जेलेन्स्कीको गृहनगरमा रुसी हमला, १८ जनाको मृत्यु

जेलेन्स्कीको गृहनगरमा रुसी हमला, १८ जनाको मृत्यु


युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीको गृहनगर क्रिभी रिगमा रुसी ब्यालिस्टिक क्षेप्यास्त्र हमलामा भएको छ । हमलाबाट नौ बालबालिकासहित १८ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।

हमलाको रातभरि आपत्कालीन कार्य सम्पन्न भएपछि दिनप्रोपेट्रोभ्स्कका क्षेत्रीय गभर्नर सर्गिय लिसाकले ६१ जना घाइते भएको बताएका एएफपीले जनाउको छ ।

क्रिभी रिगको सैन्य प्रशासनका प्रमुख ओलेक्सान्द्र भिल्कुलका अनुसार शुक्रबार बालबालिकाको खेल मैदाननजिकै आवासीय क्षेत्रमा मिसाइल आक्रमण भएको थियो । सामाजिक सञ्जालमा अप्रमाणित भिडियोहरूमा सडकमा शवहरू रहेको देखाइएको छ भने अर्को भिडियोमा साँझको आकाशमा धुवाँको मुस्लो उठेको देखाइएको छ ।

घटनास्थलको सामाजिक सञ्जालको भिडियोमा एउटा कार जलिरहेको देखाइएको छ भने मानिसहरू चिच्याइरहेका सुन्न सकिन्छ ।

क्षेत्रीय गभर्नर लिसाकका अनुसार शुक्रबारको आक्रमणमा १२ बालबालिका घाइते भएका छन् । “यो यस्तो प्रकारको पीडा हो जुन तपाईंले आफ्नो सबैभन्दा खराब शत्रुमा पनि चाहनुहुन्न”, उनको अभिव्यक्ति छ ।

रूसी रक्षा मन्त्रालयले शहरमा ‘एउटा रेस्टुरेन्टमा उच्च विस्फोटक मिसाइलले सटीक आक्रमण गरेको थियो’ भन्दै त्यहाँ ‘तालिमका कमान्डरहरू र पश्चिमी प्रशिक्षकहरूको बैठक हुँदै थियो’ भनेको छ । रुसी एयर डिफेन्स युनिटले रातिभर ४९ वटा युक्रेनी ड्रोनलाई रोकेको र नष्ट गरेको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि तीन वर्षभन्दा बढी समयदेखि चलिरहेको युद्धको चाँडो अन्त्यका लागि दबाब दिँदै आएका छन् तर दुवै पक्षसँग वार्ता गरे पनि ट्रम्प प्रशासनले युद्धविराम गराउन सकेको छैन ।

शहरमा भएको मिसाइल आक्रमणले रूसलाई सन् २०२२ फेब्रुअरीमा सुरु गरिएको पूर्ण स्तरको आक्रमण रोक्ने कुनै चासो नभएको देखाएको जेलेन्स्कीले जनाएका छन् । ‘यो जारी रहनुको एउटै कारण छ– रूस युद्धविराम चाहँदैन र हामी देख्छौँ, सारा संसारले देख्छ’, उनले भनेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मार्चमा बिनाशर्त र पूर्ण युद्धविरामका लागि संयुक्त राज्य अमेरिकी–युक्रेनी प्रस्तावलाई अस्वीकार गरेका थिए ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले शुक्रबार आक्रमणलाई लिएर ट्रम्प रुससँग ‘अन्तहीन वार्ताको जालमा पर्न नसक्ने’ अभिव्यक्ति दिएका छन् । ‘रुस शान्तिका लागि गम्भीर छ कि छैन भन्ने कुरा केही हप्तामा, महिनाहरूमा होइन, हामी चाँडै थाहा पाउनेछौँ’, उनले भनेका छन् ।

युक्रेनको केन्द्रीय दिनप्रोपेट्रोभ्स्क क्षेत्रमा रहेको क्रिभी रिग अग्रपङ्क्तिबाट लगभग ६० किलोमिटर टाढा छ र नियमित रूपमा रूसी ड्रोन र मिसाइलहरूको लक्ष्य बन्दै आएको छ । जेलेन्स्कीको जन्म यही औद्योगिक शहरमा भएको थियो । यहाँको युद्धपूर्वको जनसङ्ख्या करिब ६ लाख थियो ।