मेरो आकाश !

मेरो आकाश !


हेलो आकाश !
सुन्दैनौ हो कि तिमी त !
शब्दको खानी भएर पनि
कस्तो नसुनेको ?
ए… तिमी त शून्य पो हौ क्यारे !
इन्द्रियविनाको शून्य
तर शब्दहरू
कसरी समाहित भएका होलान् है तिमीमा ?
अनौठो लाग्छ !
शून्यको अर्कै संसार रहेछ
सीमाहीन समयको समानान्तरमा
निरन्तर बगिरहने, बितिरहने
हामी उसै बूढा हुँदा रहेछौं
सीमाहीन समय र तिमी
आपसमा एकाकार बनेर रहेको
एउटा प्रतिविम्ब शून्य ।
न छोइन्छ, न सुनिन्छ, न चाखिन्छ
न सुँघिन्छ न त कुनै दृश्यमा झल्किन्छ
र पनि उसको नीलो बिम्ब
चिनारीमा बाबुनानीलाई सम्झाइरहेकै छौं
एउटा नीलोपन
अनन्त उचाइ राख्ने सघन नीलोपन
गहिराइमा पनि उचाइमा पनि
प्रगाढता दुबैको उस्तै ।
व्यापकताभित्रको घनीभूत अवस्थामा
सबैको आधार खोज्न सकिने हो कि !
शून्य भएर पनि नीलो दृश्यमा
नीलो पानी
झरनाबाट खस्दा सेतो देखिए पनि
समुद्रको विशालतामा समाहित हुँदा
नीलो गगनभन्दा अझै गाढा नीलो
तर एउटा समानता गगनसँग
नीलोपनको मात्रै ।
हेलो आकाश !
तिमी अनेकौं ज्योतिपुञ्जको आश्रय
समुद्र कैयौं जलीय जीवन
बहुमूल्य चम्किला रत्नहरूको आधार
हो यी दुवै उस्तै उस्तै लाग्छन्
भिन्नता
तिमी सूर्य चन्द्रका साथमा
अनन्तकोटी ताराहरूलाई अँगालेर
धर्तीलाई उज्यालो पारिरहन्छौ
धर्तीलाई जीवन दिन्छौ
अनन्त उचाइमा रहेर ।
यद्यपि तिमी स्वयं निराधार छौ
तर पनि
अपरिमित व्यापकतामा विस्तारित रहेर
ब्रह्माण्डका चम्किला पिण्डरूलाई आश्रय दिन्छौ
हामी रङ्गहीन तिमीलाई
रङ्गयुक्त नीलो देख्छौं
नजिकै त छैनौ नि फेरि !
अति दूरमा
टाढाबाट पहाडहरू राम्रा देखिए जस्तै
भ्रमात्मक प्रतीति नीलो हुनुको
एउटा आंशिक सत्य जीवनको यस्तै यस्तै
भ्रम सँगालेर त हामी बाँचेका छौं ।
आकाश ! गगन ! अन्तरिक्ष !
के मात्रै भनूँ खै तिमीलाई ?
अनेकौं नाम तिम्रा
तर नीलोपन सबैमा उस्तै
नजिकबाट नदेखिने
टाढाको भ्रमात्मक उही प्रतीति
तर गज्जब लाग्छ !
ऊ अँगाल्छ सबैलाई बराबर ढाक्ने गरी
अहँ कुनै विभेद गर्दैन ऊ कसैप्रति
एक सच्चा साम्यवादी
विचारमा होइन, व्यवहारमा !
तिम्रै अँगालोमा अँगालिएर म
अँगाल्नु र अँगालिनुको अर्थ खोज्दै छु
अँगालिनु माया पाएर उसैको
अँगाल्न त आकाश !
तिमी जस्तै व्यापक हुन सक्नुपर्छ
खै म सक्दिनँ !
हो त्यही अनन्तातामा आकाश !
म तिमीलाई देख्छु
तिमी ब्रह्माण्ड अँगाल्न सक्छौ
असीमित ग्रह र ताराहरूलाई आश्रय दिने
आकाश जस्तै व्यापक छौ तिमी
र म सूक्ष्म भई
तिमीबाटै अँगालिन चाहन्छु आकाश !
साँच्चिकै जीवन दिएको छ तिम्रो अँगालोले
सदा शीतमा न्यानो ओढ्ने बनेर
अनि असह्य गर्मीमा शीतल छहारी बनेर
मौसम अनुसार मनका अभिलाषाहरू
फरक फरक छन् हाम्रा
र पनि तिमी एकनास छौ आकाश !
तिमी मलाई न्यानो प्रदान गरिरहनु
अनि मलाई शीतल छहारी दिइरहनु
शान्त निलो रङ्गमा रङ्गाएर
रङ्गहीन जीवनलाई रङ्गीन बनाइरहनु
म हमेसा उसकी प्रियतम बनेर
उसको मायालु आलिङ्गनमा बाँधिइरहनु
जन्मजन्मातरसम्म
म उसकी प्रेमिका बनिरहुँ र
ऊ मात्र मेरो आत्मिक प्रेमी
मलाई कहिल्यै नछुट्टिने अँगालोमा
समाहित गरिरहनु ।
सृष्टि, सृजना, रचना वा निर्माण जे भनूँ
सूक्ष्मतामा नियाल्दा
एउटा विशिष्ट संयोजन
विपरीत तर परस्पर अविच्छेद्य बनेर जेलिएको
उल्टासुल्टा सबैखाले तत्त्वहरूको मिलन
अमूर्तबाट मूर्ततिरको यात्रा
अनन्त विशालताबाट अंशतिरको गहिराइमा
आकाश ! तिमी अवतरित भइरहू ल !
मलाई सदा सदा अँगालेर
तिम्रो अनन्त विशालतामा
सृष्टिको निरन्तरता प्रलय नभएसम्म ।