असमी तथा नेपाली भाषाका असम तेजपुर निवासी साहित्यकार छत्रमान सुब्बाको समालोचकीय कृति साहित्यमा उत्तर-चेतको खोजी’ एक कार्यक्रमबिच सार्वजनिक भएको छ ।
सोमबार काठमाडौंमा ओरिएन्टल पब्लिकेशनद्वारा आयोजित कार्यक्रममा विभिन्न सर्जकहरूले संयुक्त रूपमा कृति लोकार्पण गरे । कार्यक्रमका प्रमुख अतिथि डा. तुलसी भट्टराईले भारत असमका साहित्यकार सुब्बाले यो पुस्तक प्रकाशनमा ल्याएर नेपाल र असमबिचको सम्बन्ध सेतुलाई अझै बलियो बनाएको बताए ।
लोकार्पणसँगै सम्पन्न पुस्तक विमर्शको चरणमा साहित्यकार प्रा.डा. गोविन्दराज भट्टराईले सन् २०२३मा साहित्य अकादमी अनुवाद पुरस्कार प्राप्त गरिसकेका छत्रमान सुब्बामा नयाँ चेतना बुझ्ने र तिनलाई खोज्ने तिर्खाले यो पुस्तक जन्माएको बताए ।
प्रा.डा. कुमारप्रसाद कोइरालाले असमी साहित्यकार सुब्बाको यो कृति सिर्जनात्मक समालोचना भएको उल्लेख गरे । त्यस्तै पुस्तकमाथि साहित्यकारहरू अनिता कोइराला, अनिता पन्थी, शान्ति रिसाल, नारायणप्रसाद शर्माले पाठकीय टिप्पणी राखे ।
साहित्यकार सुब्बाले आफूले नयाँ बाटो पाएको बताए भने साहित्यकार श्रीओम श्रेष्ठ रोदनले अक्षरहरूले दुई देशको सम्बन्धलाई कसरी जोडेको छ भन्ने यो पुस्तकले देखाएको बताए ।
प्रा.डा. अञ्जना वस्ती भट्टराईले असममा बसेर पनि नेपाली भाषामा किताब लेख्नु आफैंमा उल्लेखनीय काम भएको बताइन् ।
पुस्तक सेर्गेम प्रकाशन गृह, दमकले प्रकाशनमा ल्याएको हो ।
प्रतिक्रिया