अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इरानमाथि आक्रमण गरिए कडा प्रतिकार गर्ने बताएका छन् ।
‘उनीहरूले हानि पुर्याउने धम्की दिएका छन्’, नेता खामेनीले मुस्लिमहरूको रोजा महिना रमजानको अन्त्यको उपलक्ष्यमा इद अल-फित्रको अवसरमा एक भाषणको क्रममा ट्रम्पको पछिल्लो चेतावनीबारे भनेका छन् । उनले भने, ‘यदि यो गरियो भने, उनीहरूले निश्चित रूपमा कडा जवाफी हमला प्राप्त गर्नेछन्।’
गत शनिबार एक अन्तर्वार्तामा ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रमबारे कुनै सम्झौता नगरेमा उनीमाथि बम प्रहार गरिने बताएका थिए ।
‘यदि उनीहरूले सम्झौता गरेनन् भने त्यहाँ बमबारी हुनेछ’, एनबीसी न्यूजले ट्रम्पलाई उद्धृत गर्दै लेखेको छ । ट्रम्पले इरानलाई ‘अतिरिक्त कर’को सजाय दिने चेतावनी पनि दिनुभएको छ । यद्यपि, ट्रम्पले अमेरिकाले सिधै अमेरिकी विमानबाट बम बारी गर्ने धम्की दिनुभएको थियो वा इजरायलसँगको समन्वयमा आक्रमण गर्ने चेतावनी दिएका थिए भन्ने समाचारमा खुलेको छैन।
गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै ट्रम्पले इरानमाथि ‘अधिकतम दबाब’ अभियान पुनः सुरु गरेका छन् ।
आफ्नो पहिलो कार्यकालमा उक्त नीतिअन्तर्गत ट्रम्पले सन् २०१८ मा इरानको आणविक कार्यक्रमसम्बन्धी ऐतिहासिक सम्झौताबाट अमेरिकालाई फिर्ता भएको घोषणा गर्नुभएको थियो भने त्यसपछि तेहरानमाथि पुनः कडा प्रतिबन्ध लगाएका थिए ।
संयुक्त राज्य अमेरिकालगायत पश्चिमा देशहरूले लामो समयदेखि इरानले आणविक हतियारको पछि लागेको आरोप लगाउँदै आएका छन् । यसलाई तेहरानले अस्वीकार गर्दै आएको छ।
तेहरान र विश्व शक्तिराष्ट्रहरूबीच सन् २०१५ मा भएको उक्त सम्झौतामा इरानले आफ्नो आणविक महत्वाकाङ्क्षालाई सीमित गर्न आवश्यक थियो ।
गत मार्च ७ मा ट्रम्पले खामेनीलाई आणविक वार्ताका लागि आह्वान गर्न पत्र लेखेका थिए र तेहरानले नमाने सैन्य कारबाही हुनसक्ने चेतावनी दिएका थिए ।
संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपतिका सल्लाहकार अनवर गार्गाशले मार्च १२ मा तेहरानलाई उक्त पत्र पठाएका थिए ।
बिहीबार इरानी विदेशमन्त्री अब्बास अराघचीले ट्रम्पको पत्रको जवाफ ओमानलाई दिइसकेको बताएका थिए ।
प्रतिक्रिया