बन्दाले मूल्य पाएन, बारीमै काटेर फाल्दै किसान !

बन्दाले मूल्य पाएन, बारीमै काटेर फाल्दै किसान !


  • विकास रौनियार, धादिङ

फसल लगाउँदा आफूले लगाएको तरकारी उपभोक्ताको भान्सा-भान्सामा पुगोस् र उचित मूल्यमा विकोस् भन्ने हरेक कृषकको चाहना हुन्छ । जब खेतबारीभरि तरकारी फल्छ, बोटमै कुहाउनुपर्ला र काटेर फाल्नुपर्ला भनेर कुनै किसानले चिताएका हुँदैनन् । तर संघीय राजधानीसँग जोडिएकै जिल्ला धादिङका किसानले आफूले लगाएको बन्दा उचित मूल्य नपाएपछि बारीमै काटेर फाल्न बाध्य भएका छन् ।

बारीमै बन्दा काटेर फाल्दै गरेको यो पीडादायी दृश्य पृथ्वीराजमार्गसंगै जोडिएको धादिङको गजुरीस्थित त्रिशुली किनारको हो । उपभोक्ताको चुल्होमा पुगेर मिठा–मिठा परिकार बन्नुपर्ने बन्दाकोभी काटेर फालिएको अवस्थामा त्रिशुली नदीकिनारमा चाङ का चाङ देख्दा जो–कोहीको मन कटक्क दुख्नु स्वभाविकै हो । तर आफूले सन्तानलाई झैँ माया गरेर निकै मेहनतपूर्वक हुर्काइ तयार पारेका बन्दा बिक्रीका लागि बजार लैजाने बेला उचित मूल्य नपाएपछि किसानहरु बारीमै काटेर फाल्न बाध्य भए । बन्दा लगाउँदा लागेको लगानीसमेत खेर गएको छ ।

स्थानीय व्यापारीलाई दुई/चार पैसामै बन्दा लैजान आग्रह गर्दा पनि भाउ छैन भन्दै नलगेपछि काटेर फाल्न बाध्य भएको किसानको दुखेसो छ । सरकारले जिम्मा लिएर उचित मूल्यमा बेचिदिएमा आफूहरुलाई राहत मिल्ने किसानको भनाइ छ । ऋणधन गरेर लगाएको खेती काटेर फाल्दा परिवारमा समेत तनाव थपिएको भन्दै किसान दुःख पोख्न विवश छन् ।

बन्दा तीन रुपैयाँ किलोमा पनि नबिकेपछि काटेर फालेर चैते धान रोप्ने तयारीमा किसान छन् । गर्त वर्ष भने राम्रो बिकेर प्रतिकिसान दुई लाखसम्म आम्दानी गरेका किसानले यसपटक पाँच देखि सात हजारसम्म मुस्किलले हात पारेका छन् । लगानी नै ७० हजार रुपैयाँसम्म लगाएर बन्दाखेती गरेकोमा सबै लगानी खेर गएको छ ।

संघीय राजधानी काठमाडौंमा बिक्ने ३३ प्रतिशत हाराहारी तरकारी धादिङबाट जाने गरेको छ । यहाँ किसानले दुःख गरेर लगाएको बालीले मूल्य नपाएर फाल्नुपर्ने अवस्थामा भारतबाट भने ३५ अर्ब रुपैयाँको हरियो तरकारीमात्रै आयात भएको छ ।

कृषकहरुले आफ्ना उत्पादनको मूल्य नपाउँदा कृषि पेशाबाट पलायन भएर वैदेशिक रोजगारीमा जान बाध्य छन् । यसतर्फ तीन तहकै सरकारको ध्यान जानु आवश्यक छ ।