- विकास रौनियार, गजुरी (धादिङ)
धादिङको गजुरी गाउँपालिका-५ गलौँदीमा आयोजित तेस्रो धादिङ रैथाने खाना तथा कृषि पर्यटन व्यापार मेला पहिलो दिन नै निराशाजनक हुनपुगेको छ ।
मेला उद्घाटनपूर्व प्रदर्शन गरिने झाँकी/र्यालीको रौनक त थिएन नै उद्घाटन कार्यक्रमको मन्चमा पनि कुनै चमक देखिएन । न उद्घोषकले बोलाइरहेका अतिथिहरुको अनुहारमा हर्ष न आयोजकको अनुहारमा चमक । उद्घाटनकै बेला महोत्सव स्थल पुगेका दर्शक, महोत्सव प्रवेशद्वारदेखि मन्चअगाडिसम्मको स्टल र आसपासको अवस्था देख्दा लाग्थ्यो- कुनै समुहको सामान्य भेला भैरहेको छ !
उद्घाटन समारोहमा आउने अतिथिलाई विभिन्न जातजाति र ठाउँ विशेषका रैथाने खाना चखाउने उद्देश्यसहित महोत्सव आयोजना गरिएपनि त्यस्ता खानेकुराको कुनै परिकार देखिएनन् । कृषि उत्पादन र घरेलु उत्पादनका सामग्री पनि भेटिएनन् ।
करिब एक सय भन्दा बढी स्टल राख्ने तयारी देखिएपनि ठेकेदारले थापेका केही होटल र विदेशी कपडा एवम् भाँडाकुडाका गरी जम्माजम्मी २० वटा स्टल छन् । माछाले प्रख्यात मलेखुकै माछाका परिकार पनि महोत्सव स्टलमा छैनन् ।

त्रिशुली किनार र पृथ्वी राजमार्गको छेवैमा पर्ने गलौँदीमा बिहीबार (१४ चैत)देखि महोत्सव सुरु भएको हो । बागमती प्रदेश सरकारका पूर्व मूख्यमन्त्री शालिकराम जम्कट्टेलले महोत्सव उद्घाटन गरेका हुन् ।
चेपाङको गिठ्ठा भ्याकुर, झार्लाङको आलु, लापा र तिप्लिङको कोदाको ढिडो, सल्यानटारको मास, थाँक्रेको उखु लगायतका उत्पादनले धादिङ प्रसिद्ध छ । तर, महोत्सवको त्यस्तै कुनै परिकार नपाएपछि उद्घाटन समारोहमा पुग्ने अतिथि र दर्शकले समेत महोत्सवको खिल्ली उडाएका छन् ।
जिल्ला होटल संघ धादिङले आयोजना गरेको महोत्सवको गजुरी गाउँपालिका संरक्षक रहेको छ । परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि, घरेलु, हस्तकला तथा पर्यटन प्रवद्र्धन गर्ने मूख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । उद्घाटनकै दिन पनि महोत्सवमा रहेका ८० प्रतिशत स्टलहरु खाली रहेका छन् ।
आयोजकले महोत्सवलाई व्यापार मात्रै बनाउँदा रैथाने धादिङ खाना तथा कृषि पर्यटन व्यापार महोत्सव नाममा मात्रै सीमित बनेको हो ।
प्रतिक्रिया