

‘हस् खोरेत दाइ ! आज्ञा सिरोपर !’

उसलाई म ‘बामे’ भनेर पेल्छु ! उ मलाई ‘खोरेत काङ्ग्रेस’ देख्छ ! तरपनि खै किन हो… हरेक पटकको नोकझोकभित्र बेग्लै किसिमको आत्मियता भेटिन्छ हामीबिच !!

जुम्ली भाइ आउँदा सिलाजित र केशर बोकेर आयो ! आफैं पुऱ्याउन गएँ ! आफ्नो सेवनविधि मात्रासहित बताइदिएँ– सिलाजित बिहान मनतातो या चिसो पानीमा घोलेर पिउने ! केशर बेलुकी मनतातो दुधमा भिजाएर खाने !

दुवैको गरी लगभग १२ हजारको हिसाब निस्केपछि खार्पालीले गोर्खाली ब्यहोरा देखायो– अहिले पैसा छैन ! बाँचिएछ भने त बिस्तारै तिरौँला है दाइ !

मलाई तिर्ने होइन ! हरिलाई भन्दिउँला !

हरिलाई खार्पालीको बिन्ती रेफर गरियो ! ‘हुन्छ बड्डा ! मलाई घर फिर्नेबेला खर्च चाहिन्छ ! त्यसबेलासम्म गर्दा हुन्छ नि !’

उधारो दिएर फसाउने ब्यापारीको लाममा जुम्ली नपर्ने कुरै भएन ! केही दिन त चुप लाग्यो ! पछि लगातार जुम्लीको फोन आउन थाल्यो– ‘बड्डा नमस्कार ! लौ न, सारै गाह्रो भो ! घर जाने बेला भो खर्च छैन !’

मैले पनि जुम्लीको बन्दुक खार्पालीतिरै तेर्स्याइदिएँ ! फोन नम्बर दिएर सम्पर्क गर्न भनेपछि केहीबेरमा खार्पालीको सन्देशसहितको ‘बड्डा ! घरमै बोलाउनुभो खाना खानेगरी’ भन्ने फोन आएपछि मैले थपेँ– हुन्छ जाउँ न त ! घर पनि देखिन्छ, चिनजान पनि हुन्छ !

हरि जुम्ली खार्पाली निवास पुगेर भात दन्काएको भोलिपल्टै मलाई ज्ञानेन्द्र शाही भन्दा ठुलो हुँदै गफ दियो– हैट ! भरत सर त सारै रमाइलो हुनुहुँदोरहेछ ! दिदीको माइती तिम्सिना रहेछ ! हामी त साला–भेना पो परेछौँ ! केही दिनमा पैसा हाल्दिन्छु भन्नुभएको छ !

मलाई ढुक्क भो ! साहु र आसामी साला-भेना परेपछि मलाई केको टेन्सन ? अलि दिनपछि मालुम भो- ‘बड्डा ! भेनाले त पैसा हाल्नुभएन ! आमा बिरामी भएर अस्पताल राखेको छु ! अलिकति पैसा पठाइदिनु ! खाता नम्बर हाल्देको छु’ भन्ने फोनले प्रष्ट पाऱ्यो – टेन्सन होइन ट्वेन्टिसन बोकेको रैछु !

तिम्रै भेनालाई भन न त ! अस्ति त खुब मेरो दिदीभेना भन्दै फोटो पोष्ट्याउँदै थियौ त ! मसँग छैन, जेसुकै गर !

त्यसो नभन्नु न बड्डा ! तपाईं त मेरो एटीएम हो, मेरो भगवान् हो ! आउँदा यार्सा ल्याउँला ! भिरमौरिको मह, भेडीको घ्यु, मार्सी चामल ! मेरो बड्डालाई म टन्नै गिफ्ट ल्याउँछु नि ! दस हजार हाल्दिनु न प्रभु ! भाइलाई गरेको लगानी खेर जान्न क्यारे !!

जुम्लीले दल्नुसम्म तेल दल्यो ! आमा बिरामी भनेपछि कसरी नहाल्नु ? आफूले असमय आमा गुमाएकोले होला… ‘आमा बिरामी’ भन्ने आवाजले अलि भावुक पनि बनायो ! पैसा हाल्दिएपछि फोन गरेर लामै गुणपुराण बखान्यो भाइले !

चन्द्रगढी गएको बेला खार्पालीको पसलमा पुगेँ ! ‘मलाई त जुम्लीले हैरान पारिसक्यो त भाइ ! अलेली पठाइदिनु नि !’

‘हालत खराब छ दाइ ! पैसा छैन हौ !’ लामो लेग्रो तान्यो केटोले !

यत्रो पसल चलाएको मान्छेसँग पैसा हुन्न ? कमाएको चैं कता थन्क्याएर राख्छस् बामे ?

के कमाउनु र कता थन्क्याउनु खोरेत दाइ ? उधारो लाने पड्केसँग पैसा माग्दा – खा’र भाग्छु र ? भन्दै ठुला कुरा गर्छन् ! भागे बरु थुतुनो त हेर्नुपर्ने थिएन जस्तो लाग्छ बेलाबेला त ! उधारो माग्ने बेला रुँदै आउँछन् अनि पैसा माग्दा उल्टै आफू रुनुपर्छ ! तिमी जस्तै खोरेत छन् मेरा ग्राहक !! त्यसमाथि आफू बिरामी भएर डाक्टरलाई बुझाउँदै ठिक्क !! हालत खराब छ दाइ ! नाइल नदी भन्दा लामो बिरह गायो केटोले !

टाईसुट दराजमा थन्क्याएर लुङ्गी लाएर हिँड्ने जात हो बामे भनेको ! तेरो पनि त्यस्तै नाटक त होला नि भाइ !

यस्तै तिमिजस्ता खोरेत सोच भएकाले काङ्ग्रेस बिग्रेको हो ! सामान उधारो त लगे–लगे…तिम्रै एउटा खोरेतले नगदसमेत डुबाइदियो दाइ !

लौ ! नगद नै चैं कसरी भ्याइदियो भाइ ?

मेरो बुद्धि बिग्रेर दसा लागेको नि दाइ ! चुनावमा काङ्ग्रेसबाट उठ्यो ! बामे मोरालाई के भोट हाल्नु भनेर म हराउन लाग्ने भएर खोरेत काङ्ग्रेसलाई सघाउँदा आफैंलाई खोरेत सऱ्यो !! उसका केही किनुवा भोटर्सलाई मासुभात ख्वाउनुपर्ने भो ! ‘ख्वाएर पैसा तिर.. म तलाई दिउँला’ भन्यो ! होला त नि भनेर साढे सैंतिस हजार तिर्दिएँ दाइ ! अहिले त फोनै उठाउँदैन ! उठाइहाले पनि मिटिङ्गमा छु भन्दै मसिनो स्वरमा बोल्छ र फोन काट्छ ! कत्ति न मुलुक नै बनाउन हिंडेजस्तो ! अस्ति एकपटक उठायो ! मार हप्काएपछि ‘क्युआर’ पठा भन्यो र तीन पल्ट क्युआर पठाइसकेँ तर अहिलेसम्म पैसा हालेको छैन ! बज्या मऱ्यो कि जिम्दै छ कुन्नी ? तेरो घरमा काङ्ग्रेस पसोस् भनेको बल्ल बुझ्दैछु दाइ !

मान्छे चैं को हो त भाइ ?

होस्… भन्दिनँ ! तिम्रो खोरेत आफैं पत्ता लाउ ! कति गर्दा पनि कपटी बामेले नाम भनेन ! उल्टै थप्यो– अहिले ठूलो मान्छे भएको छ ! नाम बोलाएपछि स्टेजमा गजक्क परेर माला लाएर बस्छ अनि भाषण गर्दा बुद्ध भन्दा ठालु पल्टेर अर्ति ओकल्छ ! बिपीपछिको काङ्ग्रेस ठान्छ आफुलाई ! काम र बेहोरा चैं खोरेत मात्रै होइन जर्सी खोरेत छ !

ठिक्क पारेछ ! यस्ता अन्तर्घाती बामेलाई ! आफ्नै बामे उम्मेदवार जिताउन लाग्या भए यसरी दुःख पाउँथिस् त भाइ ?

त्यै त ! बुद्धिको भाँडामा बिर्को लाग्यो नि दाइ ! आफ्नै थाप्लोतिर धारेहात लायो !

खार्पालीको कुराले धेरै कुरा सोच्न बाध्य बनायो !

बामपन्थी वातावरणमा जन्मेको केटो मष्तिष्कमा त्यही विचार बोक्दै हुर्किंदै गयो ! पार्टी र सिद्धान्तप्रति बफादार हुँदै बामझण्डा बोकेर दौडियो ! पार्टीमा खोरेत पसेपछि निष्क्रिय बस्दै आफ्नो ब्यवसायमा लाग्यो ! अन्य कुनै पार्टीमा घुस्रेन ! कसैको पाउ मोलेन ! बामपन्थी उम्मेदवार मन परेन ! काङ्ग्रेसको उम्मेदवार असल देख्यो अनि उसैलाई भोट हाल्न तम्स्यो ! त्यति मात्र होइन अरुलाई समेत काङ्ग्रेस जिताउन उक्सायो अनि मासुभातको आर्थिक ब्यवस्थापनमा समेत फस्यो ! बुद्धिको भाँडामा बिर्को लाउन पुग्यो ! अहिले न ब्यापार सन्तोषजनक छ न राजनीतिले नै केही खालो साऱ्यो !! गनगन शिरोमणि भएको छ खार्पाली !!

बरु- अल्लारे बामपन्थी हुँदा गाउँतिर बसेर काङ्ग्रेस नेतालाई ढुङ्गा हान्दै ठालु पल्टेर केही समयपछि काङ्ग्रेस पसेर नेताको पाउ मोल्दै गोठ सोहोरेको भए केटो किचन क्याबिनेटको वरिष्ठ सदस्य हुनेथियो ! काङ्ग्रेसको टिकट बेच्ने समुहको मतियार हुनेथियो ! ‘वडाको टिकट बेच्ने तँ फटाहा होस्’ भन्दा निर्लज्ज हाँसो हाँस्दै ‘बेचेको होइन डोनेसन लिएको हो हौ’ भन्ने रेडिमेड जवाफ फर्काउँथ्यो ! हेर्दाहेर्दै गाडी चढेर जयनेपाल चिच्याउने हुन्थ्यो ! महाधिवेशन प्रतिनिधि उही हुन्थ्यो ! महासमिति पनि उसैले भ्याइदिन्थ्यो ! राजनैतिक नियुक्तिसमेत भ्याएर वरिष्ठ काङ्ग्रेसको उपाधि ग्रहण गर्दै माला लाएर आसनग्रहण गर्दै ‘बिपीले भन्नुभएको थियो…’ भन्दै हामीलाई काङ्ग्रेस र नैतिकताको पाठ पढाउँदै हुन्थ्यो !

बुद्धि बिग्रेको बामे ! बेलैमा बुद्धि नपुऱ्याएर सौताको रिसले पोइको काख फोहोर गर्ने हुँदा अहिले आफ्नै थाप्लोमा हात लाएर बस्नुपरेको छ !

जे-जस्तो भएपनि मान्छे चै भयानक कपटी हो ! चन्द्रगढी चोकमा बसेर ‘तिम्रो खोरेत काङ्ग्रेसले मेरो पैसा तिरेन…’ को बिरह गाएर बस्छ ! नाम पट्टक्कै भन्दैन ! ‘आफैं पत्ता लाउ’ भन्दै पैसा उठाइदिन्छौ भने नाम भनौँला भन्ने सर्त तेर्स्याउँछ !!

पैसा नतिर्ने खोरेत काङ्ग्रेस पत्ता लाएर पुर्वबामे खार्पालीको ‘डुब्तिखाता’को पैसा उठाइदिने ठेक्काको टेण्डर मलाई परेको हो र ?
अग्रिम जानकारी- तिम्रो जुम्लीसालो चाँडै आउँदैछ सिलाजित र केशर बोकेर !! भात खान बोलाउने हैन त ? कुनै दिन जुम्ली सालोले जुम्लाको टाकुरामा बसेर ‘झापाको खोरेत बामेले मेरो पैसा खायो’ भन्दै बिरह गाउला होस गर्नु !! बोलाएर मासुभात ख्वाउनु ! पैसा म हाल्दिउँला ! क्युआर पठाइहाल है ! अहिले राष्ट्र निर्माणको मिटिङ्गमा ब्यस्त छु !