रुस र युक्रेनबीच ‘ब्ल्याक सी’ र उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्ने सहमति

रुस र युक्रेनबीच ‘ब्ल्याक सी’ र उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्ने सहमति


संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्ताका क्रममा रुस र युक्रेनले ‘ब्ल्याक सी’ र ऊर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्न मङ्गलबार सहमति जनाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दशौँ हजार मानिसको ज्यान लिइसकेको युद्धको शीघ्र अन्त्यका लागि जोड दिइरहेका बेला अमेरिकी वार्ताकारहरूले साउदी अरबको राजधानी रियादमा युक्रेन र रुसका प्रतिनिधिमण्डलबीच तीन दिनसम्म छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

अमेरिकी राष्ट्रपतिको कार्यालय (ह्वाइट हाउस)ले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘दुबै देश सुरक्षित नेभिगेसन सुनिश्चित गर्न, बल प्रयोग अन्त्य गर्न र ‘व्ल्याक सी’मा सैन्य उद्देश्यका लागि व्यापारिक जहाजको प्रयोग रोक्न सहमत भएका छन्।’

दुबै देशमा ऊर्जा पूर्वाधारमा आक्रमणमा प्रतिबन्ध लगाउने उपायहरू पनि खोजी गर्ने सहमति भएको संयुक्त राज्य अमेरिकाले जनाएको छ ।

यसैबीच, क्रेमलिनले रूसको कृषि क्षेत्रमा लगाइएको प्रतिबन्ध हटेपछि मात्र ‘ब्ल्याक सी’मा आक्रमण रोक्ने सम्झौता लागू हुने बताएको छ ।

रुस र संयुक्त राज्य अमेरिकाले गत हप्ता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जारी गरेको ३० दिने ग्यास (इन्धन)को पाइपलाइन, विद्युत गृह र तेल प्रशोधन केन्द्रमा लागू हुने ऊर्जा युद्धविराममा सहमति जनाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पको चर्को दबाबपछि कूटनीतितर्फ फर्केका युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सहायता र गुप्तचर आदानप्रदानमा केही समयका लागि प्रतिबन्ध लगाउनेलगायत सम्झौताले काम गर्छ कि गर्दैन भनेर अहिले नै भन्न नसकिने तर ती ‘सही कदम’ भएको बताएका छन् ।

जेलेन्स्कीले किएभमा आयोजित पत्रकार सम्मेलनमा भविष्यमा युद्धविरामका लागि तेस्रो पक्षलाई ल्याउने विषयमा पनि वार्तामा छलफल भएको उल्लेख गरेका छन् ।

दुवै पक्षसँग सम्बन्ध कायम गरेको टर्कीले ‘ब्ल्याक सी’को अवस्थाको अनुगमन गर्न सक्ने र मध्यपूर्वी राष्ट्रले ऊर्जा सम्झौताको पर्यवेक्षण गर्न सक्ने उउनको भनाइ छ ।

ज्ञातव्य छ, सन् २०२२ मा युक्रेनमाथि आक्रमणको आदेश दिएदेखि नै पश्चिमा राष्ट्रहरूले पुटिनलाई बहिष्कृत गरेकोमा यसको अन्त्य गर्दै ट्रम्पले पदभार ग्रहण गरेपछि पुटिनसँग सीधै वार्ता गरेका थिए ।

संयुक्त राज्य अमेरिकाले रूसी कृषिमा प्रत्यक्ष रूपमा प्रतिबन्ध लगाएको थिएन तर अन्तर्राष्ट्रिय लेनदेनको लागि प्रयोग गरिने भुक्तानी प्रणालीमा पहुँचलाई सीमित गरेको थियो। यो मुद्दा रुसका लागि एउटा प्रमुख चर्चाको विषय बन्यो। रुसले विश्वका विकासशील मुलुकहरूलाई अमेरिकी नीतिहरूले उच्च मूल्यमा योगदान पुऱ्याइरहेको बताएको थियो।

मस्कोले रुसी कृषि बैङ्क र खाद्यान्नको अन्तर्राष्ट्रिय व्यापारमा संलग्न अन्य वित्तीय संस्थाहरूमाथि लगाइएको प्रतिबन्ध फुकुवा भएपछि र सरल अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा पुनः जोडिएपछि मात्र यो सम्झौता लागू हुने बताएको छ ।

जेलेन्स्कीले अमेरिकी निर्णयबारे आफूलाई पूर्ण जानकारी नभएको बताउँदै चिन्ता व्यक्त गरेका छन् ।

वार्तामा सहभागी युक्रेनका रक्षामन्त्री रुस्तम उमरोभले काला सागर सम्झौताका बारेमा विस्तृत अध्ययन भइरहेको बताएका छन् । यदि रुसी युद्धपोतहरू ब्ल्याक सीको पूर्वी भागबाट हटेमा युक्रेनलाई आत्मरक्षाको अधिकार प्रयोग गर्ने पूर्ण अधिकार हुने बताए ।

युक्रेनले यसै महिनाको सुरुमा अमेरिकाले प्रस्ताव गरेको बिनाशर्त युद्धविरामका लागि सहमति जनाएको थियो, तर रुसले यसलाई अस्वीकार गरेको थियो।