✍ श्यामकृष्ण लम्साल
महोदय !
बालागुरु षडानन्दको जन्मभूमिमा
विकासको खडेरी परेको छ
दिङ्लाको विकास
धनीमानीको वेवारिसे सन्तान झैँ
अलपत्रिएको छ
कागजका पानाहरूमा
आवाज, मागपत्रहरू
टिप्पणीका फाइलहरूमै अड्किएका छन्,
जन्मिनै नदिन गर्भपतनको ओखती
खुवाउन खोजिएको हालतमा
फाइलहरू घुमिरहेछन्
भोली बास्ने बिहानले
नयाँ बिहानी कोरल्देला भन्ने आशैआशमा
जुगौँजुगहरु बितिरहेछन्
महोदय !
होक्का रहोस्
बालागुरु षडानन्दको जन्मभूमि
अँध्यारोमा भुल्नु हुँदैन,
दुनियाँलाई उज्यालो बाँड्ने दिङ्ला !
अझै पनि दिङ्लालाई
रित्तिएको, सिद्धिएको हालतमा
रहन दिनु हुँदैन !
- दिङ्ला, भोजपुर
प्रतिक्रिया