समयसीमा सकिनुअघि टिकटक सम्झौता हुनेमा ट्रम्प विश्वस्त

समयसीमा सकिनुअघि टिकटक सम्झौता हुनेमा ट्रम्प विश्वस्त


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी आइतबार (५ अप्रिल) को समयसीमाअघि नै टिकटकको चिनियाँ मालिक बाइटडान्सले लोकप्रिय छोटो भिडियो एप बेच्ने वा संयुक्त राज्य अमेरिकामा यसमाथि प्रतिबन्ध लगाइनेबारे सम्झौता गर्न विश्वस्त भएको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले एयर फोर्स वानमा पत्रकारहरूसँग भनेका छन्, ‘हामीसँग धेरै सम्भावित खरिदकर्ताहरू छन् । टिकटकमा ठूलो चासो छ, हामीसँग टिकटक किन्न चाहने धेरै मानिस छन् । हामी चीनसँग पनि यसबारे कुराकानी गरिरहेका छौँ किनभने उनीहरूको यससँग केही सम्बन्ध हुनसक्छ, म टिकटक जीवित रहेको हेर्न चाहन्छु ।’

सत्र करोड प्रयोगकर्ता रहेको यो प्लेटफर्म अधिग्रहण गर्न इच्छुक चार समूहसँग यस महिना अमेरिकाले वार्ता गरिरहेको ट्रम्पको भनाइ छ ।

बेइजिङले अमेरिकीहरूको जासुसी गर्न वा अमेरिकी जनमतलाई गोप्य रूपमा प्रभाव पार्न एपको दुरुपयोग गर्न सक्छ भन्ने चिन्तालाई लिएर लागु गरिएको अमेरिकी कानूनले टिकटकलाई बाइटडान्सबाट अलग गर्न वा संयुक्त राज्यमा प्रतिबन्ध लगाउन आदेश दिएको छ ।

यो कानून ट्रम्पको शपथग्रहण हुनुभन्दा एक दिनअघि जनवरी १९ मा लागु भयो, तर ट्रम्पले तुरुन्तै ढिलाइको घोषणा गरेपछि यसलाई सञ्चालन जारी राख्न अनुमति दिइएको छ । त्यो ढिलाइ अप्रिल ५ मा समाप्त हुने तय गरिएको छ ।

‘सम्झौता नभएमा के तपाईं म्याद थप्नुहुन्छ ?’ भन्ने प्रश्नमा ट्रम्पले भने, ‘टिकटकसँग सम्झौता हुनेछ, म निश्चित छु ।’

ट्रम्पले आफ्नो पहिलो ह्वाइट हाउस कार्यकालमा राष्ट्रिय सुरक्षा चिन्ताका कारण संयुक्त राज्य अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका थिए, तर अहिले यसप्रति सकारात्मक भएका छन् ।

‘स्वार्थका साथ भन्नुपर्दा मैले ३६ अङ्कले युवा मत जितेको छु । रिपब्लिकनहरूले सामान्यतया युवा समूहसँग धेरै राम्रो प्रदर्शन गर्दैनन् र मलाई लाग्छ यसको धेरै भाग टिकटकका कारण हुन सक्छ”’उनले भनेका छन् ।