‘प्याउली’को स्थानीय विमोचन र परिचर्चा कार्यक्रम सम्पन्न

‘प्याउली’को स्थानीय विमोचन र परिचर्चा कार्यक्रम सम्पन्न


  • द्रोण अधिकारी, भद्रपुर (झापा)

भद्रपुरकी श्रष्टा बालिका वान्तवाद्वारा लिखित प्याउली उपन्यासको स्थानीय विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । ‘भद्रपुर जेसीजसित प्याउली’ नाम दिएर भद्रपुर जेसीजले उपन्यासको स्थानीय विमोचन तथा परिचर्चा सम्पन्न गरेको हो ।

जेसीजका अध्यक्ष शैलेश श्रेष्ठको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न परिचर्चा कार्यक्रममा उपन्यासको समीक्षा गर्दै सहप्राध्यापक चुडामणि वशिष्ठले आफ्नोपन बोकेर आएको उपन्यासले पूर्वी पहाडी जिल्ला भोजपुर, झापा हुँदै काठमाडौं र हङकङसम्मको भूगोलभित्र उपन्यासकारले गरेका संघर्षलाई आख्यान बनाएर ल्याइएको बताए । सहप्राध्यापक वशिष्ठले उपन्यासभित्र अन्तरजातीय भागीविवाह, वैदेशिक रोजगारका कारण टुटेको दाम्पत्य जीवन, गरिबी, अभावसितको संघर्ष समेटेर बनेको कथानकले उपन्यासलाई अस्तित्व निर्माण भएको नारीवाद बोकेर आउँदा नेपाली मौलिकपन सहितको पृथक पहिचान बनाएको उल्लेख गरे ।

अर्का समालोचक सहप्राध्यापक होम सुवेदीले नारी चेतभित्र अस्तित्व निर्माण भएको प्याउली आफैमा बिम्ब रहेको जनाउँदै आञ्चलिकता बोकेर किराँत परम्पराको प्रयोग समेत उपन्यासले गरेको बताएका छन् । सहप्राध्यापक सुवेदीले भौतिक मानसिक र आध्यात्मिक सुखको खोजी गरिएको उपन्यासले पुरूषत्वभन्दा नारीत्व बलवान भएको देखाउने खोजेको प्रष्ट पारे ।

अर्की टिप्पणीकार लता खरेलले बेरोजगारी, अभाव र गरिबीका कारण आफ्नो देश छोडेर परदेश पस्ने नारीहरू संघर्षको मैदानमा नडगमगाउने साहसलाई उपन्यासले समेटेको बताइन् । भोजपुरबाट अवसरको खोजी गर्दै झापा सदरमुकाम दक्षिण पृथ्वीनगर झरेको राई माइलाले गरेको कठोर संघर्षबाट उपन्यासकारले जीवन जिउने कला सिकेर मनपराएर आफैं भागेर विवाह गरेको पतिले गति छोडेपछि एक्लै संघर्ष गरी भोगेका आरोह अवरोह नै उपन्यासको मूल विषय रहेको खरेलको टिप्पणी थियो ।

भद्रपुर जेसीजका कार्यक्रम संयोजक आरोग्य तिम्सेनाले स्वागत गरेको कार्यक्रमको सञ्चालन जेसीजका महासचिव हेडम्बराज निरौला तथा साहित्यकार खगेन्द्रा खुसीले गरेका थिए भने झापाका विभिन्न स्थानमा रहेका कवि तथा लेखक लगायत सरोकारवाला साहित्यानुरागीको उपस्थिति रहेको थियो ।