सिंहदरबारको गोरु !

सिंहदरबारको गोरु !


गोरुको काम नै जोतिने । परिश्रमी जात । कोही कहाँ जोतिन्छन् त कोही कहाँ । कोही गल्लीमा जोतिन्छन्, कोही हल्लिँदै जोतिन्छन् । कोही भट्टीमा जोतिन्छन्, कोही टट्टिमा जोतिन्छन् । कोही भन्सारमा जोतिन्छन्, कोही टक्सारमा जोतिन्छन् । कोही सडकमा जोतिन्छन्, कोही जोतिँदा तड़पको दुःखेसो पोख्छन् । जोतेपछिको फल- कहिले यताको खेत हराभरा, कहिले उताको ।

थानामा जोतिनु र बहानामा जोतिनु एउटै हो भन्नेहरू कहिलेकाहीँ जोतिँदा घुँडा धसिने कुरा गर्छन्, अनि स्वदेश भन्दा विदेशमा जोतिँदा हुने फाइदाहरूको बखान गरेर थाक्दैनन् । यी तिनै गोरुहरू हुन् जुन ठाउँपिच्छे जोतिँदाको मुल्याङ्कन गरिरहेका हुन्छन्, कतै के फाइदा त कतै के । ठिक ठाउमा जोतिँदा दिन सप्रने, बेठिक ठाउँमा जोतिँदा घुँडा घस्रने स्वाभाविकै हो । त्यसैले समय र अवस्थाअनुरुप आफुलाई कस्तो गोरुको रुपमा परिणत गर्ने अनि कहाँ जोतिने भन्ने पनि जान्नुपर्ने रहेछ । महत्वपुर्ण कुरा अर्को के पनि हो भने, जोतिने र जोत्नेको तालमेल । जोतिनेले नमान्दा र जोत्नेले जोत्न नजान्दा मै हुँ भन्ने गोरुहरू पनि खेत छोडेर भागेको कैयौ दृश्य र उदाहरणहरू देख्न र सुन्न पाइन्छ ।

यही भागदौडमा सिंहदरबार छिरेका गोरुहरूको चरित्र अलि बेग्लै प्रकारको पाइएको छ । परिश्रमी ठिक विपरीत यी गोरुहरू आफूलाई खेतका मेहनती गोरु होइन, तामझाममा सजिएको प्रदर्शनी गोरु ठान्छन् । ठूलो सिङ भएका, तर खेत जोत्न तयार नभएका । यी गोरुहरू दैनिक एउटा भारी त बोक्छन्- तर त्यो भारी आफ्नै फाइदाको लागि हुने गर्छ । यिनीहरूलाई खेत र त्यहाँ हुने उब्जनीको बारेमा केही मतलब छैन, न त यी खेतका अन्नमा पालिने तिी हजारौँ गोठालाहरूको ।

गोरुको अर्को विशेषता भनेको जहाँ गयो त्यहाँ गोबर छोड्नु ! सिंहदरबारका गोरुहरू पनि अपवादमा पर्दैनन् । कुनै खेतमा जाँदा अन्न फलाउन मेहनत गर्छु भन्दै जोतिने नाटक गर्न थाल्छन्, तर फर्किंदा गन्हाउने गोबर छाडेर जान्छन् । गोरुहरूको पछि लाग्दै तिनको हेरविचार गर्ने निरीह गोठालाहरू, झोला बोक्दै तिनै गोबरको सफाइ गर्दै हिँड्छन्, गोरुहरू भने तुरुन्तै अर्को खेतमा गोबर छोड्न व्यस्त । यही कुरालाई अलि फरक गरेर भन्ने हो भने हाम्रो सिंहदरबारका गोरुहरू गोबर गर्न माहिर छन् । तिनीहरू दिनदिनै नयाँ भाषण, नयाँ नीति, नयाँ आश्वासनको गोबर गर्छन् । अनि तिनीहरूलाई सुन्ने गोठालाहरू भने सधैं ‘अझै कति सहने ?’ भन्दै गोबर सफाइमा व्यस्त रहन्छन् अनि थकाइको सुस्केरा हाल्छन्, ‘यो सिंहदरबार त गोरुको गोठ जस्तो पो भएछ ।’

हुन त सिंहदरबारका गोरुहरू पनि नजोतिने चाहिँ होइनन् र जोतिनका लागि हलमा बाँधिन्छन् पनि । तर यिनीहरूको दिशा उल्टो छ । एउटा हलको बायाँतिर तान्छ, अर्को दायाँतिर । अन्ततः हल बीचमै अड्किन्छ । जोत्न तम्सेका जोताहाहरू कुहिरोमा हराएका कागझैं कुनै दिशा पाउँदैनन् ।

स्वभावैले अल्छी गोरुहरू पाँच बर्षमा एकचोटी भने जोतिनलाई कम्मर कसेर अगाडि आउँछन् । कहिले कहिँ यो अबधि छिटै पनि आउँछ । पाँच बर्ष कुर्नु पर्दैन । त्यतिखेर यी गोरुहरू जोतिने नारा लाउँछन, गोबर आफै सोहरेझैँ गर्छन्, गोठालाहरू रिझाउँछन् । मौकाको ताकमा रहेका यी गोरुहरू त्यसपश्चात पाँच वर्षसम्म भने सिंहदरबारको चौबाटोमा चट्ट सुतेर डकार्छन् । ‘धेरै जोतियो, अब आराम गर्ने पालो’ भन्दै आँखा चिम्लेर जे पायो त्यही हसुर्दै उग्राइरहँदा, अर्कै गोठमा बस्ने गोरुहरूलाई सैह्य हुँदैन । अनि यो पाँच वर्षको आराम केही महिनामा नै सकिन्छ ।

यसरी गोरु गोरुको जुधाइमा गोठालाहरूले दुःख पाउँछन् । गोरुहरू पनि खेमा–खेमामा विभाजित भइ आ–आफ्नै तालमा सिंगौरी खेल्न ब्यस्त रहन्छन् । यी विभिन्न खेमामा विभाजित भएका अनि आफ्नै गोबरको थुप्रोमा गन्हाइरहेक गोरुहरू पनि जातजातिका छन् । कोही हल गोरु, कोही प्रदर्शनी गोरु, कोही फटाहा गोरु इत्यादि । गोरुहरूको यस्तो वर्गीकरण यिनै गोरुलाई हेरचाह गर्ने गोठालाहरूको नेतृत्वबाट आएको कुरा हो, जुन सुन्दा अचम्म लाग्छ ।

१. हल गोरु
यी गोरुहरू काम गर्न इच्छुक छन् र परिश्रमी पनि हुन्छन्, तर हलोमा सधैं अर्को जातको गोरुको सिङमा अड्किन पुग्छन् । यी त्यस्ता गोरुहरू हुन् जसलाई कामसँग कुनै मतलब छैन र सँगैको गोरुले काम गरेको देख्दा, ‘तँ मलाई पछि पार्न खोज्दैछस्’ भन्दै हलो तानातान गर्न पुग्छन् । परिणाम ? हल बिग्रन्छ, हलि भोकै !

२. प्रदर्शनी गोरु
यी गोरुहरू खेतमा हलो चलाउने बेलामा चुनिने भएपछि बढी चनाखो हुन पुग्छन् र काम गर्नुपर्ने सम्भावनाले गर्दा काम छल्ने बहाना खोज्न थाल्छन् । यी गोरुहरूलाई खाली सजिएर फोटो खिच्ने र आफ्नो ठुलो सिङ देखाउनमात्र रहर लाग्छ । काम नगरी मैले काम गरेको छु भन्ने यस्ता गोरुहरू अल्छीका सही उदाहरण हुन् ।

३. फटाहा गोरु
यी गोरुहरू सधैं आफ्नो खेत जोत्न छोडेर अर्काको बारीमा गएर गोबर गर्न थाल्छन् । आज एउटा गोठमा, भोलि अर्को गोठमा । गोठालाहरू भने सधैं सोच्न बाध्य हुन्छन्, ‘यो त हिजोसम्म हाम्रो गोरु त थियो, आज कहाँ हरायो ?’गोठ चहार्दै हिंड्ने यस्ता गोरुहरूको न कुनै ठेगान हुन्छ न त यिनलाई विश्वास नै गर्न सकिन्छ ।

४. बुढो गोरु
गोरु बुढो भयो भने त्यसलाई गोठको कुनामा बाँधेर बेवास्ता गरिन्छ । तर ती बुढा गोरुहरू भने तरुनो गोरुझैं आफ्नो पुरानो शक्तिको स्मरण गर्दै, अझै पनि हल चलाउने सपना देख्छन् । बुढा गोरुहरू हल नचलाउने तर गोठको मुख्य ठाउँमा बसेर जवान गोरुलाई सिङ हान्नमै ब्यस्त ! यसले गर्दा न गोरुहरू मिल्छन् न त खेत नै जोतिन्छ । गोठालाहरू भने आशा गर्छन्, ‘केही नयाँ गोरु कतैबाट आइ पो हाल्छ कि ?’ तर अहिलेसम्म सिंहदरबारभित्रको गोठमा नयाँ गोरु आउने कुनै छाँटकाँट छैन । इतिहास कोट्ट्याएर हेर्दा पनि यस्ता गोरुहरू विरलै आएको देखिन्छ । भविष्यको बारेमा कसलाई के थाहा ! बुढा गोरुहरूले राज गरेको सिंहदरबारको गोठ अचम्मलाग्दो छ । यी गोरुहरूको आपसी सिंगौरीले गर्दा खेत संधै बाँझो अनि गोठालाहरू संधै भोकै ।

अब कुरा गरौँ गोठालोहरूको । यिनीहरू गोरुहरूलाई सधैं घाँस, पराल दिएर पाल्छन् । ठुलो, मोटो गोरु बनाएर गर्व गर्छन् । तर, समस्या के हो भने गोठालाले गोरुको गोबर सफा गर्दै समय खर्चिन्छन् उता गोरु पराल खाएर मोटाउँदै जान्छन् । गोठालो भने दुब्लाउँदै । गोरु त आफूलाई गोठालोको साहु ठान्छ । सिंहदरबारका गोरुहरू पनि गोठालालाई सधैं ‘तिमीहरू त मेरो रेखदेखका लागि मात्र हो’ भन्ने मनोविज्ञानले हेर्छन् । गोठालाले जतिसुकै चिच्याएर ‘हाम्रो खेत बाँझो छ’ भन्दा पनि गोरुहरू कान थाप्दैनन् । उनीहरू आफ्नै मस्तीमा गोबर गर्दै बस्छन्, गोठालालाई सास्ती बढाउँदै बस्छन् ।

केही गोठालाहरू भने गोरुको सेवा गरेर फल पाउने आशामा उनीहरूको वरिपरि घाँस, परालले भरिएको झोला बोक्दै नाच्दै बस्छन् । यिनीहरूलाई गोरुले दुध दिने अनि त्यो दुध खाएर आफु पनि मोटाइने भन्ने ठुलो भ्रम परेको छ । यस्ता गोठालाहरूलाई खेत जोत्ने कुरासँग कुनै सरोकार छैन, यिनीहरू त कतिखेर गोरुले दुध दिन्छ भनेर गोरुको पछाडी ढुकेर बस्छन् ।

जुधाउनी, दौडाउनी, बजाउनी, अनि पछार्नी गर्दा रमाइलो मान्ने गोरुहरूको आनीबानी, सोझा गोठालाहरूले कसरी बुझ्नु ? उता बुद्धिजीवी वर्ग सिंहदरबारभित्र राम्रो नश्लको गोरुको कमी भएकोले भैंसीले बाहुल्यता पाएको कुरा गर्छन् आजभोलि । त्यसैले होला केही गोरुहरू बस्ने ठाउँमा आजभोलि भैंसी देखिन थालेको । यी भैंसीहरू पनि गोरुहरूको नक्कल गर्न थालेको कुरा प्रष्टै देखिन्छ भन्छन् गोठालाहरू । भैंसीहरूको राजनीतिक उचाइ बढ्न थालेपछि गोरुहरू आन्दोलित हुने भएको छ । गोरुहरूले एकजुट भएर भनेका छन्, ‘अबको आन्दोलन भनेको भैंसीलाई गोठबाट धपाउने हो । सिंहदरबारमा सिङकै बल रहने हो भने, त्यो गोरुले मात्र धान्न सक्छ ।’

सिंहदरबारभित्र गोरु र भैंसीको लसपस बढ्दै गएको कुरा पनि बुद्धिजीवी वर्गको जुहारीमा तातो मुद्दा बनेको छ । गोरुहरूले सिंहदरबारको बार्दलीमा उभिएर ‘हाम्रो नश्लको महिमा फेरि स्थापना गरिनुपर्छ’ भन्दै घुरिरहेका बेला भैंसीहरूले भने आफूलाई ‘समावेशीताको प्रतीक’ भन्दै गहुँतको डुङ्गुरबाट विजय घोष गरिरहेका छन् ।

सिंहदरबारभित्र गोरु, भैंसी अनि गोठालाहरूको दिनचर्या चलिरहन्छ यसरी नै, कहिले कता ठोक्किँदै अनि कहिले कता ।