दुई अँञ्जुली बह !

दुई अँञ्जुली बह !


यो लेखमा पोखिएको मेरो विचारसित पाठकवृन्द सहमत हुनुपर्छ भन्ने अनिवार्यता छैन । आफ्आफ्नो सोच : आफ्आफ्नो विचार । देश खोक्रो । नेताहरू इलिट पल्टेका । काण्डै काण्डहरूको गुजुल्टो । भ्रष्टाचारै भ्रष्टाचार । बेथिति बेथिति, रन्थमोलै रन्थमोल । गलगेटा हनुमन्ते नेताको तलुवा चाट्दो : स्वदेश डुबाउँदो । प्रदेश/बृहत् मन्त्रिमण्डल जनताको ढाड सेक्दो । प्रतापसिंह शाहको पालादेखि विदेशी हस्तक्षेप जारी ।

आधाआधी जनसंख्या मुलुकबाहिर । टैक्समाथि टैक्स । मियोबिनाको दाइँ । राष्ट्रिय स्वाधीनता धरापमा । जनतालाई पेलेको पेल्यै । राब्सपेरेली शासन । असम्भव/निर्विकल्प भन्ने शब्दावली व्यवहारमा हुन्न । आँच आएसि प्रतिगमन/प्रतिगामी पदावलीको भरमार दुष्प्रयोग । आफू संस्थापन प्रतिपक्षी इतर । गल्ती आफू गर्ने, दोष अर्कोलाई थोपर्ने । नैतिकताको आधारमा राजिनामा नदिने : पदमा लिसो झैं टाँसिरहने । छयालीसपछि जन्मेका युवालाई काङ्ग्रेस/कमिस्टको इतिहास के थाहा ? जुन व्यवस्थाले उसको आवश्यकता पुरा गर्छ : उसले त्यसैको समर्थन गर्छ । एउटै दललाई आदर्श मान्ने अवस्था रहेन ।

भाइले भतिजो मार्फत दाइसित रिसइबी साँध्छ भने भोलिको दिनमा भतिजोले काकालाई बाँकी नराख्न सक्छ । सीमा उलङ्घन भएसि जे पनि हुन्छ । जस्तो गुरू उस्तो चेला । २०४६-२०६२∕०६३ को आन्दोलनमा रेलिङ भाँच्ने, आगजनी गर्ने, टायर बाल्ने इत्यादि कामहरू भए : पछिकाले यही कार्यकलाप दोहोऱ्याए । अनि अहिले यस्तो गऱ्यो उस्तो गऱ्यो भनेर विषबमन गर्ने हो र ? भावी परिणाम नकारात्मक नहोस् भनेर पहिले सोच्नुपर्थ्यो । अब रोइलो गरेर के हुन्छ र ? जुलुस/सभा उत्पादक हुनुपर्नेमा अनुत्पादक भएसि यसको पछि किन लाग्ने ? चम्चाहरूले बुझपचाए नि जनताले बुझपचाउनु भएन । नेताहरू आफ्नो सात पुस्तालाई सम्पत्ति थुपार्ने : गणतन्त्रलाई गाँडतन्त्र तुल्याउने । अनि अप्ठेरो परेसि प्रतिगमन भन्दै सर्वदल थुप्रिएर रुवावासी गर्ने हो र ? कसले नबुझेको छ र नेताको चाल ?

२०१५ सालको संसदीय प्रजातन्त्र असफल भएको कारण बल्ल बुझियो । लुटतन्त्रले प्रजातन्त्र विस्थापन गरेसि संसदीय प्रजातन्त्र कसरी राम्रो व्यवस्था कहलिन्छ र ? अहिलेको गणतन्त्र ‘अघि राँड जानिन पछि राँड मानिन’ । बाघ लाग्यो घिच्याउन राँड लागी चिच्याउन भन्या जस्तो भाको छ । संसदीय प्रजातन्त्र/गणतन्त्र सफल हुन त दुरदर्शी राजनेता अपरिहार्य हुन्छ जसले निष्पक्ष ढंगले न्यायमूलक, समतामूलक र समानतामूलक समाजको निर्माण गर्दो : सुशासन कायम राख्दो ।

नेताहरू विदेशपरस्त हुनाले कोशी, गण्डकी र महाकाली जस्ता सन्धिहरूमार्फत नेपाल माताको हात बाँधिदो । यिनीहरूले स्वार्थ बाझ्दा अर्कोलाई नङ्ग्याउने : स्वार्थ मिल्दा भाग शान्ति जय नेपाल । कसैले भन्थ्यो, ‘फरक दल फरक झण्डा : देश लुट्ने एउटै धन्दा ।’ अब नेपाल∕नेपालीको हितार्थ विदेशीवाद त्यागेर स्वदेशीवाद लागु गर्नुपर्ने ।

नातासम्बन्ध भन्या स्वीटरको ऊनी धागो जस्तो हो जुन खोलेसि स्वीटर रहन्न । मान्छे अपूर्ण हुन्छ भन्दैमा दुर्जनसित संगत गर्नु भएन नि । देब्रे हातले नमस्ते गर्ने लबस्तराहरूको कमी छैन हाम्रो समाजमा । दुई हाते प्रणाम वा बुद्ध नमस्कार गरे भैहाल्छ नि । नमस्कार इच्छाधीन हो : करकापले नमस्कार गर्ने होइन ।

कसैको मानभाऊ छैन : अपशब्दयुक्त गालीको बर्षा । आफू सभ्य ढंगले प्रस्तुत भए भैहाल्यो नि । बित्थामा किन असभ्यता दर्शाउनुपरो र ? सभ्य नेपाल सभ्य नेपाली आजको अनिवार्यता ।

गोरालाई प्रभु ठान्ने मनोवृत्ति त्यागे कल्याण हुन्छ । राम्रो कुरो त विदेशीको भए नि ग्रहण गर्नुपर्छ किन्तु हाम्ले खराब कुराहरू लियौं । ‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भनिन्थ्यो : मनमुटाव सल्टिन्थ्यो । अहिले त पतिपत्नी बिच असमझदारी हुने बित्तिकै पारपाचुके । हाम्रोमा त जन्मदिन मनाउँदा दियो बालेर अष्ट चिरञ्जीवीको पूजा गरिन्छ परन्तु विदेशी संस्कारमा मैनबत्ती निभाइन्छ । वृद्धाश्रमको बढोत्तरी : पुत्रपुत्री कर्तव्यहीन । विदेशीको चालचलन, रीतिरिवाज, संस्कृति आदि अँगाल्नुको सट्टा आफ्नो अपूर्वी संस्कार∕संस्कृतिको जगेर्ना गर्नुमा बुद्धिमानी/अत्युत्तम हुँदो !

नयाँ छिमेकी अल्प विद्या भयकंरी । फोकटमा रिस गर्दो । बैगुनीलाई गुन गर्नु उचित छैन । आफू पढ्दैन, अर्काको डाढो गर्दो । आफ्नो स्वत्व त्यागेर जाँडरक्सी धोक्ने बाहुन टीठलाग्दो !

जापानमा घटेको घटना । चोरले एउटा घरमा पसेर चोर्न थालेसि घरमालिकले राष्ट्रगानको चक्का बजाएछ । राष्ट्रगान सुनेसि चोर चुपचाप ठिङ्ग उभिएछ । त्यति नै बेला घरमालिकले चोरलाई बाँधेर अड्डा पुऱ्याएछ । न्यायाधीशले घरमालिकलाई घटनाबारे सोध्दा नढाँटिकन यथार्थ बताएछ । घरमालिकले राष्ट्रगानको अवहेलना गरेकोले उसलाई कारागार पठाउने र चोरले राष्ट्रगानको सम्मान गरेकोले उसलाई सजायमुक्त गर्ने फैसला भएछ । तसर्थ, राष्ट्रभक्त नागरिकले राष्ट्रगानको अपमान होइन : सम्मान गर्ने हो । ‘मनको बह कसैलाई नकह’ भने नि नागरिकको हैसियतले देशको बह कहन मन लाग्छ । नभनेर के गर्ने र ? बाउसे सकियो । आजलाई मैजारो । अस्तु ।