✍ रश्मिशेखर सुवेदी

लेखक स्वयंमा स्वतन्त्र सत्ता हो । लेखकीय सत्ता स्थापनाका लागि लेखक स्वयमले संघर्ष गर्नुपर्दछ र शक्तिकेन्द्रका कमजोरी एवम् व्यवधान औँल्याउन सक्नुपर्छ । लेखक कहिल्यै अलोकतान्त्रिक र अप्रगतिशील हुनै सक्दैन ।
जब सत्यको मुख बन्द हुन्छ तब झुठको थुतुनो चल्न थाल्छ भन्ने विश्वेरप्रसाद कोइरालाको भनाइलाई आत्मसात गर्दै सत्यवादीहरु बोल्ने हो भने असत्यको मुख बन्द हुन्छ नै । त्यसैले बोलौं ! सधैँ सत्य बोलौं !
चैत्र १६ र १७, २०८१ मा लोकतान्त्रिक लेखकहरुको सङ्गठन नेपाली लेखक संघको आठौँ राष्ट्रिय अधिवेशन सम्पन्न भयो, लुम्बिनी प्रदेशको लुम्बिनीमा । पूर्व प्रधानमन्त्री तथा नेका सभापति शेरबहादुर देउवाले उद्घाटन सत्रमा लेखकहरु स्वतन्त्र सत्ताका संचालक हुन् भन्दै लोकतान्त्रिक व्यवस्थामा मात्र लेखकीय सत्ता जिवीत रहने धारणा राख्नुभएको थियो ।
लोकतान्त्रिक आन्दोलनको मोर्चामा लेखकीय सत्ता इतिहासदेखि नै निरन्तर संघर्षरत रहेको छ । नेपाली लेखक संघको स्थापना २००७ सालको परिवर्तनपछि भएको हो । नेपालको पहिलो प्रजातान्त्रिक परिवर्तनपछि स्वतन्त्र विचारधारा भएका लेखकहरू संगठित भएर नेपाली लेखक संघको स्थापना गरेको इतिहास छ ।
राजनीतिक परिवर्तनले मात्र आर्थिक, सामाजिक, शैक्षिक लगायतका विकासलाई पूर्णता दिन नसक्ने हुनाले लेखकीय सत्ता पनि आवश्यक हो ठानेर, बीपी कोइराला, गोविन्द गोठाले, महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, हृदयचन्द्रसिंह प्रधान, सिद्धिचरण श्रेष्ठ, लगायतका स्रष्टाहरूले नेपाली लेखक संघको स्थापना गरेका थिए। उनीहरूले विचार तथा अभिव्यक्तिको स्वतन्त्रतालाई संस्थागत गर्न तथा साहित्यलाई समाज परिवर्तनको माध्यम बनाउन संघ स्थापना गरेका थिए।
२०१७ पछिको लामो पञ्चायती कालखण्डमा निष्कृय जस्तै रहेको नेपाली लेखक संघ, २०४६ सालमा बहुदलीय प्रजातन्त्र पुनःस्थापित भएपछि नयाँ संरचना सहित पुनःक्रियाशील बनेको हो ।
यस संघको स्थापना स्वतन्त्र विचार, लोकतान्त्रिक मूल्यमान्यता, र लेखकहरूको हकअधिकारको संरक्षण गर्ने उद्देश्यले गरिएको थियो। प्रारम्भिक दिनहरूमा संघले नेपाली समाजमा वैचारिक बहस, लोकतान्त्रिक चेतनाको विकास, र प्रगतिशील साहित्य सिर्जनाको अभियानलाई अघि बढायो । जो तात्कालिक समाजको खाँचो थियो । विचार अभिव्यक्ति स्वतन्त्रता र संरक्षण एवं लोकतान्त्रिक मूल्य मान्यताको आधारमा निर्भीक रूपमा लेख्न बोल्न पाउने मान्यता थियो यसको ।
नेपाली भाषा, साहित्य, र संस्कृतिको प्रवर्द्धनका लागि विविध भाषा र संस्कृतिका लेखकहरूलाई समान अवसर प्रदान गरी अघि बढ्न प्रेरित गर्नु, लेखकहरूको हक अधिकारको रक्षाका निम्ति सिर्जनात्मक स्वतन्त्रतालाई कानुनी र संस्थागत रूपमा सुरक्षित राख्नु ध्येय थियो यसको ।
बहुभाषिक र बहुसांस्कृतिक विचारधाराका लेखकहरूको सम्मान, समावेशी लेखन संस्कृतिको प्रवर्द्धन र बहुलवादको अवधारणा सहितको चिन्तन यसको बाटो बनेको छ अहिले ।
निरन्तर साहित्यिक गतिविधि, गोष्ठी तथा सेमिनार मार्फत लेखकहरू बीच अन्तरक्रिया र सृजनात्मक बहस चलाई समसामयिक साहित्यको अध्ययन द्वारा विश्व साहित्यसम्म पहुँचको अभ्यासमा छ नेपाली लेखक संघ ।
नेपाली लेखक संघको भूमिका र महत्व बहुआयामिक छ। यसले नेपाली साहित्यमा नवीन विचार प्रवाह गराउनुका साथै लेखकहरूको मनोबल उच्च बनाउन सहयोग पुर्याएको छ। लोकतान्त्रिक आन्दोलनहरूमा यसले महत्वपूर्ण योगदान दिएको छ।
२०४६ सालको प्रजातान्त्रिक आन्दोलनमा स्रष्टाहरुको भूमिका बैयक्तिक रूपमा सशक्त रहे पनि २०६२र०६३ को आन्दोलनमा नेपाली लेखक संघका धेरै सदस्यहरू संगठित आधारमा थिए। यस संघले निरंकुशता विरुद्ध संघर्ष गर्न साहित्य सिर्जना मात्र गरेन, प्रत्यक्ष रूपमा आन्दोलनमा समेत सहभागी भएर लोकतन्त्रको पुनःस्थापनामा योगदान दियो ।
साहित्यिक चेतनाको विकासको लागि नेपाली साहित्यमा समसामयिक विषय उठान गर्दै यसले नयाँ पुस्तालाई विचारशील साहित्य लेख्न प्रेरित गरिरहेको छ। अन्तर्राष्ट्रिय साहित्यिक सम्बन्धलाई विस्तार गर्दै नेपाली लेखक संघले अन्य देशका साहित्यिक संगठनहरूसँग सहकार्य गरेर नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्यसमेत गरिरहेको छ।
नेपाली लेखक संघ लोकतान्त्रिक विचारधारा बोकेको एउटा महत्त्वपूर्ण साहित्यिक संस्था हो। यसले नेपाली समाजमा सृजनशील चेतना फैलाउन, साहित्यिक स्वतन्त्रताको संरक्षण गर्न, र लोकतन्त्रको संवर्धनमा योगदान पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेको छ। भविष्यमा पनि यस संस्थाले नेपाली साहित्य, भाषा, संस्कृति, र लोकतान्त्रिक विचारधाराको प्रवर्द्धन गर्न निरन्तर भूमिका खेल्नेछ।
हरेक लेखक आफैंमा एक शक्ति हो। उसले लेखनमार्फत विचार, भावनाहरू र समाजमा परिवर्तन ल्याउने क्षमता राख्छ। तर, यो शक्ति स्वतः प्राप्त हुँदैनस यसको लागि संघर्ष गर्नुपर्छ। लेखकले आफ्नो अस्तित्व र प्रभाव स्थापित गर्न आफ्नै मेहनत, धैर्यता र लगनशीलता देखाउनुपर्छ।
लेखकको विचार र अभिव्यक्ति नै उसको असली सत्ता हो। जब कुनै लेखक आफ्ना विचारहरू मजबुत रूपमा स्थापित गर्न सफल हुन्छ, तब उसले समाजमा आफ्नो प्रभाव पार्न सक्छ। समाजले उसलाई सुन्न थाल्छ, उसका विचारहरू छलफलको विषय बन्छन्, र विस्तारै लेखकीय सत्ता स्थापनाको प्रक्रिया अघि बढ्छ।
तर, यो यात्रा सजिलो हुँदैन। लेखकले अनेकौं चुनौतीहरू सामना गर्नुपर्छ। उसको विचारहरू स्वीकार नहुन सक्छन्, आलोचना आउन सक्छ, तर यही संघर्षले उसलाई अझ मजबुत बनाउँछ। इतिहासमा हेर्दा, महान लेखकहरू सधैं संघर्ष गरेरै आफ्नो पहिचान बनाएका छन्।
सशक्त लेखनका लागि पठन संस्कृति अनिवार्य छ। कुनै पनि लेखकले राम्रो लेख्नका लागि निरन्तर अध्ययन गर्नुपर्छ। विविध विधा, विचारधारा र ऐतिहासिक दृष्टिकोणहरू पढेर मात्र नयाँ र मौलिक विचारहरू जन्मिन सक्छन्। पठनले लेखनलाई अझ गहिरो बनाउँछ, नयाँ दृष्टिकोण दिन्छ । अध्ययन बिना उत्कृष्ट लेखन असम्भव छ।
त्यसैले, यदि कसैले लेखकको रूपमा आफ्नो सत्ता स्थापना गर्न चाहन्छ भने उसले धैर्य, परिश्रम, अध्ययन र सत्यको मार्ग समात्नुपर्छ। लेखन केवल शब्दको खेल होइन, यो एक विचारधारा हो, जसले समाजलाई नयाँ दिशा दिन सकोस् १त्यसैले लेखकले आफ्ना विचारहरूलाई शक्तिशाली बनाएर लेखकीय सत्ता निर्माण गर्नुपर्छ जो जीवन र समाज परिवर्तनका लागि उपयोगी रहोस् !
(लेखक नेपाली लेखक संघ राष्ट्रिय अधिवेशन प्रतिनिधि हुन् ।)
प्रतिक्रिया