‘वैदेशिक रोजगारबाट सिप र थोरै पुँजी लिएर फर्केकाहरु मुलुकको सम्पति’ : श्रममन्त्री

‘वैदेशिक रोजगारबाट सिप र थोरै पुँजी लिएर फर्केकाहरु मुलुकको सम्पति’ : श्रममन्त्री


श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विश्व श्रम बजारका लागि दक्ष तालिमप्राप्त जनशक्ति अपरिहार्य भएको बताएका छन् ।

एसोसिएसन फर ओभरसिज टेक्निकल कोअपरेशन एण्ड सस्टेनेबल पार्टनरसिप (एओटीएस) जापानको नेपाल एलुम्नाइ सोसाइटीको आयोजनामा शुक्रबार (२२ चैत) ललितपुरमा आयोजित दक्षिण एशियाली एसोसिएसन फर ओभरसिज टेक्निकल कोअपरेशन एण्ड सस्टेनेबल पार्टनरसिप महासंघको १४औँ अधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै मन्त्री भन्डारीले यस्तो बताएका हुन् ।

विश्व बजारमा दक्ष जनशक्तिको खाँचो रहेको जिकिर गर्दै उनले त्यसका लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारका तालिम केन्द्रहरु सन्चालन गर्नुपर्नेमा जोड दिए । अगामी वर्ष दक्षशक्ति निर्माणका लागि नेपाल सरकारले विशेष पहल गरिरहेको र त्यसको लागि वैदेशिक रोजगारबाट सिकेको अनुभवहरु महत्त्वपूर्ण हुने धारणा उनले राखे ।

मन्त्री भण्डारीले भने, ‘तपाईंहरु जापान गएर सिक्नु भएको सीप र अनुभव नेपाली कामदारका लागि सिकाइ कोशेढुङ्गा सावित हुनेछ । हामी तपाईंहरुसँग सहकार्य गरेर दक्ष जनशक्ति बनाउन हातेमालो गर्न तयार छौं ।’

वैदेशिक रोजगारबाट सिप र थोरै पुँजी लिएर फर्केकाहरु मुलुकको सम्पति भएको पनि उनले बताए ।