बेग्लै संसारको कुरा -बबिता बस्नेत

बेग्लै संसारको कुरा -बबिता बस्नेत


उज्यालोबिनाका साँझहरू कति उराठलाग्दा र बोझिला हुन्छन् भन्ने कुरा लोडसेडिङका क्रममा प्राय: सबैले भोगिरहेका हुन्छन् । त्यसोत, अँध्यारो एउटा अनुभूति पनि हो, मनमा ओझेल परेको बेला संसार अँध्यारो लाग्न सक्छ, चाहे त्यो जतिसुकै उज्यालोकाबीच किन नहोस् । पीडाले भरिएको मनकाबीच न्युयोर्कको टाइम्स स्क्वायरमा उभिए पनि उज्यालोको खास अर्थ रहँदैन । दुई-चार घन्टाको लोडसेडिङमा हैरान मान्ने हामी कल्पना गरौँ जीवनभर अँध्यारोमा बस्नुपर्दा कस्तो महसुस हुँदो हो † जन्मँदै या पछि विभिन्न दुर्घटनामा परेर दृष्टि गुमाउनेहरूको बाहिरी संसार सधैं अँध्यारो हुन्छ, अँध्यारोमै उठ्ने, अँध्यारोमै सुत्ने, हिँड्ने, घुम्ने सबै अँध्यारोमै । अरूले वर्णन गरेअनुरूप उनीहरू कुनै पनि कुराको कल्पना गर्छन् र त्यसलाई बुझ्ने आधार तय गर्छन् । रङ्गहरूको समेत कल्पना गरेर खाका तयार गर्नुपरेपछि जीवनका बुझाइहरू कति गाढा या फिक्का होलान् यसै भन्न सकिन्न । धेरै कुरा छामेर र सुनेर महसुस गर्ने दृष्टिविहीनहरू प्राय: एकपल्ट कुराकानी भएको मानिसलाई बिर्संदैनन् । पढ्ने, पढाउने, सिर्जनाका विविध पक्षमा सक्रिय सहभागिता जनाउने, मानिससँग बोल्दा सम्मानित भाषा र मीठो लवजमा प्रस्तुत हुने दृष्टिविहीनहरूले कठिन जीवनलाई सहज रूपमा लिइरहेको पाइन्छ भने संसार देख्ने दृष्टि भएकाहरू भने कतिपय अवस्थामा आफ्नो जीवनलाई आफैंले कठिन बनाइरहेका भेटिन्छन् । यो संसार अचम्मको छ, जोसँग जे छैन त्यसलाई मात्रै नहुनुको महत्त्व छ, भएकाहरू त त्यसलाई आफूसँग केही महत्त्वपूर्ण कुरा छ भनेर महसुससम्म पनि गर्दैनन् । प्रकृतिले दिएका सबै अङ्ग जस्ताको तस्तै हुनेहरूलाई मसँग केही छ भन्ने कुराको आभाषसम्म पनि छैन, जोसँग यी कुराहरू छैनन् उनीहरू आफू मानिस भएर जन्मनुको र्सार्थकता प्रमाणित गर्नमा तल्लीन छन् ।
नेत्रहीन क्रिकेट सङ्घ नेपालले यो हप्ता राजधानीमा दृष्टिविहीन किशोरीहरूबीच क्रिकेट प्रतिस्पर्धा गरायो । खेलकुद क्षेत्रमा त्यसै पनि नेपाली महिलाको पहुँच सहज छैन, थरीथरीका सङ्घहरू छन् जहाँ महिलाको सहभागिता अत्यन्त न्यून छ, ‘मास्क्युलीन’ क्षेत्र मानिने खेलकुदमा न त खेल्ने महिला नै छन् न त हेर्ने महिलाको सङ्ख्या नै यति ठूलो छ । यस्तो अवस्थामा नेत्रहीन क्रिकेट सङ्घले दृष्टिविहीन किशोरीहरूलाई सहभागी गराएर खेलकुदप्रति उनीहरूको रुचि मात्र बढाएको छैन जीवनप्रतिको आशा पनि जगाएको छ । किशोरीहरू बलबाट आएको आवाजको सहाराले खेलिरहेका थिए, पुल्चोक इन्जिनियरिङ क्याम्पसको चौरमा भएको क्रिकेटका लागि आ-आफ्नो जिल्लामा तयारी गर्दा आफूहरूमा एकप्रकारको साहस वृद्धि भएको बताए । हुन पनि उनीहरूको खेलप्रतिको उत्साह र साहस सलाम गर्न लायकको थियो । दृष्टिविहीन भए पनि उनीहरू एकै ठाउँमा खुम्चिएर बस्न चाहँदैनन्, जीवनमा केही गर्न चाहन्छन्, आफू हुर्किएको समाज र यो राष्ट्रलाई अलिकति भए पनि भरथेग गर्न चाहन्छन् । आँखाले बाहिरी संसार नदेखे पनि भित्री संसार उज्यालोमा बाँच्न चाहन्छन् । जसका लागि उनीहरूलाई अवसरको खाँचो छ र उनीहरूलाई हेर्ने दृष्टिकोण परिवर्तनको आवश्यकता छ । दृष्टिविहीनहरू सुन्न सक्छन्, बोल्न र हिँड्न सक्छन् त्यसैले उनीहरूले गर्न सक्ने कुराहरू पनि धेरै छन् । अवसरको दायरा बढाउन सकियो भने क्षमता विकास हुँदै जान्छ, त्यसैले राज्य र निजी दुवै क्षेत्रबाट उनीहरूका निम्ति विशेष पहल हुनु जरुरी छ ।
नेपाली सेनाका मेजर पवन घिमिरेले केही वर्षअघिसम्म कुनै दिन आफू ली र आफन्तको सहारामा हिँड्नुपर्ला भनेर सोचेका पनि थिएनन् । सबै प्रकारका शारीरिक तन्दुरुस्तीका साथ उनी नेपाली सेनामा भर्ती भएर कर्तव्यपालनको सिलसिलामा कालिकोट पुगेका थिए । राष्ट्रको सेवासँगसँगै आफ्नो उज्यालो भविष्यको सपना बोकेर सेनामा प्रवेश गरेका उनको जीवनमा २०६० को साउन २७ गते सधैंका लागि अँध्यारो बोकेर आयो । त्यतिबेला माओवादी र सरकारबीच युद्धविराम थियो, सेनाले निर्माण गर्दै गरेको कालिकोट-जुम्ला सडकको कामका लागि उनी कालिकोटमा थिए । युद्धविरामकै बेला कालिकोटको जुविधामा माओवादीले बिछ्याएको एम्बुसमा पर्दा उनका दुवै आँखा सदाका निम्ति गुमे । नेपाली सेनामा सहायक रथी रमीन्द्र क्षेत्रीजस्तै मेजर पवन त्यस्ता जिउँदा सहिद हुन् जसले जनयुद्धका नाममा आफ्नो दृष्टि गुमाए, हाल सेनाका प्रवक्ता प्रभावशाली वक्ता सहायक रथी रमीन्द्र क्षेत्रीलाई माओवादीले घरमै आक्रमण गर्दा एउटा खुट्टा गुमाउनुपरेको थियो । अन्तत: यो मुलुकमा यस्तो दिन पनि आयो जसका कारणले आफ्नो खुट्टा गुम्यो उनीहरूलाई नै हि्वलचेयरमा बसेर उनले सलाम ठोक्नुपर्‍यो, कल्पना गरौँ भोग्नेलाई के मात्र भयो होला ? अनुमान गर्न सकिन्छ । यी युद्धले छोडेका यस्ता घाउहरू हुन् जसलाई जति मल्हमपट्टी गरे पनि खाटा बस्न गाह्रो हुन्छ । यसप्रकारको दर्ुदशा भोग्नेहरूको सङ्ख्या माओवादी र सर्वसाधारणमा पनि त्यत्तिकै छ । हो, तिनै मेजर पवन अहिले नेत्रहीन क्रिकेट सङ्घका अध्यक्ष छन् । आफ्ना दुवै आँखा गुमेपछि निराश बनेका उनलाई यसप्रकारको समाजसेवाले जीवन बाँच्ने प्रेरणा मात्र जगाएको छैन, आफूजस्तै अवस्था भोगिरहेका अरूको जीवनमा उत्साह जगाउने ऊर्जा पनि मिलेको छ । सङ्घका महासचिव सुगम भट्टराईले क्याम्पस पढ्दै गर्दा दुर्घटनामा परेर दृष्टि गुमाएका थिए । त्यसैले भोलि कसलाई कहाँ कतिबेला के हुने हो भनेर यसै भन्न सक्ने अवस्था छैन, पवन र सुगमले भोगेको नियत हिामी-तपाईंमध्ये जो-कोहीलाई पनि जे पनि हुन सक्छ भन्ने कुराको उदाहरण पनि हो । नेत्रहीन सङ्घ पोखराका शिशिर पौडेल भने जन्मँदै दृष्टिविहीन थिए, त्यसैले हरेक कुराको उनको आफ्नै प्रकारको कल्पना हुन्छ । भन्छन्, ‘सबै प्रकारका मानवीय प्रवृत्तिहरू हामीमा हुन्छन्, हामी पनि केटाहरू मात्रै बसेका बेला केटीका कुरा गर्र्छौं, राजनीतिका कुरा गर्र्छौं, आफूले नदेखे पनि राम्रो अनुहार र सुमधुर स्वर भएकी श्रीमती होस् भन्ने चाहना हुन्छ । केटीहरूमा पनि त्यस्तै हो, आत्मविश्वासी र आफूलाई माया गर्ने जीवनसाथीको चाहना उनीहरूलाई हुन्छ । तर, हिजोआज उनीहरूमा पनि आफ्नै नाम होस्, पहिचान होस्, कमाइ आफ्नै होस् भन्ने चाहनामा वृद्धि भएको छ ।’ क्रिकेटका लागि काठमाडौंमा जम्मा भएका उनीहरू खेलकुद क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्न चाहन्छन्, त्यसरी छुट्टै प्रकारले सक्षमहरूका लागि राज्यले विशेष व्यवस्था गर्नुपर्छ । यहाँ अनेक नाममा राजनीतिकर्मीहरूले राज्यको ढिकुटी करोडौँ खर्च गरिरहेका बेला विशेष अवस्थाका मानिसलाई सिर्जनशील कार्यमा लगाउन राज्यले जति खर्च गरे पनि किन यस्तो
गरियो ? भनेर कतैबाट प्रश्न गरिने छैन ।